• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

प्रधानमन्त्री दाहाल खप्तडमा



खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुग्नुभएको छ । उहाँ सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुग्नुभएको हो ।

सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल यहाँ आउनु भएको हो । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ ।

प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पराराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि यहाँ आइपुग्नुभएको छ । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड आइसक्नुभएको छ ।

खप्तड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत आजै हेलिकप्टरमा खप्तड आउनुभएको छ । सम्मेलनको पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिनुभयो ।

सम्मेलनमा सुदूरपश्चिमका लोकप्रिय सांस्कृतिक झाँकी भुँवा, हुडक्यौली, गौरा, देउडा, पुतला नाचलगायतका प्रस्तुत गरिने छ । सम्मेलन यही जेठ २५ गतेसम्म सञ्चालन हुने छ । उक्त सम्मेलनमा पूव प्रधानमन्त्री, मन्त्री, संघीय सांसदलगायत अन्तर्राष्ट्रिय तहका आध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्ति सहभागी हुने खप्तड क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताउनुभयो ।

सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, पर्यटन बोर्ड तथा स्थानीय तहको सहकार्यमा आयोजना गरिएको हो । खप्तड समुद्री सतहबाट झण्डै तीन हजार एक सय मिटरको उचाइमा रहेको छ । खप्तड राष्ट्रिय निकुञ्ज पनि रहेको यो क्षेत्र झण्डै दुई सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । रासस