५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लम्पी स्किन’का कारण एक हजारभन्दा बढी पशु मरे



file photo
अ+ अ-

झापा । कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ ।

कार्यालयका पशु चिकित्सक घटराज कट्टेलले लम्पी स्किन रोगको सङ्क्रमणबाट कोशी प्रदेशमा एक हजार एक सय ३२ वटा पुश मरेका र ८५ हजार सात सय ८४ वटामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँले ताप्लेजुङ र सोलुखम्बू बाहेकका जिल्लामा यो रोगको महामारी फैलिएको बताउनुभयो । उहाँले यस रोगको सङ्क्रमणबाट सबैभन्दा बढी इलाम जिल्लामा गाईगोरु मरेको जानकारी दिनुभयो । उहाँका अनुसार इलामका दश वटा पालिकामा चार सय ३५, झापाका १५ वटा पालिकामा एक सय २०, पाँचथरमा १७, मोरङमा एक सय ८२, उदयपुरमा एक सय २०, खोटाङमा तीन, ओखलढुङ्गामा पाँच गाईगोरु मरेका छन् ।

यसैगरी, धनकुटामा ७४, तेह्रथुममा ३९, सङ्खुवासभामा ३७, भोजपुरमा १७ र सुनसरीमा ९३ वटा गाईगोरु, राँगाभैँसी मरेका उहाँको भनाइ छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार नभएको उहाँको भनाइ छ ।

रोगी पशुको र्‍याल, शरीरबाट निस्कने तरलपदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाटसमेत रोग सङ्क्रमण हुने पशु चिकित्सक कट्टेलले बताउनुभयो । उहाँले प्रदेशका १४ जिल्ला हेर्ने गरी स्थापना गरिएका आठ वटा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिकासँगको समन्वयमा निर्देशनालयले आकस्मिक रोग नियन्त्रण कोषबाट सचेतनामूलक कार्यक्रमका साथै औषधि किसानलाई वितरण गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बढी सङ्क्रमण फैलिएका जिल्लाका तथा पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई बोलाएर गाउँगाउँ, बस्ती बस्तीमा सेवालाई प्रभावकारी बनाउन छलफल गर्ने र औषधि पठाउने काम गरिरहेका छौँ ।” उहाँले लम्पी स्किन देशका सातवटा प्रदेशको तुलनामा कोशीमा बढी प्रकोपको रुपमा फैलिएको जानकारी दिनुभयो ।

“आगामी बजेटमा यस रोगको भ्याक्सिन खरिदका लागि बजेट छुट्याउने बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “आकस्मिक कोषको भन्दा बजेट नै छुट्याएर काम गर्न सके रोग नियन्त्रण गर्न सकिन्छ ।”

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउने बाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षित रुपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरिरहेको उहाँले बताउनुभयो । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखापर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’बाट सङ्क्रमित पशु अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा दश वर्ष अघि भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक कट्टेलले बताउनुभयो । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।रासस