• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो

गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु



फाईल फोटो

तम्घास । आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।

चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवं आव २०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । आगलागीबाट तीन वर्षमा रु तीन करोड ६० लाख ३८ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।

जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ । जिल्लामा यो आवमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन् । वैशाख महिनामा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका छन् । गत वर्ष चार र आव २०७६/७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन् । यो आवको चैतसम्म १० जना, गत वर्ष सात र आव २०७६/७७ मा तीन जना घाइते भएका छन् । आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्याङ्क समावेश गरिएको छैन । जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताउनुभयो । सुक्खा मौसम र हावाहुरी एवं लाहापरवाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ ।