९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म किन हिन्दू हूँ ?



अ+ अ-

हिमालमा तातेताते गरेर, हिउँमा खेलेर, हिमालयको पानी पिएर, हिमपहिरोसँग दौडिएर, हिउँका बर्षालाई शिरमा बोकेर हुर्केको हुनाले म हिन्दू हूँ ।

हिन्दमहासागर मेरो आँगनमा नाच्छ, हिन्दकुस पर्वत मेरो करेसामा उभिन्छ, हिउँ मेरो पिँढीमा पग्लन्छ, हिमपर्वतहरू मेरो घरको गारो बन्छन्, सगरमाथा छानो हुन्छ अनि ममा हिन्दूको सुगन्ध आउँछ । गाईको सन्तानलाई बाच्छा–बाच्छी, हात्तीको बच्चालाई छावा, बाघको बच्चालाई डमरु, भनेझैँ हिन्दूको नाति, हिन्दूको छोरा, हिन्दूको सन्तानलाई हिन्दू भनिन्छ । जसरी बघिनीले श्याल र वानरले परेवालाई जन्माउन सक्दैनन्, त्यसरी नै हिन्दूका पुर्खाले अरूलाई पैदा गर्दैनन् ।

तुलसी र पीपल हिन्दू, कोशीदेखि कालीसम्म हिन्दू, रामेश्वरदेखि मानसरोवरसम्म हिन्दू, यहाँको माटो र प्रकृति हिन्दू, आकाश र आवाज हिन्दू, गाई र दाइ हिन्दू, दुबो र दबाई हिन्दू, शरीर र श्वास हिन्दू । यसकारण आपूmलाई आत्मा हूँ भन्नुभन्दा पहिले म हिन्दू हूँ भन्ने मेरो उत्तर, मलाई ठीक लाग्छ । म हिन्दू भइन भने आत्मा, जीवात्मा र परमात्माको बारेमा वर्णन गर्ने वेद, मुन्धुम, त्रिपिटक मेरा कसरी हुन सक्छन् ? हाम्रा पुर्खा अमिबाको सन्तान होइनन् । हामी त “ईश्वरपुत्राः आर्याः” अर्थात् ईश्वरका सन्तान आर्य हौँ । संसारका प्राणीमा श्रेष्ठ ऋषि, जेष्ठ शास्त्र वेद, पवित्र भूमि नेपाल मेरै हो ।

पश्चिमाको विज्ञानले रहस्य पत्ता लगाउँछ, मेरो ज्ञानले रहस्यको रहस्यलाई जन्माउँछ, विज्ञानको जरालाई मल दिन्छन्, अनुसन्धानको काण्डलाई मजबुत बनाउँछ, पातलाई पोषण दिन्छ । सबै भाषाको जननी संस्कृतसँग मेरा पुर्खाको ध्वनिले मित लगाएको छ । यो लोक र परलोकको बारेमा वर्णन गरिएका पुराण, सतमार्गमा हिँड्न सिकाउने उपनिषद्हरू, आँखा खोल्न लगाउने त्रिपिटक, मनन गर्न उक्साइरहने मुन्धुम मेरै हुन् ।

वाक्य, शब्द र अक्षरको संयोजनलाई हाम्रो व्याकरणले शुद्ध र ऊर्जाशील बनाइराखेका छन् । कौटिल्यको अर्थशास्त्र देखेपछि लघु अर्थशास्त्रहरू टाँगामुनि पुच्छर हाल्छन् । मेरो ज्योतिषशात्रको अगाडि संसारका कुन अन्तरिक्षविद् र खगोलविद् नतमस्तक भएका छैनन् ? हाम्रो विज्ञानले दक्षप्रजापतिको टाउकोमा बोकाको टाउको, गणेशको टाउकोमा हात्तीको शिर जोडन सफल भएको छ ।

अश्विनीकुमारहरूले सिकेको अ∙प्रत्यारोपण विद्यासँग नाप्न मिल्ने आजसम्म कुन डाक्टरी विद्याको उचाइ छ ? चरकसंहिता र सुश्रुत ग्रन्थसँग तौलन मिल्ने कुन पुस्तकले जन्म लिएको छ ? रामायण र महाभारतलाई कुन महाकाव्यले चुनौती दिन सक्छ ? वेदको मन्त्र कुन पाश्चात्य विद्वान्को मस्तिष्कले सोच्न भ्याएको छ ? कुबेरकोजस्तो जहाज यो आकाशले अहिलेसम्म कहाँ देख्न पाएको छ ? अस्त्र, शस्त्र र शास्त्रको यो गौरव, यो उचाई बोकेको मेरो धर्म, मेरो इतिहासलाई सधैँ दुई हात र दश औँला जोडेर नमस्कार गर्ने, जोसुकै हिन्दू होइन र ?

संसारलाई निहाल्ने उच्च शिर भएको सगरमाथाले हिन्दूराष्ट्र नेपालाई वासस्थान बनाएकाले यहाँ बस्न पर्वतराजहरू लोभिए । कागभुशुण्डीले तिलिचो ताललाई, मनुले मनास्लुलाई, पार्वती र महादेवले गौरीशंकरलाई, गणेशले गणेशहिमाललाई तपस्या स्थल बनाए । गौतमबुद्ध लुम्बिनीमा जन्मने बित्तिकै सात पाइला हिँडे, रामले यही भूमिलाई ससुराली बनाए, जनकले अष्टावक्र र याज्ञवल्क्यलाई मिथिलामा बोलाए । “सर्वजनहिताय सर्वजनसुखाय” को मूल मन्त्र हाम्रो हो । हिन्दूशास्त्रले रत्नाकरलाई वाल्मीकि बनाएर रामायण लेखायो । कालिदासजस्ता महामूर्खलाई संस्कृतसाहित्यको महाकवि बनायो । “अयोग्यः पुरुषो नास्ति,योजकस्तत्रदुर्लभः” अर्थात्, संसारमा काम नलाग्ने पदार्थ छँदै छैन त्यसलाई उपयुक्त बनाउन योग्य मानिसको आवश्यकता पर्दछ । विदेशीको पैसा र प्रपन्चमा रमाउनेहरू आफ्नो स्वरूप थाहा पाएपछि “हरे राम हरे कृष्ण”को पावन संकीर्तन गर्दै मूल प्रवाहमा फर्कने छन् । विदेशीहरूले भक्ति वेदान्त प्रभूलाई बेल्जियममा राधा–कृष्ण गाउँ बनाउन सहयोग । विवेकानन्द, महर्षि योगी आदिले वैदिक ज्ञान, विज्ञानलाई पश्चिमी मुलुकमा बढाउने काम गरे ।

आड्म्बरमा उभिएका, डलरमा फैलिएका, अवसरमा लुटपुटिएकाहरुले जरा नभएका धर्म, पात नभएका सम्प्रदायमा उभिएर वैदिक धर्मको पात चुड्न खोजेका छन् । हामी सदावहार भएर बढ्ने छौँ, फल्ने छौँ । के बनमासाले ढाकेर म नै पहाड हुँ, भन्दैमा पवर्तले डराउनुपर्छ र ? मेरो कञ्चन्जङ्घा होस् वा गौरीशंकर, नीलगिरि होस् वा धौलागिरी जहाँबाट पनि हिन्दूकै सुगन्ध आउँछ । कोशी र गण्डकीमा एकताको धुन गुञ्जन्छ । पशुपति र स्वयम्भूनाथको रजकणमा सहिष्णुता मौलाउँछ ।

सोह्रौ शताब्दीमा गोरखामा खानहरूको बस्ती बसाल्ने, न्यायका प्रतिमूर्ति राम शाहलाई खान्चोकबासी कुन मुसलमानले मान्दैन ? तैल∙स्वामी, शिवपुरीबाबा, कुत्ताबाबा, हेडाखानबाबालाई कुन क्रिश्चियनले प्रणाम गरेन ? कवीर साहेवलाई कुन मुसलमानले नमस्कार गरेन ? बुद्धको अहिंसालाई कुन धर्मले अनुमोदन गरेनन् ? हिन्दूधर्मले सिञ्चेका महामना, शास्त्रहरूका गरिमाले टुसाएका नेपाली हुनाले म जीव हूँ, भुत्ला होइन, मेरो धर्म समुद्र हो खहरे होइन, म गोरखाली हूँ, त्योभन्दा बढी नेपाली हूँ, अझ गर्व गरेर भन्नु पर्दा म हिन्दू हूँ ।

सानालाई आदर, ठूलाप्रति सत्कार, आफ्नो धरा र धर्मको पहरेदार बन्न सिकाउने मेरो संस्कृतिले विना आधार, विनाप्रमाण कुनै बाटो देखाएन, विना उद्देश्य कुनै कार्य गराएन । तक्षशिला, नालन्दा एवं विक्रमशिलामा शिक्षाको बाढी आउँदा संसारका अन्य दुई खुट्टेहरू तोतेबोली बोल्दै थिए, बामे सरेर उठ्ने तर्खर गर्दै थिए । पश्चिमाहरू न खान जान्दथे, न लाउन जान्दथे, न गाउन जान्दथे ।

धान, मकै, कोदो, जौ आदिलाई ढाकेर झारले म खाद्यान्न हूँ भनी कति समय ढाट्न सक्छ र ? समय आएपछि थाहा हुन्छ कुन झार हो ? कुन अन्न हो ? हिन्दूरूपी अन्नमा झार लागे पनि असल किसानले चिनिहाल्छ । बिऊ थोरै हुन्छ तर समय आएपछि उम्रन्छ, फैलन्छ र कृषकहरूलाई फल दिन्छ । मंसीर लागेपछि किसानहरू अन्नबाली लिन मेरोमा आउँछन् कि तिम्रोमा । यो मेरो धर्मको अहंता होइन स्वाभाविकता हो । उदाहरण हेर रामले जूठो बयर खाए, कृष्णले विदुरको घरमा साग खाए, राजा हरिश्चन्द्रले कति दुःख उठाए, भरतले आफ्नो जीवन आफ्नै लागि कहिल्यै प्रयोग गरेनन् ।

असत्यको पक्षमा लाग्न बाध्य भएका भीष्मपितामहले आफ्नो मृत्युको रहस्य खोली दिए । द्रोणाचार्यले बुझी–बुझी आफूलाई विर्सजन गराए यो गौरव कुन धर्ममा छ ? मेरो धर्ममा भगवान्ले अवतार लिनुभयो, ऋषिमुनि जन्मनुभयो, देवीहरु प्रकट हुनुभयो । अरूको धर्म र सम्प्रदायमा भगवान्ले आफ्नो पुत्र वा दूत पठाउनुभयो । जरामा उभिने, पितालाई मान्ने, कुललाई पुज्ने, मुललाई बुझ्ने भएकाले म हिन्दू हूँ ।

मेरो धर्ममा जातिवादको गन्ध कहाँ छ ? रामले जात सोधेर सीतासँग विहे गरेका थिए ? महादेव र पार्वती, विष्णु र लक्ष्मीको थर छैन । निशुम्भ, हिडम्बा, पुतना, रावणसहित महाभारत युद्धमा उपस्थित योद्धाहरूको थर छैन । हिरण्यकशिपु, मय, विश्वामित्र, वशिष्ट, बाल्मीकि र दुर्योधनको थर के थियो ? अपाला, गार्गी र मदालसा कुन थरका स्त्रीहरू थिए ? अर्जुन र कर्ण कुन थरका महारथीहरू थिए ? हे ऐजेरु हो , जातिवाद र छुवाछुतवादको श्रेणीमा राखेर हाम्रो धज्जी उडाउँदै गर्दा आफू उभिएको भूति नबिर्स । बिराले नीति लिँदैँ “हिन्दू मास्छु, नेपाल पस्छु, मोज गर्छु” भन्ने मृगतृष्णाले आफ्नै विनाश गर्छ ।

मीठो दूध आउने ठाउँमा बसेर तिमीहरू रगतै खान्छौँ । हात खुट्टा भाँचिदिएर भिक्षा दिन्छौ अनि समाजसेवाको प्रचार गर्छौ । वेदले जातको विभाजन कामका लागि गरेको हो, छुत र अछुत गराउन होइन । रङ भेद, लिङ्ग भेदको जरा तिमीहरूकहाँ छ । अन्तराष्ट्रमा आतङ्क फैलाउन धर्म, हतियारले तर्साउने विज्ञान, विकासको मुकुण्डोमा उपनिवेश लाद्ने नीति भएकाले तिनीहरु हिन्दू हुन सकेनौँ । हामी विश्वलाई घर ठान्छौँ, मानवलाई भाइ मान्छौँ, पशुपंक्षीलाई मित्र सम्झन्छौँ, विरुवालाई साथ राख्छौँ ।

प्रकृति र संस्कृतिलाई संरक्षण गर्छौँ । तिमीले बम बनाएर फड्काउँदा हामी मन्त्रद्वारा दुनियाँको रक्षाका लागि यज्ञ र प्रार्थना गर्छौ । शत्रुको भलो, विरोधीको कल्याण चाहनेलाई हिन्दू भनिन्छ । तिमीहरूलाई कवीरको दोहा संझेर क्षमा दिइरहेका छौँ–

निन्दक नियरे राखिए आँगन कुटी छवाय ।
विन पानी विन साबुन निर्मल करे धुवाय ।

अर्थात् “आफ्ना शत्रुहरू नजिकै राख, सक्छौँं भने आफ्नै घरको आँगनमा कुटी बनाएर राखिदेऊ किनभने शत्रुले तिमीमा भएको दोषलाई निःशुल्कमा बताएर विना पानी, विना साबुन सफा रहन सहयोग गर्दछ” । वैदिक धर्मले शत्रुको नाश होइन, शत्रुलाई आफ्नै श्वासको जस्तै माया गर्न सिकाएको छ । यसैको फाइदा उठाएर तिमीहरूले हाम्रो देशका सोझा–साझालाई धर्ममा तान्न पैसाले किन्छौँ, सेवाका नाममा धर्म बदल्छौँ, शिक्षाको आवरणमा धर्मको रूपान्तरण गर्छौं । हामी त धर्मलाई शान्तिको बगैँचामा सहिष्णुताको फूल फूलाएर समन्वयको वासना बाँड्छौँ । त्यसैले मेरो धर्म र संस्कृतिमा जन्मन विदेशीहरूले गौरव गरेका छन्, मेरो संस्कृतिमा रम्न उनीहरूलाई रहर छ, यदि यस्तो नहुँदो हो त प्रो. विलसनले किन यो श्लोकको रचना गर्ने थिए र ?
यावद् भारतदेशः स्याद् यावद्विन्ध्यहिमालयौ ।

यावद् गंगा च गोदा च तावद् स्थास्यति संस्कृतम् ।।
न जाने विद्यते किं तन्माधुर्यमत्र संस्कृते ।
सर्वदैव समुन्मत्ता येन वैदेशिका वयम् ।।

अर्थात्, “जबसम्म भारतभूमिलाई विन्ध्याचल र हिमालयले शोभायमान बनाई राख्छ, गंगा र गोदावरीले पवित्र तुल्याउँछ तबसम्म संस्कृतभाषाको यो सरलता, वास्तविकता, मिठास र माधुर्यपनको नशामा हामी विदेशीहरू फूलमा मौरी झुमेझै झुमी रहने छौँ ।” विदेशी विद्वानहरूले मुक्त कण्ठले प्रशंसा गरेको मेरो भाषासँग कुन भाषाले ठाडो नाक गरेर बोल्न सक्दछ ? यो अर्थपूर्ण र गरिमामय मेरो धर्मलाई माया गर्दै बाँच्ने म हिन्दूबाहेक अरू को हुन सक्छु र ?

आमाको बुबु चुसेर, काखमा सुतेर, पकाएको खाएर बामेसरेँ, टुकु–टुकु हिँड्दा सहारा पाएँ । अबोध अवस्थामा गुन्युमा दिसा गरेको छु, पिसाब फेरेको छु । उहाँले चपाएर खुवाएको स्वाद अद्यपि मेरो जीभ्रोमा छ, मेरी आमा कालक्रमले बूढी भइन्, चाउरी परिन्, सजिन जान्दिनन् तर पनि मलाई मेरै आमा प्रिय छिन्, पूजनीय छिन्, प्रातस्मरणीय छिन् । किन कि म उनीको पुत्र हूँ, छोरा होइन ।

छोरा गतिछाडा, धर्मछाडा हुन सक्छ, विकृतिमा रमाउन सक्छ, रगतमा होली खेल्न सक्छ, अवसर पाउँदा होलीवाइन पिउन सक्छ । पहिचान नभएको अपा∙ हुन् सक्छ । पुत्रले मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव भन्दछ । म अरूको आमालाई नमस्कार गर्छु, श्रद्धा र माया गर्दछु, तर खुट्टामा ढोग्न सक्दिनँ । धिक्कार ती छोराहरूलाई, जसले प्रलोभनमा परेर आफ्नी आमाको चरणोदक लिनुपर्नेमा, चुल्ठोमा समातेर घिसार्दै वृद्धाश्रममा राखी पराइकी आमाको खुट्टामा ढोग्छ, श्राद्ध गर्छ, आसौच बार्छ । हे छोरा हो – पुत्र बन, हिन्दू बन, किन कि हाम्रो रगतले, श्वासले र माटोले भनिरहेको छ, “उठ, जाग, जगाऊ” किन कि तिमीहरू हिन्दू हौ ।

तिमीहरूको इतिहास कहिल्यै सुतेको छैन । तिम्रा पुर्खाहरूलाई निद्रा र निन्दाले छोएन । त्यस्ता वंशजका उत्तराधिकारीहरू अब उठ र जुट किन कि हामी हिन्दू हौँ । हामीले आर्य संस्कृति जन्मायौँ, सनातन धर्मलाई अपनायौँ । गाई, भाइ र माईलाई साथमा लिएर वनस्पतिदेखि जनावरसम्मलाई प्रेम ग-यौँ । हामी ज्ञान लिन्छौँ, विज्ञानलाई प्रयोग गछौँ, अध्ययनमा हिड्छौँ, अनुसन्धानलाई गोड्छौँ । यसकारण गर्वसँग भनौँ हिन्दूको पनाति, हिन्दूका नाति, हिन्दूका छोरा म शतप्रतिशत हिन्दू हूँ । शुद्ध हिन्दू हुँ, आफ्नै हात खुट्टा र संस्कृति भएको हिन्दू हुँ ।