• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत



काठमाडौँ । सर्वोच्च शिखर सगरमाथाको २८ पटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा आरोहण सकेर आज काठमाडौँ फर्कनुभएको छ ।

लुक्लाबाट अपराह्न काठमाडौँ आइपुग्नुभएका कीर्तिमान आरोही शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन परिसरमा भव्य स्वागत गरिएको थियो । उहाँलाई पर्वतारोही, पर्यटन व्यवसायीलगायतले स्वागत गर्नुभएको हो ।

आरोहणबाट आफू खुसी र उत्साहित रहेको भन्दै यसले देशको साहसिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । सगरमाथामा कायम भएको विश्वकीर्तिमानले नेपालको पर्वतारोहण र साहसी पर्वतारोहीको हौसला प्रदान गर्नुका साथै विश्वभर सकारात्मक सन्देश गएको उहाँले बताउनुभयो ।

शेर्पाले यही जेठ ९ गते बिहान ९:२३ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै उहाँले २८औँ पटक सगरमाथाको सफल आरोहणको कीर्तिमान बनाउनुभएको हो । योसँगै उहाँले यसअघिको सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने आफ्नै कीर्तिमान तोड्नुभएको छ । यो वर्षको वसन्त ऋतुमा उहाँको यो दोस्रो पटकको आरोहण हो । यसअघि जारी सिजनमा जेठ ३ गते उहाँले २७औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो ।

कामीरिताले सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । खुम्बु पासाङ्ल्हामु गाउँपालिकाको थामेका ५३ वर्षीय कामीरिताले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनास्लु, एक पटक ल्होत्से, केटु आरोहण एक गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । यही याममा पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४५ आरोही समूहका चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।