• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार, आज बुझाउने तयारी



file photo
काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झण्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । पीडितहरुको उयजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएको कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभयो ।
यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टंक गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो । वैशाख १९ गते इन्द्रजीत राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
वैशाख २० गते पक्राउ पुजी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव (निलम्वित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो ।
त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ मा पक्राउ गरिएको थियो , पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ ।
परिसर स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापाका छोरा प्रतीक थापा, इन्द्रजीत राईका छोरा निरज राई प्रत्यक्षरुपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगी रहेको पाइएको छ ।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार पीडितहरुको संख्या झण्डै नौ सयको हाराहारीमा रहेको र संगठित गिरोहले एक अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको पाइएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।