१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी



फाईल फोटो
अ+ अ-

मुगु । मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका सङ्कलनकर्ताले मात्र वन प्रवेश अनुमति पाउने प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताउनुभयोे ।

यार्सागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा प्रवेश गर्न आउनेमध्ये जिल्लाभित्रका सङ्कलकलाई प्रतिव्यक्ति दुई हजार र बाहिरी जिल्लाका प्रतिव्यक्ति दुई हजार पाँच सयका दरले कर गाउँपालिकाले तोकेकोे छ ।

गाउँपालिका–१ र २ मा पर्ने वन तथा पाटन क्षेत्र रिमाड, ठूलो कुइकी, सानो कुइकी, च्यार्खुलेख, छापाखोला र टाँकेमा बढी यार्सागुम्बा पाइन्छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लाभरिका बासिन्दाका साथै छिमेकी जिल्ला जुम्ला, कालीकोट, बाजुरा, हुम्लाबाट पनि सयौँ मानिस आउने गरेका छन् ।

विगत दुई वर्षयता कोरानाले गर्दा कर्णालीवासीलगायत मुगालीको बर्सेनि खर्चको स्रोतका रूपमा रहेको यार्सागुम्बा सङ्कलन तथा बिक्री बन्द भएकाले स्थानीयवासीले आर्थिक समस्या झेल्दै आएका थिए । चीनसँग जोडिएको नाक्चेलाग्ना नाका नेपाल सरकारले पूर्णरुपमा खोल्न प्रयास नगर्दा सङ्कलक तथा व्यापारीले समयमै यार्साको उचित मूल्य पाउन सकिरहेका छैनन् । एक महिनासम्म यार्सा सङ्कलन गरे पनि सङ्कलक तथा व्यापारीले साउन महिनाको अन्तिम सातादेखि चीनबाट ह्याजिमारमा लाग्ने हाटबजार नखोल्दासम्म पर्खनुपर्ने बाध्यता छ ।

उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, छिनछिनमा परिरहने हिउँ र चिसोका कारण बर्सेनि पाटन क्षेत्रमा दर्जन बढीको मृत्यु हुने भएकाले यो वर्षदेखि गाँउपालिकाले कर तिरेर वनक्षेत्रमा प्रवेश गर्ने सङ्कलक दुर्घटनामा परे उपचार र मुत्यु भए परिवारलाई राहत पुगोस् भनेर यार्सा बीमा गरिदिएको छ भने पाटन क्षेत्रमा कुनै दुर्घटना भए समय मै उद्धार, आपराधिक समूहलाई नियन्त्रण गर्न विगत वर्षभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

यो याममा मुगुका गाउँगाउँबाट तन्नेरी उमेरदेखि ६० वर्षसम्मका सबै यार्सागुम्बा टिप्न पाटन क्षेत्रतिर जाँदा गाउँघरमा बालबालिका र ज्येष्ठ नागरिक मात्र देखिने गर्दछन् । पाटनमा पाइने यार्सागुम्बा तीन गुणस्तरका हुने भएकाले तिनलाई छुट्याउन एक, दुई र तीन नम्बरका भन्ने गरिन्छ । यो वर्ष पाटनमा एक नम्बरका लागि रू सात सय, दुई नम्बरका लागि रू चार सय र तीन नम्बरका लागि रु दुई सय मूल्य तोकिएको स्थानीय यार्सा व्यापारी र्छोतेन लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो मूल्य पाटनमा यार्सा सङ्कलकबाट खरिद गर्दा पर्ने मूल्य हो, यहाँबाट व्यापारीले काठमाडौँ, पोखरा, नेपालगञ्ज र दोस्रो देशतिर पुर्‍याउँदा कति मूल्यमा बिक्री गर्छन् त्यो आफूहरुलाई थाहा हुँदैन ।”

पाटनमा यार्सा सङ्कलन गर्न पुगेका सङ्कलकले सङ्कलन अवधि ९एक महिना०भित्र यार्सा सङ्कलनबाट न्यूनतम रु एक लाखदेखि पाँच लाखसम्म कमाउने गरेका छन् । रासस