• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ

भरतपुर अस्पताल : एक अर्ब १९ करोडभन्दा बढीको बीमामार्फत उपचार



भरतपुर । यहाँको सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा रु एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बीमामार्फत उपचार सेवा दिएको छ । जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।

अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बीमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा रु एक अर्ब १९ करोड ३७ लाख २६ हजार तीन सय ५८ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी रु पाँच करोड हाराहारी छ ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ निकासा भएको थियो । आर्थिक वर्ष २०७७र७८ मा रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ निकासा भएको थियो । आर्थिक वर्ष २०७६र७७ मा यो रकम रु २३ करोड ८८ लाख चार हजाार सात सय ५० थियो । आव ०७५र७६ मा रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ थियो भने पहिलो वर्ष २०७४र७५ मा रु एक करोड २८ लाख ९२ हजार दुई सय २० थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक रु सात लाखदेखि ११ लाखसम्मको दाबी हुने गर्दछ । बीमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्दछन् । एकै दिन एक हजार चार सयसम्म बीमाका बिरामी आएको तथ्याङ्क रहेको उहाँको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उहाँले जानकारी दिनुभयो । यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बीमामार्फत ७० हजार चार सय १९ जनाले एक लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालु आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा रु ३९ करोड १० लाख ७४ हजार चार सय ७१ बीमाबाट आम्दानी हुँदा नगदबाट रु १७ करोड ९८ लाख मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङ लगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताउनुभयो । दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उहाँले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताउनुभयो । बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उहाँको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताउनुहुन्छ । बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उहाँले क्रमशस् अस्पतालको मुख्य स्रोत बीमा बन्दै गएको बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बीमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताउनुभयो । अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बीमाको हुनु आफैँमा राम्रो भएको भन्दै उहाँले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बीमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।” अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बीमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उहाँको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बीमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ ।

अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उहाँले जानकारी दिनुभयो । पौडेलले भन्नुभयो, “बीमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।” अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमामा पाँचजना परिवारले रु तीन हजार पाँच सय तिरेर एक वर्षभर रु एक लाखसम्मको सेवा लिँदै आएको छन् ।  विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ । ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ । रासस