१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा आरजुलाई लगाइएको आरोपबारे पार्टीको ध्यानाकर्षण भएको छ: प्रवक्ता महत



file photo
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भुटानी शरणार्थी प्रकरणमा सो पार्टीकी नेत्री डा आरजु राणा देउवालाई जबर्जस्ती जोडिएकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताउनुभएको छ ।

आज काठमडौँमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “यो प्रकरणमा पार्टीकी नेत्री डा राणाले आफूले त्यसमा संलग्न नभएको र आफ्ना बारेमा बाहिर आएको भिडियोको पनि अनुसन्धान होस् भनेर प्रहरीलाई उजुरीसमेत गरेको अवस्थामा उहाँलाई जबर्जस्ती तान्ने काम भएको छ, यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रवक्ता डा महतले यो प्रकरणमा मिडिया र सामाजिक सञ्जालमा ट्रायल भइरहेको पनि गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “आरजु राणाको केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ । मिडिया ट्रायल गरेर दोषी नै हो भनेर भन्नु भएन । उहाँप्रति अन्याय भएको पार्टीले महसुस पनि गरेको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”

प्रवक्ता डा महतले बाहिर सार्वजनिक भएको अडियो झूटो हो भन्ने पार्टीको विश्वास रहेको पनि बताउनुभयो । “आरजु राणासँग कुराकानी भएको भनेर बजारमा आएको अडियो झुटो हो भन्ने हाम्रो विश्वास छ”, उहाँले भन्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा दूधको दूध पानीको पानी होस् भन्ने आफूहरूको भनाइ रहेको पनि बताउनुभयो । प्रवक्ता महतले यही प्रकरणका कारण सत्ता समीकरणमा कुनै फेरबदल नहुने पनि दाबी गर्नुभयो ।