१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन

वैदेशिक रोजगारी छाडेर स्वदेशमा बाख्रापालन
अ अ+ अ-

गण्डकी । रोजगारीका खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएका अवस्थामा अन्नपूर्ण गाउँपालिका वडा नं ६ म्याग्दीका नारायण बरुवाल भने यतिखेर वैदेशिक रोजगारी छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।

विगतमा वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने नविनतम शैलि र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो । उमेरले ३० वर्ष पुगेका बरुवाल पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन ।

यता घरमा परम्परागत खेती किसानी गर्दै आउनुभएका उहाँका बुवा धनबहादुर बरुवाल आधुनिक शैलीमा बाख्रापालन गर्न चाहानुहुन्थ्यो । उहाँको चाहनामा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआपी) सहयोगी बन्न पुग्यो । नेपालको पशुपालनको क्षेत्रको आधुनिकीकरण र सुदृढीकरण गर्न कृषि तथा पशुपक्षी मन्त्रालयले विश्व बैंकको सहयोगमा सञ्चालित उक्त आयोजनाअन्तर्गत उहाँको होलिडे कृषि तथा पशुपक्षी फर्ममा आधुनिक बाखा्रपालनका लागि विभिन्न पूर्वाधार विकासका काम भइसकेका छन् ।

आयोजनासँगको सम्झौताअनुसार उहाँले व्यवस्थित खोर निर्माण, उन्नत जातको (भुइँ र डाले घाँस) लगाउने, उन्नत नश्लको पाठपाठी उत्पादनका साथै व्यवस्थित बाख्रापलनका लागि पूर्वाधार तयार गर्ने काम गरिसक्नुभएको छ ।

लक्षित कामका लागि निर्धारित कुल रु ३८ लाख ७२ हजार तीन सय तीन लागतमध्ये आयोजनाबाट ५० प्रतिशत अनुदानवापत रु १९ लाख २८ हजार छ सय ५२, प्रभु बैंकको ऋण लगानी रु ११ लाख ७० हजार र स्वलगानी रु सात लाख ७३ हजार छ सय ५२ रहेको धनबहादुर बरुवालले जानकारी दिनुभयो ।

सम्झौताअनुसार अनुदानवापत पहिलो किस्ताको रकम प्राप्त भइसकेको र दोस्रो तथा अन्तिम किस्ताका लागि प्रक्रिया बढाइएको उहाँले बताउनुभयो । आफूले आधुनिक शैलीमा बाख्रापालन गर्न थालेसँगै विदेशमा बसेको छोरासमेत फर्केर सहयोग गर्न थालेपछि धनबहादुरको उत्साह अझै थपिएको छ । आधुनिक बाख्रापालनका लागि एनएलएसआइपीको अनुदान थप प्रेरक बनेको उहाँको भनाइ छ ।

“भौगोलिक अवस्थितिलगायतका कारण खोर निर्माण आदिमा सम्झौताभन्दा पनि बढी व्यक्तिरूपमा खर्च भइसकेको त छ नै तर यो लगानीका लागि एनएलएसआइपी नै मुख्य प्रेरणाको स्रोत हो”, उहाँले भन्नुभयो । खोरमा मात्रै रु २९ लाख खर्च भइसकेको र करिब रु १८÷१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उहाँले जानकारी दिनुभयो । बरुवाललाई छोरा नारायण, श्रीमती सोमित्राले नियमित सहयोग गर्दै आउनुभएको छ भने एक जनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।

बरुवालका खोरमा हाल सानो र ठूलो गरी एक सय २० बाख्रा छन् । वरपर जङ्गल भएका कारण चितुवाबाट बाख्रा जोगाउन एक सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ ।

सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । दैनिक न्यूनतम एक जनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उहाँले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताउनुभयो । नारायणका बुवा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यापार व्यवसायमा लाग्नुभयो । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उहाँले झण्डै १५÷१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाल्नुभयो । बाह्र–तेह्र वर्षअघिसम्म खच्चड पालेको र छ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उहाँको अनुभव छ ।

नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)बाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाका लक्षित क्रियाकलापहरू केन्द्रमा आयोजना व्यवस्थापन कार्यालय र क्लष्टर तहमा विराटनगर, हेटौँडा, बुटबल र पोखरामा अवस्थित चारवटा विकेन्द्रित आयोजना सहयोग एकाइमार्फत कार्यान्वयन भइरहेको र वंशावलीमा आधारित नश्ल सुधार कार्यक्रम राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामार्फत सञ्चालन भइरहेको छ ।

आयोजनाअन्तर्गत देशभरका विभिन्न जिल्लामा पाँच सय ५९ वटा उपआयोजना सञ्चालन भएकामा दुई सय १३ सम्पन्न भइसकेको र हालसम्म अनुदानवापत एक अर्ब ३२ करोड भुक्तानी दिइसकिएको खड्काले जानकारी दिनुभयो । रासस