• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

नक्कली शरणार्थी प्रकरण: इपिसेन्टर काठमाडौँ र अमेरिकामा पराकम्पहरु



अमेरिका । युलेस सिटी काउन्सिल मेम्बर टीका पौडेलले केही दिनअघि सामाजिक सञ्जालमा एक स्टाटस राख्नुभयो, “टेक्सास, आज मलाई एचईबीको एक कार्यक्रममा दुई जना अमेरिकनले सोध्नुभयो, ‘टीका– मलाई लाग्छ तपाईं नेपालबाट हुनुहुन्छ। के तपाईं ठिक हुनुहुन्छ ? तपाईं कुन बाटोबाट अमेरिका आउनुभयो ? यदि म गलत छैन भने तपाईं कतै कृत्रिम भुटानी शरणार्थी भएर आएको त हुनुहुन्न ?’”

अमेरिकाको एक राज्य टेक्ससको स्थानीय तहका जनप्रतिनिधि समेत रहनुभएका पौडल सहकर्मीहरुको यो प्रश्नले जति मर्माहत हुनुभयो त्योभन्दा बढी जन्मभूमि नेपालको अन्तर्राष्ट्रिय छविमा आएका आँचले बढी दुखेको अनूभूति गर्नुभयो ।

अमेरिकामै न्यूजपोलारसँग उहाँले भन्नुभयो, “गैरभुटानी नागरिकलाई नक्कली शरणार्थीको रुपमा अमेरिका पठाउने कार्य ठूलो अपराध हो, यसले अन्तर्राष्ट्रियरुपमा नेपालको छवि त बिग्रियो बिग्रियो, आप्रवासीहरुका बारेमा पनि शंका गर्ने ठाउँ सृजना भयो ।”

उहाँका अनुसार यो प्रकरण अमेरिकाका तल्लो र माथील्लो दुबै सदनमा छलफलको विषय बिषय बन्छ जस्तो लाग्छ । अब यो र यस्ता प्रश्नहरुको सामना सिटी काउन्सीलको छलफलहरुमा पनि सामाना गर्नुपर्ने छ ।

ह्युस्टनमा रहनुभएका सञ्चारकर्मी तारा बरालले न्युजपोलारसँग भन्नुभयो, “नक्कली भुटानी शरणार्थीसम्बन्धी प्रकरणले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो देशको मान मर्दन भैसक्दा पनि नेपाली कांग्रेस भने आत्मरतिमा मग्न देखिन्छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण यो प्रकरणमा आरोपित भएर पक्राउ पर्दा पनि उनको केन्द्रीय सदस्य पद यथावत छ । यस्तो अवस्थामा कुनै राम्रो कामको अपेक्षा कसरी गर्नु ?”

यसैगरी अर्का पत्रकार बिटु केसीले भन्नुभयो, “यो प्रश्नको सामना अब हामीले अमेरिकन साथी, सहकर्मी र छिमेकीहरुसँग गर्नुपर्ने अवस्था उत्पन्न भयो ।”

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहितका व्यक्तिहरु पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै यस कार्यमा संलग्नहरुले विभिन्न व्यक्तिसँग १० देखि ४५ लाख रुपैयाँसम्म असूली गरेका थिए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ चैतमा भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असूली गरेको आरोपमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ, मोरङका सागर राईलगायतलाई पक्राउ गरेपछि यो प्रकरण छताछुल्ल भएको थियो ।

उनीहरुले एमालेका नेता रामबहादुर थापा ‘बादल’ र कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला कर्मचारी प्रशासन र सचिवालयलाई ‘मिलाएर’ नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने कार्य गरेको खुलेको थियो ।

अमेरिका पठाइदिने नाममा आफूहरूसँग २० देखि ५० लाख रूपैयाँसम्म उठाएर ठगी गरिएको भन्दै एक वर्षअघि नै ८१ जनाले प्रहरीमा उजुरी दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा हाइ प्रोफाइल नै जोडिएपछिको विषय राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा चासोका साथ हेरिएको छ ।