२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी



फाईल फोटो
अ+ अ-

ललितपुर । ललितपुरस्थित नख्खु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । एक हजार दुई सय क्षमताको कारागार भए पनि हाल पुर्पक्षका लागि थुनामा राखिएको र जेल चलान भएका गरी एक हजार पाँच सय सात छन् ।

क्षमताभन्दा बढी भए तापनि हाललाई अन्य कारागारको जस्तो नख्खु कारागारमा व्यवस्थापनको समस्या नरहेको कारागार प्रशासक कल्पना घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार आगामी दिनमा हालको सङ्ख्याभन्दा बढी कैदीबन्दी थपिएमा व्यवस्थापनमा समस्या हुन सक्नेछ । हाल नख्खु कारागारमा छ सय ९५ पुर्पक्षका लागि थुनामा राखिएकामा ४५ विदेशी नागरिक छन् ।

त्यसैगरी, आठ सय १२ कैदीबन्दीमध्येमा ५७ विदेशी नागरिक छन् । कैदीबन्दी रिहाइ हुने र अदालतको फैसलाअनुसार चलान हुने भएकाले यो सङ्ख्या प्रत्येक दिन फेरबदल हुने कारागार कार्यालयका अधिकृत मुरारी कार्कीले जानकारी दिनुभयो ।

हाल कारागारमा तीन ब्लक छन् । पुर्पक्षका लागि थुनामा राखिएका र अदालतको फैसलापछि जेल चलान भएकालाई छुट्टाछुट्टै ब्लकमा राखिएको छ ।

कारागार प्रशासक कल्पना घिमिरेका अनुसार, सिआर र डिआर ब्लक राणाकालीन संरचना भएकाले ती दुई ब्लकलाई केही मर्मत गरेर यथावत राखिएको छ भने नयाँ ब्लक पूर्णरुपमा नयाँ तरिकाले निर्माण गरिएको छ । कारागारमा ३२ प्रकारका घटनामा आधारित कैदीबन्दीमध्येमा सबैभन्दा बढी जबर्जस्ती करणी र लागुऔषधसँग सम्बन्धित कैदीबन्दी रहेको कार्यालय प्रशासक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कैदीबन्दीका लागि विभिन्न सीपमूलक तालिमको व्यवस्था छ । कारागारमा पढ्नका लागि करिब सात हजारभन्दा बढी पुस्तकसहितको पुस्तकालय छ । पढ्न चाहानेले कारागारबाट नै स्नातकोत्तर गर्नेसमेत व्यवस्था रहेको छ ।”

कारागारभित्र खेलकूद लगायत अन्य विभिन्न सेवासुविधा सरकारले उपलब्ध गराउँदै आएको र कैदीबन्दी बिरामी परेमा उपचारको व्यवस्था रहेको प्रशासक घिमिरेले बताउनुभयो । रासस