काठमाडौँ । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६७औँ जन्म जयन्ती घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पु¥याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिनुभएको थियो ।
राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पु¥याउनुभयो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् ।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुमपा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ । बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिएको थियो । यस अवसरमा नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउने भएका छन् ।
लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा पनि विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो ।
इसापूर्व ५२८को वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।
यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना)का माध्यमबाट बाँड्नुभएको थियो । पैतालीस वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।
विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । यसप्रति अध्ययन, अनुसन्धान गर्नेको सङ्ख्या पनि बढेको छ । रासस