१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटपाट गर्ने उद्देश्यले निराको हत्या



अ+ अ-

काठमाडौँ । प्रहरीको प्रारम्भिक अनुसन्धानले लुटपाट गर्ने उद्देश्यले कपनमा व्यवसायी गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या भएको देखाएको छ । पाण्डेको हत्या प्रकरणमा संलग्न झापाका विनोद विकलाई प्रहरीले पक्राउ गरेपछि लुटपाटको उद्देश्यले उनको हत्या भएको खुलेको हो ।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउँदै आएकी निराको गत बैशाख ७ गते हत्या भएको थियो । प्रहरी प्रधान कार्यालयले घटना अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धान टोलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहकार्यमा शनिबार राति झापाबाट विकलाई पक्राउ गरेको थियो । ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको छ ।

पारिवारिक कलह र ऋणले गर्दा विक काठमाडौंमा आएको खुलेको छ । ऋण तिर्न नसकेको र परिवारसँग समेत सम्बन्ध राम्रो नभएपछि विकले अपराधिक बाटो रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनको करिब ३/४ लाख ऋण रहेको र उक्त ऋण तिर्न नसकेको अनुसन्धानले देखाएको छ ।

निरा हत्यामा विक एक्लैको संलग्नता रहेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । विक केही समयअगाडि ठमेलस्थित एक क्लबमा बाउन्सरको रुपमा काम गर्दै आएका थिए । त्यसअघि उनले झापामा एक क्‍यासिनोमा बाउन्सरको रुपमा काम गरेका थिए । भक्तपुरको लोकन्थलीमा साथीको डेरामा बस्दै आएका विक बैशाख ७ गते सामान किन्ने उद्देश्यले निराको पसल पुगेका थिए ।

सामान हेरिसकेपछि उनी पैसा लिन नजिकैको एटीएम काउन्टर गएका थिए । फर्केर फेरि विकले निरासँग सामान खरिद गर्नेबारे छलफल गरेका थिए । सोही क्रममा उनले निरामाथि आक्रमण गरे । निराकै पसलमा रहेको चक्कु प्रयोग गरेर उनीमाथि प्रहार गरेका थिए । हत्यापछि विकले निराले लगाएको सिक्री र काउन्‍टरमा रहेको केही पैसा लिएर निस्केका थिए । त्यसपछि उनी फेरि लोकन्थलीस्थित साथीको कोठामा गएका थिए । लुटेको सिक्री एक सुन–चाँदी पसलमा ५५ हजारमा बिक्री गरेको अनुसन्धानबाट खुलेको छ ।