२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानी अभाव



अ+ अ-

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा सञ्चालित खानेपानी आयोजनाको ‘सोलार प्यानल’मा समस्या आएपछि दगाममा खानेपानीको अभाव भएको छ । अहिले स्थानीयवासीले पँधेराको पानी प्रयोग गर्न बाध्य भएका छन् ।

दगाम स्थानथोक भुजिकोट खानेपानी आयोजनाको सोलारमा समस्या देखिएपछि दगाममा खानेपानीको अभाव भएको स्थानीय नन्दु थापामगरले बताइन् । “दुई हप्तादेखि सोलारमा समस्या आएको छ, एकपटक मर्मत गर्यो पुनः बिग्रिन्छ”, उनले भनिन्, “सोलारमा समस्या आएपछि पर्याप्त पानी आएको छैन ।”

सोलारमा समस्या आउँदा घर–घरमा वितरण गरिएको धाराबाट पर्याप्त पानी आएको छैन । यसका कारण स्थानीयवासी पँधेरामा पुगेर डोकोमा बोकेर पानी ल्याउन बाध्य छन् । उनका अनुसार स्थानीयवासी घरबाट आधा घन्टाको दूरीमा रहेको पँधेराबाट पानी ल्याउन बाध्य छन् । “पानी पर्याप्त नआएका कारण बिहानै उठेर पँधेरामा पुगेर पानी ल्याउनुपर्ने बाध्यता छ”, उनले भनिन्, “उक्त पँधेरा धेरै वर्ष पुरानो हो, खानेपानी योजना बन्नुभन्दा पहिला यहाँका स्थानीयले त्यहीँको पानी उपभोग गर्दथे ।”

स्थानीय कमला थापाका अनुसार पानीको अभाव भएपछि बिहानै उठेर पँधेरामा गएर पानी ल्याउनुपर्ने बाध्यता छ । खानेपानी योजना सम्पन्न भएपछि पानीको दुःख हटे पनि अहिले सोलारमा समस्या आउँदा सास्ती भएको उनको गुनासो छ । दगाममा ४१ घरधुरी छ । अहिले सबै घरमा खानेपानी योजनाबाट पर्याप्त पानी आएको छैन ।

“सोलार प्यानलका बारेमा हामीहरूलाई पनि धेरै ज्ञान छैन, बिग्रिएको बेला प्राविधिक आएर बनाइदिन्छन्, केही समयपछि फेरि बिग्रिन्छ”, उनले भनिन् । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको कोत्रेबजारबाट सात किलोमिटर दूरीमा दगाम गाउँ छ । यो गाउँ मह उत्पादनका लागि पनि प्रख्यात छ । यहाँका स्थानीयवासी घरबास सञ्चालनमा समेत लागेका छन् ।