११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !
अ अ+ अ-

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भए पनि खन्दै स–सानो बारी (जमिन) जोड्नुभएको रहेछ ।

बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन । बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए । लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो । बालबालिका शिक्षाबाट वञ्चित भए । हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे ।

२६ वर्षमा १२ सन्तानलाई जन्म

भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो । केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गर्नुभयो । अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो । यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसक्नुभएको छ ।

खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष ९२०५५ साल० मै जन्मियो । तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती । अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो । दोस्रो पनि तीन/चार महिनाको बीचमै गुम्यो ।

तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उहाँहरूले गाउँ नै छोड्ने निधो गर्नुभयो । “गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन”, भिट्टु सम्झनुहुन्छ, “गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन । न त जाने खर्च नै । चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ ।”

भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किनुभयो । त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो । छोरी जन्मेको एक सातामै उहाँहरू गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा जानुभयो । पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो । पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले । गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो । भिट्टुले छोरा जन्मिएको खुसियालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी ९जन्मको उत्सव० खेलाउनुभयो ।

सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो । त्यसपछि उहाँहरू खानडाँडामा गोठ बनाएर बस्नुभयो र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो ।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना

आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाउनुभयो । जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गर्नुभएको छ ।

रिरा खड्का भिट्टुकी माइली छोरी हुनुहुन्छ । उहाँको उमेर १४ वर्ष भयो । अहिले उहाँ ३ कक्षामा पढ्नुहुन्छ । कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिनुभएको छ । नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन ।

यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउनुहुन्छ । “सबैका छोराछोरी पढ्न जान्छन् । आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ । तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन ।” उहाँ बोल्न नसकी भक्कानिनुहुन्छ । आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उहाँले बताउनुभयो । “हामीलाई त मान्छेले मात्रै होइन, भगवान्ले सबै ठग्यो ।” उहाँले भन्नुभयो ।

अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ । तर, मसँग सुक्को पैसा छैन । गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ । कताबाट नयाँ पोसाक पाउनु १”

घर जलेर पीडामाथि पीडा

खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो । आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन । “डाँडामा भएको घर । निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार । पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । दुई ÷चार नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो ।” खड्का सम्झनुहुन्छ ।

खड्काको गोठमा तीन बाख्रा थिए । घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए । बेलुले भन्नुभयो, “हामी बेहोस भइसकेका थियौँ । गाउँले आएर आगो फैलन दिएनन् । माटोले निभाएछन् । पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ ।” पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो । “त्यो पनि ढिला भइसकेको रहेछ ।” उहाँले भन्नुभयो ।

घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उहाँले सुनाउनुभयो । “बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,” बेलु भन्नुहुन्छ, “भरखर किनेका चार÷पाँच ब्लांकेट, सबै जनाका एक÷एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए ।” त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उहाँले बताउनुभयो ।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो ।आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे । त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताउनुभयो । “कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ । केही किन्न नसक्ने अवस्था भएपछि गाउँ–गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ ।” उहाँले भन्नुभयो ।

बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उहाँले बताउनुभयो । “गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ”, उहाँले भन्नुभयो, “हुन त ब्रामणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्नुहुन्छ । तर, के गर्नु, पापी पेट मान्दैन । उहाँहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौँ । त्यसले पनि हप्तौँ दिन छाक टर्छ ।”

ओहोरदोहोर गर्र्दा १० हजार खर्च, राहत मिल्यो सात हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाउनुभयो भिट्टुले । उहाँको घरबाट पालिका पुग्न झण्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ । राहतका लागि उहाँ दसौँ पटक पालिका पुग्नुभयो । भिट्टु भन्नुहुन्छ, “घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन । तर, पटक–पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो ।”

त्यो बीचमा भिट्टुको आठ हजार रूपैयाँ खर्च भइसकेको थियो । “तत्कालिन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भन्नुभयो,” उहाँ सम्झनुहुन्छ, “त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ । तर राहत पाउने कहिले हो कहिले भयो ?”

पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गर्नुभयो । “धेरैपछि उहाँले राहत ल्याउनुभयो सात हजार रूपैयाँ । त्यसबाट रु दुई हजारशिक्षकलाई नै दौडधुप गरेको भनेर भिट्टु खर्च दिनुभयो । बाँकी रु पाँच हजार राहत घरमा पुग्यो ।” उहाँ भन्नुहुन्छ ।

सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उहाँका आफन्तलाई नै दोषी ठान्नुहुन्छ भिट्टु । “त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन् । पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ ।” उहाँले भन्नुभयो ।राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उहाँ बताउनुहुन्छ । ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उहाँले बताउनुभयो ।

गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख

श्रम गर्न आफ्नो जमिन नभएपछि उहाँ खानडाँडा आउनुभएको थियो । खानडाँडामा उहाँले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ । त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन । “डाँडामा पानी छैन, मल पनि हुँदैन । अनि के उत्पादन हुन्थ्यो र रु कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ ।” उहाँ भन्नुहुन्छ ।

अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरू छन् । “गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,” भिट्टु भन्नुहुन्छ, “खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन् । म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु ।”

गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उहाँ बताउनुहुन्छ । “घरमा गोरू हेर्ने मान्छे छैन भन्नुहुन्छ, छोराछोरी स्कुल जान्छन रे । त्यो समस्या देखाएर गाई गोरू सिधैँ यतै लिएर आउँछन् । कहिलेकाँही चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि “हुँदैन” भन्न सकिँदैन । पालिरहेको छु ।” उहाँले भन्नुभयो । गोरू मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उहाँले बताउनुभयो । रासस