काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । सत्तागठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव दर्ता गराएपछिको अवस्थाबारे छलफल गर्न सभामुख सापकोटाले सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाउनुभएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा संसदीय दलका नेता दुर्गा पौडेल तथा नेमकिपा सांसद प्रेम सुवाल सहभागी हुनुहुन्छ । माओवादी केन्द्रको संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, परराष्ट्रमन्त्री नारायण खड्का, गृह मन्त्री बालकृष्ण खाँडलगायत पनि बैठकमा सहभागी हुनुहुन्छ ।
सर्वदलीय बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी भएको छैन । एमाले प्रमुख सचेतक विशाल भट्टराईले न्युजपोलारसँग षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले पेश गरिएको महाअभियोग बारे छलफल गर्न बोलाईएको बैठकमा जानुको कुनै अर्थ नभएको बताउनुभएको थियो ।