• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट

गण्डकी प्रदेश: बहुमतको सरकार गठनका लागि आह्वान



पोखरा । गण्डकी प्रदेशका प्रदेशप्रमुख पृथ्वीमान गुरुङले गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न तीन दिनभित्र दाबी गर्न आह्वान गर्नुभएको हो ।

गत पुस २५ गते नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारी नेतृत्वको सरकार दोस्रोपटक प्रदेशसभामा विश्वासको मत लिँदा बहुमत सदस्यले विश्वासको मतको विपक्षमा मत दिँदा ढलेको थियो ।

केन्द्रमा सत्ता समीकरणमा फेरबदल भएलगत्तै गत चैत १० गते माओवादी केन्द्रले अधिकारी नेतृत्वका सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार २९ औँ दिन वैशाख ९ गते सरकार ढलेको हो ।

विश्वासको मतको विपक्षमा नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ (सभामुखबाहेक) र स्वतन्त्र सांसद जितेर नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका राजीव गुरुङसहित ३५ सदस्यले मत दिएका थिए । विश्वासको मतको पक्षमा एमालेका २२ र राप्रपाका २ प्रदेशसभा सदस्यले मात्र मत दिएका थिए ।

उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि अब उपधारा ३ बमोजिम ठूलो दलका हैसियतले संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने कांग्रेसले अडान राखेको थियो ।

तर माओवादी केन्द्र संसदीय दलका नेता चुमानले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बन्न सक्ने सम्भावना कायमै रहेकाले उपधारा २ बमोजिम नै सरकार गठन हुने भन्दै पहिलो चरणमा आफू मुख्यमन्त्री हुने दाबी गर्नुभएको थियो । उहाँले उपधारा ३ बमोजिम सरकार गठन भए विश्वासको मत नदिनेसम्म चेतावनी दिनुभएको थियो ।

कुन उपधारा बमोजिम सरकार गठन गर्ने भन्ने अन्योलमा परेपछि प्रदेशप्रमुख गुरुङ कानुनी परामर्शका लागि खगराज अधिकारी सरकार ढल्ने बेला नै काठमाडौँ पुग्नुभएको थियो ।

आइतबार साँझ पोखरा फर्किनुभएका गुरुङले सरकार गठन आह्वान गर्न विलम्ब गरेपछि उहाँको आलोचनासमेत भएको थियो । माओवादी केन्द्रका चुमानलाई मुख्यमन्त्री बन्नबाट रोक्न कांग्रेसले ठूलो दलको हैसियतमै मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसँग लबिइङ गरेको थियो ।

ठूलो दलको नेताका हैसियतमा सुरेन्द्रलाई नै मुख्यमन्त्री नियुक्त गर्न भन्दै शीर्ष तहमै दबाव दिन कांग्रेस काठमाडौँमै डेलिगेसन गर्न पुगेको थियो । त्यस्तै सुरेन्द्रराज पाण्डेले आइतबार साँझ नै काठमाडौँ गएर कसरत गरेको र शीर्ष नेताहरुलाई दबाव दिन सोमबार कांग्रेस संसदीय दलका सदस्य नै काठमाडौँ पुगेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार साँझ उपधारा २ बमोजिम नै मुख्यमन्त्री नियुक्त हुने र पहिलो चरणमा सुरेन्द्रराज नै मुख्यमन्त्री हुने सहमति भएको थियो । सहमतिअनुसार सुरुको ३ वर्ष कांग्रेस र पछिल्लो दुई वर्ष माओवादीले सरकार चलाउने छ ।

प्रदेश प्रमुख गुरुङले मंगलबार ३ दिनको समय दिएर सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसका सुरेन्द्रराज पाण्डेले दाबी पेश गर्न जाने तयारी गर्नुभएको जनाइएको छ ।