• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले

संसारकै आकर्षण फेवातालको बाराही मन्दिर पुन:निर्माण कार्यको थालनी



लेखनाथ । अधिकांश स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गर्छन् पोखराको पर्यटकीय फेवातालको बीच भागमा अवस्थित धार्मिक आस्थाको केन्द्र बाराही भगवती मन्दिरमा । पर्यटकीय दृष्टिकोणले होस् वा धार्मिक आस्थाकै कारण, बाराही भगवती मन्दिर नपुग्ने स्वदेशी तथा विदेशी कमै होलान् । दर्शन र पूजाआजा गर्न मन्दिरमा भक्तजनको दैनिकरूपमा भीड लाग्ने गर्छ ।

पोखराकै प्रसिद्ध मानिने बाराहीदेवीको मन्दिर विसं २०७२ को भूकम्पले तीन इन्च दक्षिणतर्फ कोल्टिएपछि पुन:निर्माण कार्य सुरु गरिएको छ । फेवातालको बीच अर्थात पानीको बीचभागको ढिस्कोमा मन्दिर भएकै कारण मन्दिर ढल्कँदा झनै जोखिम देखिएको छ । जोखिम बढ्दै गएपछि ढल्किएको मन्दिर पुन:निर्माणका लागि बाराही मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागले पुन:निर्माणको कार्य अगाडि बढाएका हुन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले भूकम्पकै कारण मन्दिर छेउमा रहेका दुई गोदाम कोठाको दक्षिणतर्फको भाग दबेपछि ती कोठा हटाइसकेको जानकारी दिनुभयो । विसं २०१७ मा तत्कालीन राजा महेन्द्रले अहिलेको स्वरूपमा मन्दिर निर्माण गर्नुभएको थियो ।

पुरातत्व विभागको प्रत्यक्ष संलग्नतामा मन्दिर पुन:निर्माण गर्न लागिएको हो । मन्दिर पुन:निर्माण सम्पन्न गर्न रु एक करोड ४० लाख खर्च लाग्ने जानकारी अध्यक्ष कुँवरले दिनुभयो । प्यागोडा शैलीमै कालीगढ मगाएर वर्तमानस्वरूपमै मन्दिर पुन:निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । बाराही देवीको मूर्ति सुरक्षित राखिएको र त्यहाँ पुरातत्व विभागका कर्मचारीको समेत निगरानी रहिरहेको छ ।

कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले सर्वप्रथम खरको झुप्रो बनाई मन्दिर स्थापना गरेका थिए । यस मन्दिरको अस्तित्व विसं १६६९ देखि कायम रहिआएको छ । कतैकतै विसं १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेख पनि पाइन्छ । प्राचीनकालमा माटाको ढिस्कोमा एउटा शिला थियो । त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पुजिन थालिएको मन्दिरका पुजारी पर्शुराम पहारीले सुनाउनुभयो । पर्यटकीयरूपमा प्रसिद्ध मानिएको मन्दिरमा सबै धर्मका व्यक्तिले पूजाआजामा प्रवेश पाउँछन् ।

“मन्दिर पुन:निर्माण गर्नका लागि पुरातत्व विभाग र मन्दिर व्यवस्थापन समितिबीच सम्झौता भई एक महिनायता मन्दिरको पुन:निर्माणको कार्य सुरु भएको छ”, अध्यक्ष कुँवरले भन्नुभयो, “मन्दिर पुन:निर्माणका लागि पुरातत्व विभागले रु २५ लाख र बाराही मन्दिर व्यवस्थापन समितिले रु एक करोड १५ लाख जुटाउने सम्झौतामा उल्लेख छ । मन्दिर पुन:निर्माणका लागि आवश्यक पर्ने रकममध्ये मन्दिरको कोषमा अहिले रु ६५ लाख रहेको र अपुग रकम पोखरा महानगरपालिका र अन्य सहयोगदातासँग सङ्कलन गरिने जानकारी तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका सहसचिव महेश्वर पहारीले दिनुभयो । मन्दिर पाँच महिनाभित्र नै पुन:निर्माण गरिसक्ने योजनाका साथ काम अगाडि बढाइएको छ ।

पर्यटकीय सुन्दर नगरी पोखरास्थित यो मन्दिर कास्कीका घुम्नैपर्ने ठाउँको सूचीमा अग्रपङ्क्तिमा आउँछ । मन्दिरमा पर्यटकको दैनिक घुइँचो लागिरहन्छ । माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा परेको दृश्य मन्दिरबाट मनोरम देखिन्छ । कोजाग्रत पूर्णिमालगायत अन्य धार्मिक पर्वहरूमा यहाँ मेला लाग्दछ ।

तालको बीचको भाग अर्थात मन्दिर भएको ठाँउको क्षेत्रफल कम तर स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीको भीड बढी हुनुका साथै असिना पानी आउँदा मन्दिरमा पुग्ने मानिसले दु:ख कष्ट पाउने गरेका कारण मन्दिर परिसरमा भौतिक संरचना निर्माण गर्नेबारेमा रु १५ करोडको गुरु योजनासमेत अगाडि सारिएको सहसचिव पहारीले जानकारी दिनुभयो ।

स्थानीय प्रा डा भरत पहारीको संयोजकत्वमा इञ्जिनियरसहितका विज्ञ टोली गुरुयोजनामा विभिन्न संरचनालाई समेटेर अगाडि बढ्ने छ । विज्ञ टोलीका संयोजक पहारीका अनुसार मन्दिर पुन:निर्माणको कार्यसम्पन्न भएपछि मन्दिर वरपरको भागलाई सदुपयोग गर्न र एक सय वर्षसम्म मन्दिर पुग्ने भक्तजनलाई ठाउँको अभाव हुन नदिन भइरहेको प्राकृतिक संरचनालाई असर नपर्ने गरी भूमिगत भौतिक संरचना निर्माण गरिनेछ । भौतिक संरचनादेखि बगैँचा र धार्मिक अनुष्ठान गर्ने ठाउँ बनाइनेछ ।

तालबाराही मन्दिर व्यवस्थापन समिति सल्लाहकार तथा स्थानीयवासी ७७ वर्षीय रमेशबहादुर भट्टराईले अग्रज पुर्खाको भनाइअनुसार परापूर्वकालमा फेवाताल भएको ठाउँमा बस्ती थियो । एक दिन बेलुका एक वृद्ध जोगी बास माग्दै आए त्यो बस्तीमा । कसैले बास नदिएपछि उनी एक वृद्धाकहाँ पुगे । वृद्धाले बास बस्न दिइन् । तर, खान भने ढुटोको रोटी मात्रै भएको सुनाइन् । वृद्ध जोगी तयार भएर त्यही खाएर सुते । घर बाहिरै सुतेका जोगीले बिहान हिँड्नु अगाडि वृद्धालाई भने– “यो गाउँ चाँडै जलमग्न हुनेछ । तपाइँ भने अग्लो ठाउँमा चाँडै जानू ।” जोगी हिँडेको केही समयलगत्तै स्वाँ।।। आवाज आयो । स्वाँ।।। सँगै पानी बढेर आयो । बस्तीमा पानी आउन थाल्यो । जोगीको सल्लाहअनुसार वृद्धा अग्लो ठाउँमा गएर बाँचिन् ।

फेरि एक दिन विशाल वर्षा आयो । वर्षापछिको डुबानले मूर्ति बगाएर अहिलेको मन्दिर भएको ठाउँमा ल्यायो । तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको इतिहास पनि निकै रोचक छ । कास्कीका राजा कुलमण्डन शाहलाई मूर्ति स्थापना गरी पुज्नु भन्ने सपना आयो । उनले सपनाअनुसार मूर्ति स्थापना गरेर पूजा गर्न राज्यकै तहबाट लाए । क्रमश: विकास हुँदै मन्दिर अहिलेको अवस्थामा आएको हो । त्यहीँ ढिस्कोमा तालवाराही देवीको शिला राखी पुजिँदै आएको किंवदन्ती छ ।

फेवाताल आफैँमा प्रसिद्ध गन्तव्य हो । तेइस दशमलव ३० मिटर गहिराइ, चार दशमलव ४६ किमी लम्बाइ तथा दुई किमी चौडाइको नेपालको पर्यटकीय ताल हो फेवाताल । त्यही तालको एक धेरै पुरानो मन्दिर हो ताल बाराही भगवतीको मन्दिर । यसमा पूजाआजाको प्रारम्भ विसं १४६७ बाट भएको हो भने विसं १८६८ देखि नित्य पूजाआजा सुरु भएको पाइन्छ । सामान्य अवस्थामा रहेको मन्दिरलाई झुप्रोबाट उठाउन तत्कालीन राजा महेन्द्रले विसं २०१७ मा अहिलेको स्वरूपमा मन्दिर निर्माण गरिदिएपछि यसले थप चर्चा पाउन थालेको हो ।

मन्दिर व्यवस्थापन समितिको स्थापना भने विसं २०५३ मा आएर मात्रै भएको थियो । हिकमतबहादुर कुँवरको नेतृत्वमा प्रथम व्यवस्थापन समिति बनेको थियो । तालको किनाराबाट पाँच मिनेटभित्रै डुङ्गा चढेर बाराही मन्दिरसम्म पुग्न सकिन्छ । प्राकृतिक मनोरम दृश्यले यहाँ पुग्ने जो कोहीलाई आनन्दित तुल्याउनुका साथै तालबाराहीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वासले पनि सबैलाई आकर्षित गरेको छ । कूल तीन रोपनी आठ आना दुई दाम क्षेत्रफलमा फैलिएको यस मन्दिरको संरक्षण एवं पूर्वाधार विकासमा तालबाराही मन्दिर संरक्षणरगुठी व्यवस्थापन समिति क्रियाशील रहँदै आएको छ ।

तालको बीचमा मन्दिर अवस्थित छ भन्ने सुनेर पनि टाढाटाढाबाट दर्शनार्थी फेवाताल आउने गरेको जानकारी पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले बताउनुभयो । तालमा देखिने माछापुच्छ्रे हिमालको छायाँ र मन्दिर परिसरबाट देखिने अन्नपूर्ण मिहालको शृङ्खला, सराङ्कोट, विश्वशान्ति स्तूप, काँहुडाँडा, पुम्दीकोट, जस्ता सम्पदाले पर्यटकलाई लोभ्याउने गरेको उहाँले सुनाउनुभयो । मन्दिर गुठीका नाउँमा खेत र केही रोपनी जङ्गलसमेत रहेको छ ।

‘फेवा’ गाउँको छेउमा रहेकाले यो तालको नाम फेवा ताल रहन गएको हो । ‘बैदाम’ गाउँको छेउमा पर्ने हुँदा बैदाम ताल पनि भनिने गरिन्छ । यसको बीचमा ‘बाराही मन्दिर’को अवस्थितिले यसलाई बराह मन्दिरबाट पनि चिनाउन सकिन्छ ।

यो नेपालको दोस्रो सबैभन्दा ठूलो ताल हो । फेवा ताल समुन्द्रको सतहदेखि सात सय ४२ मिटर (दुई हजार चार सय ३४ फिट) को उचाइमा रहेको छ । यस तालले लगभग पाँच दशमलव २३ वर्ग किमी (दुई वर्ग माइल) क्षेत्रफल ओगटेको छ । यस तालको औसत गहिराइ आठ दशमलव छ मिटर (२८ फिट) रहेको छ भने अधिकतम गहिराइ २४ मिटर (७९ फिट) रहेको छ । यस तालको अधिकतम जल क्षमता लगभग चार करोड ३० लाख क्युविक मिटर (३५ हजार एकड फिट) रहेको छ । यस तालको उत्तर दिशामा अन्नपूर्णा हिमशृङ्खला रहेको छ, जुन २८ किमीको दूरीमा छ । यो ताल माछापुच्छ्रे, अन्नपूर्णा र धौलागिरि तथा अन्य पर्वतको टाकुराको प्रतिविम्बका लागि पनि प्रसिद्ध छ, जुन यस तालको पानीमा स्पष्ट देखिन्छ । रासस