२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदबाट पारित हुने, तीन दलबीच सहमति जुट्यो



अ+ अ-

काठमाडौँ । प्रमुख तीन राजनीतिक दलका बीचमा संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई तत्काल नै प्रतिनिधिसभाबाट टुङ्गो लगाउने सहमति भएको छ ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक लामो समयसम्म अगाडि बढ्न नसक्दा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्तिमा अड्चन हुँदै आएको थियो । यस्तै, शान्ति प्रक्रियासँग जोडिएको सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकलाई विशेष समिति गठन गरेर निष्कर्षमा लैजाने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको तीन दलका शीर्ष नेताको बैठकमा १५ सदस्यीय विशेष समिति गठन गरेर शान्ति प्रक्रियाका कामलाई निष्कर्षमा लैजाने सहमति भएको नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।

मङ्गलबारबाटै सदनमा त्यससम्बन्धी प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभयो । यस्तै, एमालेले तीनवटा समितिको नेतृत्व लिने सहमति भएको छ । त्यसमा सार्वजनिक लेखा समिति, राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापति एमालेले लिनेछ । अर्को एक समितिका बारेमा निर्णय भए पनि टुङ्गो लागेको छैन । यस्तै, संयुक्त समितिमध्येको संसदीय सुनुवाइ विशेष समितिको सभापति भने नेपाली कांग्रेसले लिनेछ ।

प्रतिनिधिसभामा रहेका अन्य १० वटा विषयगत समितिका सभापतिमध्ये लेखा समितिबाहेक अन्य समितिमा भने सत्तारूढ गठबन्धनले एक आपसमा भागबन्डा गर्नेछन् । “प्रमुख विषयमा सहमति भएको छ । अब सहज रुपमा प्रक्रिया अगाडि बढ्छ”, एमाले संसदीय दलका प्रमुख सचेतक गिरीले भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे सहभागी हुनुहुन्थ्यो ।