• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

धाँधलीको कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणनास्थलमा लाइभ रोकियो– सिके राउत



फाईल फोटो

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा निर्वाचन क्षेत्र नं १ मा भएको उपनिर्वाचनको मतगणनालाई लाइभ गर्न नदिइएकामा आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले मतदानका दिन भएका धाँधलीका कुनै प्रमाण बाहिर नआओस् भनेर मतगणना स्थलको लाइभ गर्ने पार्टीको मागलाई बेवास्ता गरिएको आरोप लगाउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले भन्नुभएको छ, “पारदर्शिताबाट डर किन ? मतगणना स्थलको लाइभ गरिनु पर्ने हाम्रो मागको विपरीत मोबाइल फोनसमेत निषेध गरी मतगणना गर्नुको रहस्य के ? प्रहरी, प्रशासन र निर्वाचन अधिकृतको मिलेमतो हिजो पनि बूथहरूमा देखिएकै हो, मतपत्र बाहिर छयाप्छ्याप्ती भेटिएकै थिए, अब मतपेटिकाको सील पनि तोडिएको छ, अनि गोप्यरूपले गणना गरिँदै छ।”

लाइभ त अचेल एउटा मोबाइलबाट पनि जो सुकैले गर्न सक्छन् भन्दै उहाँले त्यहाँ उल्टा लाइभ गरिनुको साटो मोबाइल पनि निषेध गरिएको बताउनुभयो ।

फेसबुकमा धाँधली रोक्न खोज्दा भौतिक आक्रमण गरिएका जनमतका कार्यकर्ताको फोटोसमेत पोस्ट गर्दै उहाँले लेख्नुभएको छ, “त्यहाँ भएका मतगणना प्रतिनिधिहरूलाई त हाम्रा बूथ प्रतिनिधिहरूलाई डरत्रास देखाएर जसरी चुप गराइएका थिए, त्यसरी नै गराउने त होला। ”