२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाइडेन र पुटिनको शिखर बैठक सकियो, “वार्ता निकै रचनात्मक”: राष्ट्रपति पुटिन



अ+ अ-

समाचार टिप्पणी

काठमाडौंः अमेरिकी राष्ट्रपति जो बाइडेन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनबीचको बहुप्रतिक्षित जेनेभा शिखर वार्ता “द्वीपक्षीय सहमतिलाई अघि बढाउने” निष्कर्ष निकाल्दै सम्पन्न भएको छ । यी दुई नेताबीचको प्रत्यक्ष शिखर वार्ता झण्डै पाँच घण्टा चलेको थियो ।

सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा धाँधली र हस्तक्षेप गरी हिलारी क्लिन्टनलाई पराजित गर्न भूमिका निर्वाह गरेको भन्दै डेमोक्र्याटिक पार्टीको नेतृत्वपंक्ती राष्ट्रपति पुटिन र पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निरन्तर आक्रोशित छ ।   

ट्रम्पकै कार्यकालमा रुसी भूमिका स्पष्ट नदेखिएको छानबिनले प्रस्ट गरे पनि डेमोक्र्याटिक पार्टीले त्यसलाई अझै विश्वास गर्न सकिरहेको छैन ।

त्यही कारण पछिल्लो जेनेभा वार्ताअघि पनि राष्ट्रपति बाइडेनले अमेरिकी चुनावहरुमा रसिया सरकारको संरक्षणमा ह्याकरहरुले संगठित साइबर आक्रमण गरेको आरोप लगाउँदै आउनु भएको छ ।

रसियाका विपक्षी नेता नाभाल्नीलाई गैरकानुनी रुपमा लोकतान्त्रिक मूल्यमान्यताको उपहास गरी निरन्तर गिरफ्तार गरिएको भन्दै बाइडेनले चिन्ता प्रकट गर्नु भएको छ ।

तानातान र आरोप प्रत्यारोपबीच नै बाइडेनले अमेरिकामा रहेका कैंयौं कुटनीतिक अधिकारीहरुलाई देश निकाला गर्नुका साथै साइबर आक्रमण र अमेरिकी चासोका क्षेत्रमा हस्तक्षेप गर्न भूमिका खेलेको भन्दै रसियाका केही व्यक्ति एवं सरकारी निकायमाथि थप प्रतिबन्धहरु घोषणा गर्नु भएको छ ।

यस्तो विषम परिस्थितिमा जेनेभामा दुई नेताबीच भेटवार्ता भएको छ । वार्ताले निश्चय पनि अनिश्चिततालाई चिर्न र समझदारी बढाउन महत्वपूर्ण भूमिका खेल्दछ ।

यतिखेर रसिया र अमेरिका विश्व राजनीतिमा अनेक मोर्चामा लडिरहेका छन् र त्यहाँ समझदारी बनाउन दुबैको हातेमालो जरुरी छ । अफगानिस्तान, सिरिया, लेबनान समेतका मध्यपूर्वका मुलुक एवं उत्तर कोरियाली मामिलामा रुस र अमेरिकाबीच समझदारी जरुरी छ ।

राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच वार्ता निकै सौहार्दपूर्ण रहे पनि दुबै नेताले एकअर्कालाई वासिङटन वा मस्को भ्रमणका लागि निम्ता गरेनन् ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले दुबै मुलुक आणविक अस्त्रको स्थायित्वका लागि मिलेर कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको थियो । उहाँले बाइडेनका बारेमा टिप्पणी गर्दै भन्नुभयो, “राष्ट्रपति जो बाइडेन निकै परिपक्व नेता हुनुहुन्छ । उहाँ पूर्ववर्ती राष्ट्रपतिभन्दा बिल्कुल फरक हुनुहुन्छ ।”

झण्डै दुई घण्टा आफूहरुबीच वार्ता निकै रचनात्मक भएको स्मरण गर्दै पुटिनले भन्नुभयो, “पूर्व राष्ट्रपति ट्रम्पभन्दा उहाँ निकै भिन्न हुनुहुन्छ ।”