११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

प्रसाद २: मायाभन्दा ठूलो नै के छ र

प्रसाद २: मायाभन्दा ठूलो नै के छ र
अ अ+ अ-

काठमाडौँ ।  ‘मायाभन्दा ठूलो नै के छ र’ यो गीतले राम्रो चर्चा पायो । चलचित्र ‘प्रसाद’ मा सङ्गीत गीतले कथालाई व्याख्या गरेको छ ।

सुन्दरबस्तीमा बसोबास गर्ने शिक्षित युवा बाबुराम परियार र युवती नारायणी कार्की प्रेममा परेपछि उनीहरूले माया नै ठूलो ठान्छन् । यद्यपि उनीहरूको अन्तरजातीय प्रेमलाई समाजले स्वीकार्दैन । पेसागत रूपमा कपडा सिलाउने बाबुरामसँग गाउँले मुखियाले आफ्नी छोरी नारायणीको सम्बन्ध स्वीकार्दैनन् । फलत: प्रेमलाई संसार मानेको जोडी गाउँबाट सहर पस्छन् ।

शिक्षित समाज भनिएको सहरमा सामाजिक विभेद र नि:सन्तान दम्पतीको पीडाबाट गुज्रिएका बाबुराम र नारायणीले नसोचेको घटनाको सामना गर्छन् । आफ्नै गाउँलेबाट सहरमा बलात्कृत भएकी नारायणीको जीवनमा झनै पीडा थपिन्छ । नारायणीबाट जन्मिएको बच्चालाई बाबुरामले ‘प्रसाद’ को रूपमा ग्रहण गर्छन् ।

चलचित्रका लेखक सुशील पौडेलले नारायणीबाट जन्म भएको सन्तान बाबुरामले प्रसादको रूपमा स्वीकारेको बताउनुभयो । “मन्दिरमा चढाइएको फलफूल कसरी त्यहाँसम्म आइपुग्यो भन्ने सोचिँदैन, तर मन्दिरबाट दिइने त्यही फल भक्तजनका लागि प्रसाद हुन्छ । बाबुरामले पनि नारायणीको कोखलाई मन्दिर मानेका छन्”, लेखक पौडेलले भन्नुभयो । उहाँको लेख्न रहेको ‘प्रसाद’ को दोस्रो शृङ्खला प्रदर्शनको तयारीमा छ । निर्माणको समयदेखि नै विभिन्न कठिनाइलाई झेल्दै यो आउँदो वैशाख १५ मा प्रदर्शन हुँदैछ ।

‘प्रसाद २’ मा निर्देशक फेरिएका छन् । कलाकार पनि फेरिएका छन् । यसको कथा अघिल्लो चलचित्र सकिएकै स्थानबाट अगाडि बढेको लेखक पौडेलले जानकारी दिनुभयो । “अनुहार फेरिएका छन् । तर पात्र र परिवेश उही हो । त्यसैले हामीले यसलाई शृङ्खलाबद्ध रूपमै अगाडि बढाएका छौँ”, लेखक पौडेलले भन्नुभयो । त्यसो त ‘प्रसाद’ का निर्देशक दिनेश राउतले कथा अगाडि बढ्ने परिस्थिति नरहेको भन्दै निर्देशन नगर्ने घोषणा गर्नुभएको थियो । त्यही कारण दोस्रो शृङ्खलालाई सुदर्शन थापाले निर्देशन गर्नुभएको छ ।

“पहिलो शृङ्खलामा प्रेम गरेवापत जातीय विभेदकै कारण चलचित्रको मुख्य पात्र बाबुराम र नारायणीले गाउँ छोडेर सहर बसाइँ सर्न बाध्य भए । तर सहरमा घटेको घटनाले उनीहरूलाई भाग्नु समाधान होइन भन्ने ज्ञान दियो”, लेखक पौडेलले भन्नुभयो, “देशमा राजनीतिक परिवर्तन आइसकेपछि राज्यको भरोसामा उनीहरू गाउँमा गएर आफ्नो अस्तित्वलाई परिभाषित गर्न खोजे । उनीहरूको अन्तरजातीय र वर्गीय सङ्घर्ष तथा बाँकी जीवनलाई देखाउन हामीले दोस्रो शृङ्खला तयार गरेका हौँ ।” चलचित्रमा अभिनेता विपीन कार्कीले बाबुराम र अभिनेत्री केकी अधिकारीले नारायणीको भूमिका निर्वाह गर्नुभएको छ । सहरमा घटेका घटनाक्रमलाई साथ रहेर सामना गरेका बाबुराम दम्पती गाउँ फर्किने तयारी गर्छन् ।

देशमा आएको परिवर्तन गाउँसम्म पुगेको आशमा सुखी जीवन बिताउने सपना बोकेर उनीहरू आफ्नै थलोमा फर्किन्छन् । उनीहरू बस्ने गाउँलाई सुन्दरबस्ती भनिएता पनि त्यहाँ विभेद कायम नै छ । कानूनीरूपमा अधिकार प्राप्त गरेता पनि सामाजिक हिसाबले बाबुराम र नारायणीलाई सहज छैन । “प्रसादमा दम्पतीको आन्तरिक कथा थियो भने दोस्रो शृङ्खलामा सामाजिक कथा देखाएका छौँ । गाउँमा सामाजिक चेतनाको स्तर बढाउन आएका दम्पतीले के कस्ता समस्याको सामना गर्छन्् भन्ने घटनाक्रम देखाएका छौँ”, लेखक पौडेलले भन्नुभयो, “हामीले पहिलो चलचित्रको सफलताले नयाँ बनाएका होइनाँै । यो कथा भन्नुपर्छ भन्ने लागेर तयार गरेका हौँ ।” मूलकथा प्रेम बनाइए पनि परिवर्तनलाई संस्थागत गर्न राजनीतिको सहायता लिइएको छ ।

यो कथा आफूद्वारा भनिनुपर्छ भन्ने लागेर नै निर्देशनको लागि सहमत भएको निर्देशक थापाले जानकारी दिनुभयो । “मेरो लागि पात्र, परिवेश सबै नयाँ थियो । यो कथालाई मैले न्याय दिनसक्छु भन्ने लागेर नै निर्देशन गरेको हुँ । संविधानत: नेपाल सबै जातको फूलबारी भनिए पनि व्यवहारत: त्यसो हुन सकिरहेको छैन । यसलाई हामीले प्रस्तुत गरेका छौँ”, निर्देशक थापाले भन्नुभयो । प्राय सहरिया प्रेमकथालाई चलचित्रमा प्रस्तुत गर्नुहुने निर्देशक थापाले यसपटक भिन्न परिवेशलाई पर्दामा देखाउनु हुनेछ ।

उहाँले चलचित्र बनाउने प्रक्रियामा आफ्नोपन दिएको बताउनुभयो । “यसको निर्माणशैली मेरोअनुसार छ । तर कथामा मौलिकता छ । यसमा हाम्रै समाजलाई चित्रण गरेका छौँ । सरल कथा र प्रस्तुती छ”, निर्देशक थापाले भन्नुभयो, “बाहिरी रूपमा देखिएका उतारचढावले चलचित्रलाई असर गरेको छैन । मैले सोचे जस्तो चलचित्र बनाउन सफल भएको छु । धन्दापछि मैले फरक शैली रोजेको हुँ ।”

गाउँ पुगेर बाबुराम राजनीतिमा होमिनुको कारण नै परिवर्तनलाई संस्थागत गर्नु रहेको लेखक पौडेलले जानकारी दिनुभयो । चलचित्रमै सत्ताले शक्ति निर्माण गर्छ भनिएको छ । “शक्ति आर्जन गरेर न्यायको बाटो छोटो बनाउने प्रयासमा बाबुराम रहेका छन् । उनी गाउँ फर्किंदा राजनीति गर्ने उद्देश्य बोकेर आएका होइनन् । तर लक्ष्य पूरा गर्न त्यही बाटो हिँड्न बाध्य हुन्छन्”, लेखक पौडेलले भन्नुभयो । यसको मूलकथा राजनीति होइन । यो यात्राको सहयात्रा मात्र हो । सहरमा विभिन्न घटनाक्रमलाई झेलेका बाबुराम दम्पतीले गाउँको सामाजिक विभेदको सामना कसरी गर्छन् रु उनीहरू सामाजिकसँगै पारिवारिक लडाइमा सफल हुन्छन् वा असफल रु यो थाहा पाउन चलचित्र नै हेर्नुपर्छ ।

“बाबुराम दम्पती बलियो बनेका छन् । अडानका साथ जन्मथलो फर्किएका छन् । त्यो अडानलाई सामाजिक विभेदले टिक्न दिन्छ त रु यहाँ बाबुराम दम्पतीले आफ्नो मात्र नभई धेरै प्रसादको लागि सङ्घर्ष गरेका छन् । त्यसलाई हामीले चलचित्रको स्वरूप दिएका छौँ”, निर्देशक थापाले भन्नुभयो ।

कलात्मक पक्ष सशक्त रहेको चलचित्र ‘प्रसाद २’ को सार्वजनिक प्रचार सामग्रीले व्यावसायिक पाटोलाई उत्तिकै सवाल रूपमा उजागर गरेको छ । यसमा अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, कमलमणि नेपालले अभिनय गर्नुभएको छ । चलचित्रमा राजेश श्रेष्ठले छायाङ्कन, मिलन श्रेष्ठले सम्पादन, राजनराज सिवाकोटीले सङ्गीतको जिम्मेवारी सम्हाल्नुभएको छ । सुदर्शन बस्नेत निर्माता रहेको चलचित्रको प्रस्तुतकर्तामा सुभाष थापा हुनुहुन्छ ।रासस