४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो
अ+ अ-

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण भारतबाट दर्शनार्थी आउने गरेका छन् ।

यस मन्दिरमा नयाँ वर्षसँगै विजया दशमी, माघे सङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका पर्वमा भक्तजनको अत्यधिक भीड लाग्ने गरेको छ । मन्दिरमा माताको दर्शका लागि नवलपुर तथा चितवनका साथै देशका विभिन्न स्थान र भारतबाट भक्तजन आउने गरेका छन् । समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

१६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पूजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो । “१६औँ शताब्दीमा नवलपुरसहित यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । यहाँ राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, पराजुलीले भन्नुभयो, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवानको आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।”

विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, सापकोटाले भन्नुभयो, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेटाए ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको उहाँले बताउनुभयो ।

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजन आउन लागे”, सापकोटाले भन्नुभयो, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उहाँले बताउनुभयो । मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुन:स्थापित गरिएको सापकोटाको भनाइ छ ।

मन्दिरमा दर्शनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामवरण यादव, पूर्वराजा, पूर्वराजकुमार, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका पूर्वप्रमुख, प्रमुख, मन्त्री र उच्च पदस्थ सरकारी अधिकारी पुगिसक्नुभएको छ । विश्व प्रसिद्ध योग गुरु राम देव, आचार्य बालकृष्णले पनि सन् २०११ मा मन्दिरको दर्शन तथा भ्रमण गर्नुभएको छ । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ ।

गैँडाकोटबाट मौलाकालिकाको फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने करिब एक घण्टाको सिँढीमार्गबाट पैदल यात्रा गर्दै उकालो उक्लिएर तथा मोटरसाइकल र अटो चढेर मौलाकालिका मन्दिरसम्म पुग्न सकिन्छ । मौलाकालिका मन्दिरसम्म पुग्नका लागि आजदेखि मौलाकालिका केबलकार सञ्चालनमा आएको छ ।रासस