• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो



नवलपरासी (बर्दघाट–सुस्तापूर्व) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । यस मन्दिरमा शुद्ध मनले पूजा गरे मनोकांक्षा पूरा हुने विश्वासका कारण भारतबाट दर्शनार्थी आउने गरेका छन् ।

यस मन्दिरमा नयाँ वर्षसँगै विजया दशमी, माघे सङ्क्रान्ति, सरस्वती पूजा तथा चैते दसैँलगायतका पर्वमा भक्तजनको अत्यधिक भीड लाग्ने गरेको छ । मन्दिरमा माताको दर्शका लागि नवलपुर तथा चितवनका साथै देशका विभिन्न स्थान र भारतबाट भक्तजन आउने गरेका छन् । समुद्री सतहबाट पाँच सय ६१ मिटर उचाइमा पहाडी वनको धुरीमा मौलाकालिका भगवतीको मन्दिर अवस्थित छ ।

१६औँ शताब्दीमा पाल्पा राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि यस पर्वतको नाम मौला पहाड रहन गएको ऐतिहासिक महत्व भएको मन्दिरका मूल पूजारी क्षेत्रप्रसाद पराजुलीले बताउनुभयो । “१६औँ शताब्दीमा नवलपुरसहित यस ठाउँ पाल्पा राज्यको रुपमा अवस्थित थियो । यहाँ राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक स्थापना गरेका थिए”, पराजुलीले भन्नुभयो, “राजा यस ठाउँमा आएर स्नान र पूजा गर्थे । सेनाले भगवानको आस्थास्वरुप देवीको स्थापना गरेर पूजा गर्ने गरेका थिए ।”

विसं १९९० को भूकम्पमा सबै सखाप भएर मौलाकालिका माताको पूजा गर्ने ठाउँ जङ्गल हुन पुगेको धार्मिक सेवा समिति मौलाकालिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो । “भूकम्पको करिब ४० वर्षपछि यसै ठाउँमा काशिनाथ पौडेल भन्ने ब्राह्मणले सपनामा सेतो कपडा लगाएकी महिलाले ‘म देवी हुँ मलाई उद्धार गर, म एउटा ठूलो डाँडाको सालको बुटामुनि अलपत्र छु’ भनेर गइन् भन्ने गरिएको छ”, सापकोटाले भन्नुभयो, “भोलिपल्ट ती ब्राह्मणले छिमेकीलाई भन्न जाँदा कुमारसिंह गुरुङले उनको कुरामा विश्वास गरेर उनको सहयोगमा हात हतियार बोकेर जङ्गल फडानी गर्दा डाँडाको टुप्पामा ठूलो सालको रुख भेटाए ।” रुखको तल खोस्रिएर हेर्दा खिया लागेको घण्टी, ओखलको ढुङ्गा, कालिकाको शिला भेटाएपछि पूजा गर्ने ठाउँ बनाइएको उहाँले बताउनुभयो ।

“त्यहाँ उत्पत्ति भएको कालिकाको प्रभावले विभिन्न ठाउँबाट भक्तजन आउन लागे”, सापकोटाले भन्नुभयो, “आस्था र भक्तिको प्रभावले विभिन्न ठाउँबाट आएका भक्तजनले मनकामना पूरा हुने बताउन थालेपछि भक्तजन निरन्तर आउने क्रम बढेको छ ।” हिन्दू पौराणिक कथाअनुसार देवी, काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ सुरुआतको प्रतीक मानिने उहाँले बताउनुभयो । मौलालिका मन्दिरलाई स्थानीयस्तरबाट धेरै पटक पुन:स्थापित गरिएको सापकोटाको भनाइ छ ।

मन्दिरमा दर्शनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामवरण यादव, पूर्वराजा, पूर्वराजकुमार, नेपाली सेनाका प्रधानसेनापति, नेपाल प्रहरीका पूर्वप्रमुख, प्रमुख, मन्त्री र उच्च पदस्थ सरकारी अधिकारी पुगिसक्नुभएको छ । विश्व प्रसिद्ध योग गुरु राम देव, आचार्य बालकृष्णले पनि सन् २०११ मा मन्दिरको दर्शन तथा भ्रमण गर्नुभएको छ । सिँढीमार्ग हुँदै मन्दिर पुग्न करिब एक हजार आठ सय ८२ खुड्किला उक्लनुपर्छ ।

गैँडाकोटबाट मौलाकालिकाको फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने करिब एक घण्टाको सिँढीमार्गबाट पैदल यात्रा गर्दै उकालो उक्लिएर तथा मोटरसाइकल र अटो चढेर मौलाकालिका मन्दिरसम्म पुग्न सकिन्छ । मौलाकालिका मन्दिरसम्म पुग्नका लागि आजदेखि मौलाकालिका केबलकार सञ्चालनमा आएको छ ।रासस