२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिआरसीसम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय होइन: महेश बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सत्ता पक्षको एकाङ्की विषय नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सचेतक बर्तौलाले यस्तो बताउनुभएको हो । उहाँले सत्ता पक्षले फास्ट ट्रयाकबाट नै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गर्नुपर्ने अडान राखिरहेको भन्दै त्यसो हुन नसक्ने स्पष्ट पार्नुभयो ।

उहाँले विषयगत समितिमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक लैजानैपर्ने र त्यो प्रक्रिया लामो भए विशेष समिति बनाएर मात्रै विधेयक पारित गर्नुपर्ने बताउनु भयो । उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो टुंगिनुपर्छ भन्नेकुरामा नेकपा एमाले पनि सहमत भएको तर राष्ट्रिय विषय भएकाले प्रक्रिया पूरा गरेर मात्रै विधेयक टुंग्याइनुपर्ने बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कयौँ विषयहरुसँग सम्बन्धित भएकाले त्यो प्रतिकुल देशका ऐनहरु बन्नु नहुनेतर्फ सचेत गराउनु भयो ।

उहाँले विधेयकमा पीडितहरुको भावना समेट्नुपर्ने, सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरुलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन सक्नुपर्ने बताउनु भयो ।उहाँले भन्नुभयो, ‘टिआरसीको विषयमा उहाँहरले फास्ट ट्रयाकबाट जाने कुरा गर्नुभएको छ । प्रोसेसको कुरा गरिरहनुभएको छ । हामी प्रोसेस छिटो गर्ने कुरामा तयार छौँ । तर कन्टेनमा छलफल गरौँ । कतिपय हिसावले कन्टेनमा नै वहस गर्नुपर्ने कुरा छ । त्यसैले यो विषय राष्ट्रिय विषय हो । सत्ता पक्षको एकाङ्की विषय होइन ।

अन्य बिलहरु जसरी हामी संसदको अल्पमत र बहुमतले बढ्छौँ, यो विधेयक फरक हो । अन्तर्राष्ट्रिय माध्यमहरुले पनि हेरिरहेको छ, अन्तर्राष्ट्रिय मानव अधिकार पक्ष भएर हस्ताक्षर गरेका कयौँ विषयहरु छन् । त्यो प्रतिकुल हाम्रो ऐन हुनु हुँदैन । सर्वोच्च अदालतले प्रतिपादित गरेका जघन्य मानव अधिकारका उल्लंघनका घटनासँग जोडिएका दोषीहरुलाई मेलमिलाप, उन्मुक्ति दिन सकिँदैन । प्रष्ट नजिर स्थापित गरेको छ । त्यो प्रतिकुल हामीले ऐन बनाउन मिल्दैन । पीडितहरुको भावना समेट्नुपर्ने अवस्था छ ।

सत्यको राम्रोसँग अन्वेषण गरेर दोषीलाई कारबाही, पीडितहरुलाई परिपूरण राहत, क्षतिपूर्ति र न्याय दिन नसके फेरि पनि मुलुकलाई अर्को नयाँ रुपको द्वन्द्वात्मक स्थिति पैदा हुन्छ । त्यसैले यसलाई हामी विषयगत समितिमा व्यापक छलफल गर्न चाहन्छौँ । यदी त्यसमा लामो हुन्छ भने विशेष समिति बनाएर पनि जानसक्छौँ । कन्टेनका विषयमा व्यापक छलफल गरौँ, राष्ट्रको साझा विषय बनोस् । यसमा पुन: कुनैपनि प्रश्न नउठोस् ।’

सचेतक बर्तौलाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई राष्ट्रको साझा विषय बनाइ कुनैपनि प्रश्न उठन नदिने गरी टुंग्याउनुपर्ने बताउनु भयो ।