• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच शुक्रबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र नेता कोइरालाबीच मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको बताइएको छ ।

सो अवसरमा कांग्रेस नेता डा मीनेन्द्र रिजाल पनि सहभागी हुनुहुन्थ्यो । कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले मन्त्रीको नाम नपठाउँदा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

प्रधानमन्त्री प्रचण्डले नेता कोइरालालाई पार्टीभित्र मिलाएर चाँडो मन्त्रीको नाम पठाइदिन आग्रह गर्नुभएको थियो । नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर चाँडै मन्त्रीको नाम पठाउने जानकारी दिनुभएको बालुवाटार स्रोतले जनाएको छ ।

उहाँले जनमत पार्टीका मन्त्रीले राजीनामा दिएपछि खाली भएको उक्त मन्त्रालय कांग्रेसले पाउनुपर्ने माग गर्नुभएको थियो । कांग्रेसभित्र सभापति देउवाले कोइराला समूहलाई दुई जनाको मन्त्रालयको प्रस्ताव गर्नुभएपछि मन्त्रीको नाम पठाउन समस्या भएको कोइरालाले प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।

कोइराला समूहले कम्तीमा तीन मन्त्रालय पाउनुपर्ने अन्यथा कसैको नाम पनि नपठाउने अडान लिँदै आएको छ । यसअघि नेता कोइरालाले पार्टी सभापति देउवासँग बिहीबार भेटवार्ता गर्नुभएको थियो ।