काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ ।
मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको बताउँदै एमालेले मन्त्री खतिवडाको राजीनामा मागेको हो ।
खतिवडाले हालै सगरमाथा टिभीको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ दाबी गरेका थिए ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन् । ‘आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको हामी निन्दा र भत्र्सना गर्दछौं । यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ । साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’