५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक



अ+ अ-

गलकोट । चैते दसैँ बागलुङको मौलिक मेला नेपालभर चर्चित छ । चैते दसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । चैते दसँैका अवसरमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्न नेपालका विभिन्न जिल्ला र भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् ।

मुस्ताङको मुक्तिनाथ दर्शनका लागि पुगेका धार्मिक पर्यटकसमेत पछिल्लो समय कालिका मन्दिरमा आउने गरेका छन् । चैते दसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । दर्शनार्थी चढेका सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई समेत सकस हुने गरेको छ ।

नवरात्रि सुरु भएसँगै कालिका मन्दिरमा टाढाटाढाबाट भक्तजन आउनेक्रम सुरु भएको छ भने रमाइलो मेला, विभिन्न घरायसी सामग्रीका कक्ष तथा स्थानीय उत्पादनका कक्षमा व्यापारसमेत सुरु भइसकेको कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ ।

चैते दसैँका अवसरमा पाँच लाख धार्मिक पर्यटकले बागलुङ कालिका मन्दिर दर्शन गर्ने कालिका मन्दिर गुठी व्यवस्थापन समिति तथा चैते दसैँ मेला मूल आयोजक समितिले जनाएको छ । नेपालकै महत्वपूर्ण मेलामध्येको एक चैत्राष्टमी मेला यस वर्ष चैत १३ गतेदेखि सञ्चालन गर्ने बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्षको चैते दसैँको अवसर पारेर प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका भगवती मन्दिरको परिसरमा सञ्चालन हुने यो मेला यही चैत १३ देखि १७ गतेसम्म सञ्चालन हुने मेला मूल आयोजक समिति कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

“नवरात्रदेखि पूर्णिमासम्म पाँच लाख दर्शनार्थीले कालिका मन्दिर आउने लक्ष्य छ, नवरात्रको चौथो दिनदेखि नै धार्मिक पर्यटक बोकेका सवारीसाधनलाई बाङ्गेचौर खेल मैदानमा व्यवस्थापन गर्न थालिएको छ, दिनप्रतिदिन कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ”, खड्काले भन्नुभयो, “परम्परागत चैते दसैँको सबै तयारी पूरा भइसकेको छ, अहिले रमाइलो मेला सुरु भइसकेको छ, चैते दसैँको मेलाको उद्घाटन चैत १३ गते हुनेछ ।”

अहिले कालिका मन्दिरको पार्किङस्थलमा सवारीसाधन नअटाएका कारण बाङ्गेचौर खेल मैदानमा पठाइएको ट्राफिक कार्यालयका निमित्त प्रमुख प्यामनारायण पौडेलले जानकारी दिनुभयो । ‘गन्तव्य बागलुङ कालिका–कला, संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ यस वर्षको चैते दसैँ मेलाको सबै तयारी पूरा भइसकेको खड्काले बताउनुभयो । कला, संस्कृति, स्थानीय उत्पादन र धार्मिक पर्यटन प्रवद्र्धनमा चैते दसैँ मेला र बागलुङ कालिका मन्दिरले ठूलो टेवा पुर्‍याउँदै आएको स्थानीय दुर्गाबहादुर आचार्यको भनाइ छ ।

चैते दसैँका अवसरमा रु एक करोड लागतमा मन्दिरको जीर्णोद्वार गरी कलात्मक बनाइएको छ । मन्दिरसँगै विभिन्न काष्ठकला प्रयोग गरी हवन कुण्ड, शिवालय र गणेश मन्दिरसमेत निर्माण गरिएपछि कालिका मन्दिर थप आकर्षक बनेको छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा सञ्चालन हुने मेलामा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

रु तीन लाख नगद पुरस्कारसहितको कालिका खुला पुरुष भलिबल प्रतियोगिता, रु एक लाख ५० हजार पुरस्कारसहितको राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता, छोलो प्रतियोगिता र रथ यात्रालगायतका कार्यक्रम आयोजना गरिएको कालिका कपका मूल संयोजक अर्जुन खड्काले जानकारी दिनुभयो ।

पछिल्ला वर्षमा विभिन्न ठाउँमा व्यापारिक मेला आयोजना हुने गरेको भए पनि नेपालकै प्राचीन मेला मानिएको यो मेलाको आफ्नै महत्व र इतिहास रहेको बुढापाका बताउँछन् । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिका मूर्ति घनाजङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ । चैते दसैँ मेलामा घरायसी प्रायोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ । रासस