![](https://newspolar.com/wp-content/uploads/2022/03/holi_AT2blBEB7I.jpg)
काठमाडौँ । काठमाडौँ उपत्यकामा नियम उल्लङ्घन गर्ने ८९ गाडीलाई सोमबार दिनभरि ‘होल्ड’ गरी छोडिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सोमबार बिहानैदेखि उपत्यकामा ट्राफिक प्रहरीले सुरक्षा जाँचलाई कडाइ गरेको थियो । होल्ड भएका गाडीलाई सोमबार बेलुका ५ बजेपछि सम्बन्धित गाडी धनीको जिम्मा लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
फागु अर्थात होली पर्वलाई व्यवस्थित बनाउन बिहानैदेखि सुरक्षा जाँचमा कडाइ गरिएको हो । बिहानैदेखि उपत्यकाका झण्डै ७० ठाउँमा ट्राफिक चेक पोइन्ट राखिएको थियो । होलीमा कतिपयले उच्छ्रिङ्खल गतिविधि गर्ने, लोला हान्ने, जाँड रक्सी र लागुपदार्थ खाएर गाडी चलाउने भएकाले यसलाई रोक्न सुरक्षा जाँचलाई कडाइ गरिएको र दर्जनौँ कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जानकारी दिए ।
होहल्ला नगरी, जाँड रक्सी तथा लागुपदार्थ नखाई एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गर्दा पनि नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको बताइएको छ । अभद्र तरिकाले होली खेलिएको पाइए तथा कसैले इच्छा विपरीत रङ लगाए, लोला हाने वा फोहर पानी र विभिन्न केमिकल मिसिएको पदार्थ लगाई दिए तुरुन्त प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिन प्रहरीले आज आग्रह गरेको थियो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व सोमबार पहाडी जिल्लामा र मंगलबार तराईका जिल्लामा मनाइने गरिन्छ । रासस