• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण



काठमाडौँ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ ।

आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलनमार्फत केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले एक व्यक्तिबाट प्राप्त अङ्गलाई तीन जनामा सफल प्रत्यारोपण भएको जानकारी दिनुभएको हो ।

उहाँले भन्नुभयो, “गत मङ्गलबार सवारी दुर्घटनाबाट परी मस्तिष्क मृत्यु भएकी १७ वर्षीय युवतीबाट केन्द्र र भारतीय चिकित्सकको टोलीले तीन जनामा मृगौला र कलेजोको सफल प्रत्यारोपण गर्न सफल भएको छ ।”

दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकी ती युवतीबाट रुपन्देही मायादेवी गाउँपालिका–४ पविका ४७ वर्षीय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । साथै ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषलाई कलेजो प्रत्यारोपण गरिएको थियो ।

केन्द्रले २०७४ वैशाख २८ गतेदेखि पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अङ्गबाट प्रत्यारोपण सुरु गरेको थियो । हालसम्म केन्द्रमा पाँच जना व्यक्तिबाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको डा श्रेष्ठले जानकारी दिनुभयो ।

डा श्रेष्ठका अनुसार हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गर्छ तर अत्यन्त न्यून सङ्ख्यामा अङ्ग दान हुने गरेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ अनुसार अस्पतालले समन्वय इकाइमार्फत केन्द्रलाई जानकारी दिनुपर्ने प्रावधान भए पनि अस्पतालले जानकारी दिन हिचकिचाहट गर्ने गरेको डा श्रेष्ठले बताउनुभयो ।

“विश्वमा ८० प्रतिशत प्रत्यारोपण दुर्घटनामा परी मस्तिष्क मृत्यु भएकाबाट प्राप्त हुने गर्छ । तर नेपालमा अस्पतालले केन्द्रलाई जानकारी दिन हिचकिचाउने र सर्वसाधरणमा यससम्बन्धी चेतनाको अभावका कारण दान गर्नेको सङ्ख्या न्यून रहेको छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव डा रोशन पोखरेलले जनचेतनाको अभावका कारण अङ्ग प्रत्यारोपणका लागि अङ्ग दान गर्नेको सङ्ख्या बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “मस्तिष्क मृत्युपश्चात् अङ्गदान गर्नसके अन्य रोग लागेका धेरै बिरामीको ज्यान बचाउन सकिन्छ । तर जनचेतना अभावका कारण अङ्गदान गर्नेको सङ्ख्या बढ्न नसक्नु दु:खद कुरा हो । ”

कलेजो प्रत्यारोपणमा डा रोशन घिमिरे, डा ललितकुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकको सहभागिता थियो । मिर्गौला प्रत्यारोपण कार्यमा प्रा डा राकेशकुमार वर्मा, प्रा डा पवन चालिसे, डा दिपेश श्रेष्ठ, डा रविकिरण गौतम, डा हरि बराल र डा रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा र डा रश्मित श्रेष्ठको सहभागिता थियो । रासस