७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता: राष्ट्रपति भण्डारी

लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता: राष्ट्रपति भण्डारी
अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको बताउनु भएको छ ।

दोलखाको चरिकोटमा ग्रामीण विकास टुकी संघद्वारा आयोजित कायृक्रममा राष्ट्रपति भण्डारीले भन्नुभयो प्राचीनकालदेखि नै यो जिल्लाको छिमेकी मुलुक चीनसँग व्यापार विनियमको सम्बन्ध रहेको पाइन्छ । चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको छ । उक्त नाका खोल्न सकेमा यो जिल्ला हुँदै चीन र भारतसँग छोटो दुरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुनेछ । यसबाट दोलखाको मात्र हैन, समग्र नेपालकै विकासमा थप टेवा पुग्नेछ भन्ने मलाई लाग्दछ ।

सम्बोधनको पूर्णपाठ

ग्रामीण विकासको एक फरक अवधारणा सहित दोलखा र सिन्धुपाल्चोक जिल्लामा क्रियाशील ग्रामीण विकास टुकी संघ‚ दोलखा तथा टुकी संघ सुनकोशी‚ सिन्धुपाल्चोकद्वारा आयोजित ‘टुकी प्रदर्शनी कार्यक्रम २०७९’ मा उपस्थित भएर तपाईँहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ ।

यस क्षेत्रका स्थानीय किसान‚ महिला‚ बालबालिका तथा अपाङ्गता भएका व्यक्तिहरूको उन्नयनका लागि अनवरत रूपमा क्रियाशील हुँदै ४५ वर्ष पूरा गरेकोमा म टुकी संघहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

ग्रामीण विकासको ‘टुकी अवधारणा’ अन्तरगत समावेशी सहभागिता‚ समुदाय तहमा संगठन‚ महिला सशक्तीकरण‚ स्थानीय तहबाटै नेतृत्व विकास‚ स्थानीय स्रोत र साधनको दिगो परिचालन‚ सरकारी निकाय तथा विकास साझेदार संस्थाहरूसँगको सहकार्य एवं समन्वयको माध्यमबाट ग्रामीण समुदायको सामाजिक–आर्थिक सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै टुकी संघहरूले मुलुकको विकास प्रक्रियामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएकोमा सराहना गर्दछु । ग्रामीण विकासको ‘टुकी अवधारणा’ को अभ्यासको क्रममा प्राप्त अनुभव र सिकाईहरू नेपालका अन्य क्षेत्रको विकासका लागि समेत उपयोगी हुन सक्दछ भन्ने मलाई लागेको छ ।

भगवान शिव र देवी पर्वतीको बासस्थान मानिने गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्ला इतिहासको आदिकालदेखि राजनीतिक‚ आर्थिक‚ सामाजिक तथा सांस्कृतिक दृष्टिबाट महत्वपूर्ण क्षेत्रको रूपमा रहेको छ ।

प्राचीनकालदेखि नै यो जिल्लाको छिमेकी मुलुक चीनसँग व्यापार विनियमको सम्बन्ध रहेको पाइन्छ । चीनसँगको व्यापारिक सम्बन्ध तथा उत्तर–दक्षिण जोड्ने परम्परागत लामाबगर नाका खोल्नका लागि सार्थक पहलको आवश्यकता रहेको छ । उक्त नाका खोल्न सकेमा यो जिल्ला हुँदै चीन र भारतसँग छोटो दुरीमा त्रिदेशीय यातायात सिधा सम्पर्क हुनेछ । यसबाट दोलखाको मात्र हैन, समग्र नेपालकै विकासमा थप टेवा पुग्नेछ भन्ने मलाई लाग्दछ ।

दोलखा जिल्ला जलस्रोतमा धनी छ । स्वदेशी पुँजीमा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजना र अन्य विद्युत आयोजनाहरूमार्फत यो जिल्लाले देशको विद्युत उत्पादनमा उल्लेख्य योगदान पुर्‍याएको छ । तामाकोशी तेस्रो जलविद्युत आयोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन पहल गर्नु जुरुरी छ ।

जैविक विविधताले भरिपूर्ण हिमाल‚ पहाड र वेशीहरूको धनी दोलखा जिल्ला पर्यटकीय महत्वको जिल्ला पनि हो । हिमचितुवा र रेडपाण्डा जस्ता लोपोन्मुख जङ्गली जनावरको बासस्थान रहेको यहाँका बन जङ्गल र जडिजुटीहरू समुदायको जीविकोपार्जनका स्रोत पनि हुन् । यसका साथै प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय स्थलहरू, विविध जातजाति र समुदायका सांस्कृतिक सम्पदाहरू, प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थलहरू दोलखाको पर्यटन क्षेत्रका दरिलो आधार हुन् ।

दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक भगवती मन्दिर‚ त्रिपुरासुन्दरी मन्दिरका साथै बिगु गुम्बा‚ चरिघ्याङ गुम्बा लगायत बौद्धमार्गीहरूका विभिन्न गुम्बाहरू धार्मिक पर्यटनका लागि महत्वपूर्ण गन्तव्यका रूपमा रहेका छन् । पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधारको विकास गर्दै प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचारप्रचार गर्न सकेको खण्डमा पर्यटन क्षेत्रमार्फत यहाँका जनताको जीवनस्तर माथि उठाउन सकिन्छ । यसका लागि संघीय सरकार‚ प्रदेश सरकार र स्थानीय पालिकाहरूले योजनाबद्ध र समन्वयात्मक पहल गर्न जरुरी छ ।

दोलखा जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा याक, चौरी र भेडापालन व्यवसाय गर्ने किसानहरूका समस्याहरूलाई सम्बद्ध पक्षले उचित रूपमा सम्बोधन गर्ने नै छ । उच्च भेगमा गरिने पशुपालनका लागि चरिचरणमा सहजता, पशु बिमाको सुलभ व्यवस्था‚ उत्पादित वस्तुहरूको ढुवानी र बिक्रीका लागि बजारको व्यवस्था गर्न सम्बद्ध निकायको ध्यान जानु पर्दछ । यसैगरी‚ खाद्य उत्पादनका लागि बर्षेनी मलको अभाव खेपिरहेका किसानहरूको मार्कालाई मध्यनजरमा राख्दै कृषि क्षेत्रमा विशेष सहुलियत र अनुदानको व्यवस्था हुनुपर्छ भन्ने जनआवाजलाई समेत सम्बद्ध पक्षले उचित ध्यान दिनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

यसैगरी, दोलखाको डाँङडुँगेडाँडामा अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माण गर्ने आयोजनालाई सफल बनाउन सम्बद्ध पक्षले आवश्यक पहल गर्नु पर्दछ ।

यस जिल्लामा प्रचुर मात्रामा उपलब्ध प्राकृतिक स्रोतहरूको सदुपयोग, धार्मिक–सांस्कृतिक सम्पदा र पयर्टकीय गन्तव्यहरूको प्रवर्द्धन एवं कृषि उत्पादनमा वृद्धि गरी तिनको बजारीकरण गर्न सकिएको खण्डमा यहाँका जनताको समृद्धिको तीब्र आकाङ्क्षालाई साकार तुल्याउँदै राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा समेत टेवा पुर्‍याउन सकिन्छ ।

विकासका यी समग्र प्रक्रियाका लागि आवश्यक ज्ञान, सीप र व्यावस्थापकीय क्षमतायुक्त दक्ष जनशक्ति उत्पादन गर्न यहाँका विद्यालय तथा शैक्षिक संस्थाहरूमा थप भौतिक तथा शैक्षिक पूर्वाधारको विकासका साथै स्थानीय आवश्यकताअनुरुपको समयसापेक्ष पाठ्यक्रमसहित गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्नेतर्फ सबैको ध्यान जानु पर्दछ ।
अन्तमा‚ यस महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि मलाई निमन्त्रणा गर्नु भएकोमा ग्रामीण विकास टुकी संघ तथा टुकी संघ सुनकोशीलाई धन्यवाद दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।
२०७९ फागुन १८ गते बिहीबार ।