११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

रामपुरमा पन्ध्र शय्याको आयुर्वेद अस्पताल

रामपुरमा पन्ध्र शय्याको आयुर्वेद अस्पताल
अ अ+ अ-

पाल्पा । स्वास्थ्य क्षेत्रलाई व्यवस्थित, भरपर्दो र दिगो बनाउने उद्देश्यले यहाँ स्वास्थ्य संरचना बनाउन थालिएको छ । पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) को केन्द्रमा रहेको रामपुरमा आयुर्वेद स्वास्थ्य सेवालाई विस्तार गर्ने उद्देश्यले स्वास्थ्य संरचना निर्माण गरिएको हो ।

जिल्लामा पन्ध्र शय्याको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण गरिएपछि यहाँका नागरिक उत्साहित भएका छन् । दाङको बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय पछि यो अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो ठूलो आयुर्वेद अस्पताल हो ।

गत माघमा अस्पताल निर्माण गरिएपछि फागुन पहिलो हप्ता निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । अस्पताल सञ्चालनमा आएपछि यहाँका नागरिक लाभान्वित हुने स्थानीय शङ्कर भण्डारीले बताउनुभयो ।

“अस्पतालको संरचना व्यवस्थित छ, अब स्थानीय, प्रदेश र सङ्घीय सरकारमार्फत विशेषज्ञसहितको दरबन्दी, उपकरण तथा औषधिलगायत सामाग्रीको व्यवस्था गरी सेवा दिनुपर्छ”, उहाँले भन्नुभयो ।

आयुर्वेद उपचार पद्दतिलाई विस्तार गर्न रामपुर नगरपालिका–५ स्थित आयुर्वेद औषधालयको भवनलाई स्तरोन्नति गरी १५ शय्याको भवन निर्माणका लागि सङ्घीय सरकारको भवन निर्माण शिर्षकअन्तर्गत रू नौ करोड ५४ लाख ८७ हजार ४८ को लागतमा ठेक्का सम्झौता भएको थियो । रु एघार करोड ३३ लाख ४९ हजार ९३को लागतमा निर्माण गरिएको रामपुर नगरपालिकाका आयुर्वेद शाखा प्रमुख कविराज चेमनप्रकाश पोखरेलले जानकारी दिनुभयो ।

उहाँले आयुर्वेदिक उपचार पद्दतिमा नागरिकको आकर्षण बढ्दै गएको बताउनुभयो । शाखाप्रमुख पोखरेलका अनुसार आयुर्वेदिक औषधालयमा दैनिक २५ देखि ५० बिरामी आउने गरेका छन् । “नयाँ भवनबाट सेवा थप गरी सञ्चालनमा आएपछि स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो । अस्पतालको स्वामित्वमा रहेको १२ रोपनी आठ आना जग्गामा ६८ कोठासहितको तीन तले सुविधा सम्पन्न नयाँ भवन निर्माण भएको छ ।

विसं २०७६ पुस २५ गते ठेक्का सम्झौता गरी फागुनदेखि शिवशक्ति कन्ट्रक्सन प्रालीले निर्माण थालेको थियो । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमीलाई मध्यनजर गर्दै चैत ११ देखि सरकारले अनिश्चितकालका लागि बन्दाबन्दी गरेपछि निर्माणमा असर परेको थियो । बन्दाबन्दी खुकुलो भएपछि २०७७ को मङ्सीरदेखि पुन: भवन निर्माण थालिएको थियो । विसं २०७८ भदौ २४ मा निर्माण गर्ने सम्झौता भए पनि बन्दाबन्दीका कारण समयमै काम हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

आयुर्वेद अस्पतालमा नवौँ तह सम्मका डाक्टर, कविराज, वैद्य, प्राविधिक, कार्यालय सहयोगीसहितले सेवा प्रदान गर्नेछन् । आयुर्वेदिक तथा प्राकृतिक अस्पतालबाट पञ्चकर्म सेवा, आकस्मिक सेवा, ओपिडी, एक्सरे, ल्याबलगायत सेवा सञ्चालन गरिनेछ ।

नगरप्रमुख रमणबहादुर थापाले सुविधा सम्पन्न भवन प्राप्त भए पनि यसको व्यवस्थापन, संरक्षण र सञ्चालनमा चुनौती रहेकाले सरोकारवालासँग छलफल र समन्वय गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । पालिकाभित्र आन्तरिक स्रोतको अभावका कारण अस्पताल सञ्चालनमा चुनौती भएकाले १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नाको विकल्प रहेको उहाँको भनाइ थियो ।

“संघीय र प्रदेश सरकारले आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था गरेर केही बजेट उपलब्ध गराए पालिकाले अपुग बजेट विनियोजन गरेर अस्पताल सञ्चालन गर्न सकिन्छ”, नगरप्रमुख थापाले भन्नुभयो । उहाँले सरकार र पालिकासँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले निर्माण सम्पन्न गर्नु मात्रै उपलब्धि नभई यसको सही सदुपयोग गर्न सके मात्रै स्थानीय तहका लागि उपलब्धि हुने बताउनुभयो । उहाँले यस पद्दतिले मानव स्वास्थ्यमा असर नगर्ने भएकाले आयुर्वेद उपचार थप प्रभावकारी बनाउन सारेकारवाला सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुुभयो ।

विसं २०१७ मा पाल्पामा आयुर्वेद औषधालय स्थापना भएपछि यहाँका नागरिकले सरकारीस्तरको स्वास्थ्य सेवा पाएका थिए । उक्त अस्पताल विसं २०२९ मा अञ्चल आयुर्वेद औषधालयका रुपमा परिणत भई सेवा दिन थालेको थियो । अञ्चल कार्यालयको सदरमुकाम बुटवलमा राख्ने तत्कालीन सरकारको निर्णयपछि २०४३ माघ ६ मा बुटवलमा स्थानान्तरण गरिएको थियो । यो सरकारी क्षेत्रबाट स्थापना भएको पहिलो आयुर्वेद औषधालय हो । उक्त औषधालयलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनेपछि नागरिकले अब सहज स्वास्थ्योपचार पाउनेमा यहाँका स्थानीयवासी ढुक्क छन् ।

तानसेनमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र छ भने रामपुर नगरपालिकाभित्र दुईवटा रामपुर आयुर्वेद र गाँडाकोट आयुर्वेद औषधालय छन् । रैनादेवी छहरा, रिब्दिकोट, बगनासकाली, माथागढी र पूर्वखोला गाउँपालिकामा भने एक/एक आयुर्वेद औषधालय छन् ।

रम्भा गाउँपालिकाले आफ्नै लगानीमा आयुर्वेद औषधालय स्थापना गरेको छ । तिनाउ र निस्दी गाउँपालिकामा प्रदेश सरकारअन्तर्गत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ । औषधालयमा कविराज र वैद्य एक/एक, प्राविधिक दुई, कार्यालय सहयोगी दुई कर्मचारीको दरबन्दी छ ।

साथै ओपिडी, जनरल, स्तनपायी आमा सेवा कार्यक्रम, ज्येष्ठ नागरिकलगायत सेवा प्रवाह भइरहेका छन् । पछिल्लो समय आयुर्वेद उपचारमा नागरिकको आकर्षण बढ्दै गएकाले पनि अस्पतालको स्तरोन्नति आवश्यक देखिएको हो । रासस