एजेन्सी । युरो २०२० अन्तर्गत स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ ।
निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
खेलको सुरुवातदेखि नै बल पोसेसन आफ्नो पक्षमा पारेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो ।
खेलको ६८ औं मिनेटमा स्वीट्जरल्यान्डका जेर्डान शाकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७७ औं मिनेटमा रेमो फ्रेउलेरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्वीट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो ।
अब स्पेनको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग भेट हुनेछ ।