काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिरालोसँग तुलना गर्नु भएको छ । अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि विरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताउनु भयो ।
आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गर्नु भयो । उहाँले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा, देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको पनि दोहोर्याउनु भयो ।
त्यस अवसरमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यसलाई प्रमाणिकरण गर्ने कुरा सम्भव हुने थिएन समेत भन्नु भयो । उहाँले राष्ट्रपति एमालेका उम्मेदवार सुवाष नेम्वाङलाई मतदान गर्न पनि संघ र प्रदेशका सबै सांसदहरुलाई आह्वान गर्नु भयो । राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउनुपर्ने ओलीको भनाई थियो ।
उहाँले भन्नु भयो, ‘घाईते योद्धाहरुको उपचार एमाले गर्छ । सक्दो गर्छ । त्यसका लागि हामी हेल्थ डेस्कै राखेर काम गर्न तयार छौं । त्यसकारण आउनका लागि पनि म आग्रह गर्दछु । यस कार्यक्रमलाई हेरेर पनि तपाईहरु आउन सक्नुहुन्छ । यसको अर्थ हामी सरकारमा कहिल्यै पनि हुँदैनौं भन्ने होइन । मैले ८० सिट हुँदा पनि प्रधानमन्त्रीको लोभ गरिन । जसको पदनै सर्वोपरी छ । त्यस्तालाई पद दिएर जसलाई जे दिँदा हुन्छ त्यही दिएर न हुने हो । त्यसकारण त्यही दिएर हुन्छ भने त्यही दिएर । त्यही पनि ठूलो कचौंरामा दुध र भात दिएपछि विरालो छिमेकी कहाँ जानु अनौठो होइन । के–के छन सर्त थाहा छैन । पछि थाहा हँुदै जाला ।
अहिले किन एमाले खेदिएको छ । म किन खेदिएको छु । उत्तरमा चीन छिमेकी थियो । बाटो थिएन । बाटो खुलाएँ । मैले मिचिएको भूभाग फिर्ता लिनका लागि संविधानको अंग नै बनाई दिए । अब पनि हामीलाई राष्ट्रपति देशका निम्ति संविधान संशोधन गरेर लाँदा त्यतिबेला यदि अहिलेका सम्मानिय राष्ट्रपति नभए भए सायद त्यो संविधान संशोधनलाईं प्रमाणीकरण गरिदैन थियो होला । कतिपय मान्छेले यो नचाहिने कुरा कूटनीति भडकाउने कुरा भन्ने टिप्पणी गरे । हाम्रो भूभाग फिर्ता लिँदा । हाम्रो भूभाग फिर्ता लिने कुरा चल्दा । कूटनीतिक नोट पठाउँदा, हाम्रो भूभाग, हाम्रो नक्सा संविधानले चिन्ने संविधान संशोधन गर्दा त्यसैमा न हो । म नेपाली जनतालाई आग्रह गर्न चाहन्छु–अहिले राष्ट्रपतिको निर्वाचन आईराखेको छ ।
जनमतले नेकपा एमालेको उम्मेदवारलाई समर्थन गर्न पर्छ यसमा । किनभने नेकपा एमालेले काम गर्ने भनेको देशको निम्ति हो, जनताको हो । राष्ट्रको निम्ति हो । राष्ट्रियताको निम्ति हो । राष्ट्रिय हितको निम्ति हो । सार्वभौम सत्ताका लागि, देशको स्वाधिनताका लागि, देशको भौगोलिक अखण्डताका लागि हो । राष्ट्रिय हितको सम्वद्र्धन र संरक्षणका लागि हो । हाम्रो गौरवपूर्ण राष्ट्रिय स्वाभिमान माथि उठाउनका लागि हो । यसका निम्ति एमालेलाई समर्थन हुनु पर्दछ । आफ्ना निम्ति होइन् देशका निम्ति । राष्ट्रपतिको निर्वाचनका लागि मतदाता माननीयजीहरुलाई म आग्रह गर्न चाहन्छु मतदान देशका लागि गर्नुस् । मेरो आग्रह यो हो ।’
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको समेत बताउनु भयो । प्रधानमन्त्री दाहालले सहिद, घाईते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाउनु भयो । ओलीले भन्नु भयो, ‘मैले यो लगभग ५८ वर्षको यो राजनीतिक जीवनमा अलिक सूरु देखिनै मैले यस्ता कुराहरु देख्दै आउनु पर्याे । सुन्दै पनि आउनु पर्याे । म सँगसँगै काम गरिरहेका साथीहरुलाई जेलबाट निकालेर जनयुद्धको नाममा पुष्पकमल दाहाल प्रचण्डले एउटा नयाँ हिंसाको अभियान सुरु गर्नु भयो । त्यसक्रममा जनताको तर्फबाट र राज्यतर्फबाट थुप्रै मानिसहरुको हत्या भयो । अमानवीय ढंगले हत्या भयो । आज यहाँ चर्चा गरिएका अनेक मानिसहरु जसलाई हामीले सम्मानित गर्यौँ । मैना सुनुवारको उद्धाहरण दिन सक्छौं । अथवा यदु गौतमको उदाहरण दिन सक्छौं हामी ।
गिरफदार गर्नै, हत्या गर्ने, त्यही कुरा लमजुङका एक जना शिक्षकको कुरा होस् । अथवा खोटाङक शिक्षक गुरु लुइटेलको कुरा होस् । महिनौसम्म अपहरण गरेर अत्यन्तै अमानवीय निर्मम ढंगले हत्या गर्ने जस्ता कामहरु भए । जो नेपालका लागि कसैलाई दुख्ला, कसैलाई नदुख्ला । तर नेपाललाई दुख्छ । नेपाली जनतालाई दुख्छ । नेपाल देशलाई दुख्छ । र, त्यसको घाउ अझै पनि छँदैछ । त्यसका शासक शासनका कार्यकारी ठाउँमा छन । लामो समयदेखि लगातार कमसेकम संविधान निर्माण, पहिलो २०६२/६३ को आन्दोलनपछि देखिनै सरकारमा छदैछन । यति निरन्तर ढंगले सायद २०६२/६३ को आन्दोलन भन्दा पछि कोही पनि त्यति लामो समय निरन्तर सत्ता पक्ष भईराखेको छैन होला । जता जोसँग मिलेर भएपनि सत्तामा हुने । एउटा प्रवृत्ति के देखिन्छ भने विरालो किन्नु पर्दैन ।
दुध र भारत कचौरामा दियो भने छिमेकीको विरालो आफ्नै भईहाल्छ भन्ने । कसले कचौरामा कति दुध भात दिन्छ, त्यस अनुसार फुत्रुक छिमेकीका घरतिर सर्ने । त्यस प्रवृत्तिले सरकारमा हुनु, सरकारको नेतृत्व गर्नु यो शिलशिला जारी छ । परिवारका मान्छे धनि नै भएका होलान । भान्जाभान्जी पनि राम्रै ठाउँमा पुगेका होलान । भाई भतिजा पनि राम्रै ठाउँमा पुगेका होलान । छोरी–ज्वाई पनि राम्रै ठाउँमा पुगेका होलान । तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन ? सहिदका परिवार सम्झनु भएको छ कि छैन ? आफ्नै स्वार्थ, आफ्नै परिवारमात्रै सम्झनु हुन्छ कि अरुलाई नि सम्झनु हुन्छ ? उहाँले चलाएको जनयुद्ध उहाँलाई सम्झना छ कि छैन ? कसका विरुद्ध किन जनयुद्ध चलाउनु भएको थियो ? यसबीचमा एउटा प्रयास गरिएको थियो । देशमा लोकतान्त्रिक, देशभक्त सरकार बनाऊ ।
लोकतन्त्रका निम्ति काम गरौं । स्वच्छताका साथ काम गरौं । पारदर्शिताका साथ काम गरौं । जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौं । देशको समय मात्रै बर्बाद नगरौं । आफ्ना स्वार्थमा केन्द्रित हुने होइन । जनताका समस्या समाधान गर्नेगरी अगाडि बढौं । यो प्रयास गरियो । तर पुष्पकमल दाहालजीको बेग्लै छ । उहाँ बोल्नु हुन्छ, भाषा बेग्लै गर्नु हुन्छ । काम अर्कै । हेर्नु देब्रेपटि हुन्छ, निशाना दाहिने पटि हुन्छ । अस्तीका दिनसम्म पनि मसँग छकाउने भाषा, यद्धपि मैले पुष्पकमल दाहाललाई नचिनेको होइन । तर मैले सुनिरहे उहाँको कुरा । उहाँले मलाई छकाई रहनु भयो । उहाँ हातमा चक्कु लिएर बस्नु भएको थियो । तर मलाई भन्नु भयो–फूल लिएर बसेको छु, तपाईलाई भ्रम नपरोस् । मैले फूल लिएको हो हातमा । यो चक्कुजस्तो देख्नु भयो होला तपाईले । भ्रम हो यो । यो चक्कु होइन, फूल हो भन्नु भयो ।
तपाईले भने पनि फूलै हो नि । किन होइन ? भन्दै बसे म । तर मेरो आँखाले धोका खाएको थिएन । उहाँ ढाँटन, छकाउन अप्ठयारो मान्नु हुन्न । धोका दिन अप्ठ्यारो मान्नु हुन्न । जनतालाई धोका दिनु भयो । सहयोद्धाहरुलाई धोका दिनु भयो । आफूलाई त्यस ठाउँमा पुर्याउने योद्धाहरुलाई धोका दिनु भयो । आफूलाई त्यस ठाउँमा पुर्याउन जीवन दिने सहिदहरुलाई धोका दिनु भयो भने मलाई धोका दिनु कुन ठूलो कुरो भो र ? कुनै ठूलो कुरा होइन ।
अहिले फेरी एउटा नयाँ हिजो उहाँले भन्नु भयो–२ महिना कस्तो गाह्रो भएको थियो । साँच्चै गाह्रो भएको थियो उहाँलाई । हरियो देख्नै नहुने दाम्लो चुडाँएर जाने खोज्ने, मैले रोक दिने । गाह्रो त गाह्रो परेको थियो उहाँलाई । दाम्लो छिनालेर जान खोज्ने । झ्याप्पै मुख लगाउन खोज्ने । तान्दिएपछि गाह्रै थियो । मलाई थाहा थियो– उहाँ टिक्न सक्नु हुन्न । अव उहाँका गतिविधि निर्वाध चल्न पाउने । त्यो त मसँग काम गर्दा काले–काले मिलेर भाले गर्न सक्दैनौ । त्यसकारण त्यस्तो जहाँ हुन सक्छ, त्यतै जानु उहाँका लागि सायद अनिवार्य थियो । अहिले केही नभनौं ।’
ओलीले दाहालले बेवास्ता गरेका जनयुद्धका घाईतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने भन्दै आउन पनि आग्रह गर्नु भयो । आफ्नो पार्टीले हेल्थ डेस्कनै राखेर उनीहरुलाई सकेको उपचार गर्ने उहाँको भनाई थियो ।