• ९ असार २०८१, आईतवार
  •      Sun Jun 23 2024
  •   Unicode
Logo
Latest
★   कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य ★   कर्णाली र सुदूरपश्चिमबाहेकका प्रदेशमा आज ठूलो पानी पर्ने ★   प्रतिनिधिसभाको बैठकबाट आजै बजेट पारित गर्ने तयारी ★   बेल्जियमले रोमानियालाई हरायो ★   टर्कीलाई हराउँदै पोर्चुगल युरो कपको अन्तिम १६ मा प्रवेश ★   टी–२० विश्वकपः बंगलादेशलाई हराउँदै भारत सेमिफाइनलको दौडमा बलियो ★   चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने ★   उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन–पोखरा सडक अनुगमन ★   पनौतीमा देवताबीच यौनिकता दर्शाई हिलेजात्रा सम्पन्न ★   जब सभामुख घिमिरेसँग विद्यार्थीले संसदीय मर्यादाको कुरा गरे…

नख्खु–बुङमति सडक: पाइप व्यवस्थापन पछि कालोपत्र गरिने



काठमाडौँ । नख्खु उकालोका क्षेत्रमा पुराना पाइप व्यवस्थापन पछि सडक कालोपत्र गरिने भएको छ ।

निर्माणका क्रममा पुराना जीर्ण पाइप भेटिएपछि केही महिना पहिले सडकको कालोपत्र अवरुद्ध बनेको थियो । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिमटेडसँग समन्वय गरेर पाइप सडकको किनारामा सार्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नख्खुमा पाइप फुटेको ठाउँमा अहिले पाइपलाइनको स्थानान्तरण र मर्मत भइरहेको आयोजनाका प्रवक्ता महानन्द जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “पाइपको काम सकिएपछि सडक कालोपत्र गरिनेछ ।”

निर्माण कम्पनीले सडक कालोपत्र गर्नका लागि आवश्यकपर्ने निर्माण सामग्री झारिसकिएको छ । पहिले ‘सबबेस’ हाल्न लाग्दा सडककोबीच भागमा झण्डै एक सय वर्ष पुराना पाइप फुटेको भेटिएको उहाँले बताउनुभयो । अहिले झण्डै आठ सय मिटर लम्बाइको सडक खानेपानी पाइपका कारण कालोपत्र गर्न ढिलाइ भएको छ । यस क्षेत्रमा सडकको चौडाइ झण्डै १६ मिटर उपलब्ध रहेको छ । भैँसेपाटी आवास क्षेत्र नजिकै समस्या रहेकाले पनि यहाँ भइरहको ढिलाइमा धेरैले चासो देखाएको पाइन्छ । उपत्यकाका धेरै सडकमा सयौँ वर्ष पुराना पाइप रहेका छन् । कहाँ कुन स्थानमा कति पुरानो पाइप छ, भन्ने लिमिटेडसँग समेत जानकारी छैन ।

भेटिएको पाइप व्यवस्थापन भए पनि आगामी दिनमा पुन: नयाँ ठाउँमा पुरानो पाइपलाइन भेटिन सक्ने प्रवक्ता जोशीले बताउनुभयो । अहिले तत्कालका लागि भेटिएको पाइप स्थानान्तरण र मर्मत गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाइप सडककोबीच भागमा हुँदा बढी क्षति पुगेको कारण अहिले पैदलयात्रु मार्गबाट हालिएको छ ।”

निर्माण सुरु भएको लामो समयसम्म विस्तार हुन नसेककै कारण सडक निर्माण ठप्प बनेको थियो । अहिले सरकारको निर्णयका आधारमा उपलब्ध चौडाइमा कालोपत्र भइरहेको छ । जति उपलब्ध छ त्यतिमै काम भइरहेकाले तत्काल सडकमा अवरोध नभएको उहाँले बताउनुभयो । विस्तारको काम भइरहेको नख्खुबाट चुनीदेवीसम्म झण्डै पाँच किमी लम्बाईमध्ये कति चौडाइ उपलब्ध भएको छ भने कतिपय स्थानमा संरचना नहटाइएकाले चौडाइ कम रहेको छ । पहिले ठेक्का सम्झौता हुँदा चौडाई २० मिटर कायम गर्ने गरी सम्झौता भएको थियो ।

अहिले आयोजनाले चौडाइ उपलब्ध हुने खण्डमा मात्रै सडकसँगै आबश्यक संरचनाको निर्माण गरिरहेको छ । बुङमतिसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गाको उपलब्ध नहुँदा बनाउन नसकिएको उहाँले बताउनुभयो ।

अहिले सोह्खुट्टेमा घर भत्काइरहेको र चुनीखेलमा पाटी, पर्खाल र एउटा कुखुरा फार्म भत्काएर चौँडा बनाउन लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चौडा बनाएर ह्मिपाइप हाल्ने, पैदलयात्रु मार्ग बनाउने र त्यसपछि मात्रै कालोपत्र गर्ने योजना छ ।” सो सडकमा ठाउँठाउँमा गरी झण्डै दुई किमीमा कालोपत्र गर्न बाँकी छ । पटक–पटक अवधि थप भइरहेकोमा पछिल्लो पटक आयोजनाले आगामी महिनासम्मका लागि अवधि थपेको थियो ।

केही समय क्रसर उद्यमीको हड्तालका कारण काममा अवरोध पुगेको प्रवक्ता जोशीले बताउनुभयो । केही समय पहिलेसम्म निर्माण सामग्री पाउनै समस्या भए पनि अहिले केही सजिलो भएको उहाँले बताउनुभयो । पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्वीकृति लिएर कामअघि बढाइएको प्रवक्ता जोशीले बताउनुभयो ।

सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरु कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने व्यवस्था छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमी र भैँसेपाटी–बुङ्मति एक दशमलव ५५ किमी रहेको छ ।

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौता भएको आयोजनाले जनाएको छ । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस