२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षाको माग आधुनिक, शैली भने पुरानो !



अ+ अ-

काठमाडौं । कथा हिजोको हो। तर आज पनि खासै फरक छैन। कोरोनाले सताएको पनि डेढ वर्ष भैसकेको छ। तर हिजोको कथा र आजको व्यथा जस्ताको तेस्तै छ। क्यालेण्डरमा महिना, वर्ष पल्टिएपनि दैनिकी भने त्यही स्थीर भएकोछ। यो गुनासो मेरो मात्र जस्तो लाग्छ। तर म जस्ता कयन् शिक्षकहरुलाई सोध्दा मेरै कथा दोहोर्याइरहेका हुन्छन्। सायद अब अनुमान लगाउन सक्नु हुन्छ होला कि मेरो व्यग्रता के हो भनेर।

कुरा हो, अनलाइन कक्षाको। भौतिकरुपमा कक्षाकोठा छिर्दा जुन उत्साह उमंग हुन्थ्यो, आज लाग्छ वाग्मतीमा विसर्जित भैसकेको छ। क्लास भएको दिन विहानदेखि नै जीउ केही उकुसमुकुस भएको जस्तो । अनि आफैं मनमनै भन्छु, आज पनि सधैंजस्तै ल्यापटपमा चित्रित विभिन्न भगवानका चित्र अगाडि बसेर वरदान मागिरहेको छु। भगवानले त सुन्छन् सुन्दैनन् थाहा छैन तर म भने आफूलाई सान्त्वना दिन्छु कि जिम्मेवारी लिएको कोर्स पूरा हुँदैछ।

मैले यसो भन्दै गर्दा यो नसोच्नुस् कि दोष विध्यार्थीहरुको हो। न त शिक्षकको नै। न स्कुल, कलेजको। यस लेखको मनसाय कसैलाई दोषी ठहर्याउनु हैन। यस लेखद्वारा नै म शिक्षामा सरोकार राख्नेहरुलाई विनम्र अनुरोध गर्न चाहान्छु कि नदीले मात्र हैन समयले पनि आफ्नो  बाटो बदलेको छ। नदीले बाटो बदल्दा त्यहाँको भौगोलिक नक्सा परिवर्तन गरिदिन्छ। तर समयले बाटो बदल्दा संपूर्ण संरचनामा परिवर्तन खोज्दछ। त्यसमा शिक्षा मात्र कसरी अछुत रहला ?

कुरा ७ दिन अगाडिको हो। सधैंझैं अनलाइन कक्षामा प्रवेश गरें। उपस्थिति पाना हेर्दा एकाध वाहेक सबै विध्यार्थी उपस्थित छन् जनाउ दिएको छ। तर प्रश्न सोध्दा मुस्किलले १० जनामात्र अन्तरकृया गरिरहेका छन्। त्यसपछि मैले पढाउन रोकेर विषयवस्तु नै बद्लिएर हाल चलिरहेको अनलाइन कक्षाको बारेमा उनीहरुको राय सुझाब सोध्न थाले। त्यसपछि त केही समय अगाडि सुतिरहेका विध्यार्थी सबै एउटा अदृष्य शक्तिले उर्जावान् बनाएझैं हात उठाउन थाले।

मलाइ पनि लाग्यो शायद अहिलेको समयमा विध्यार्थीको मनोवृत्ति नबुझी सिकाइ संभव छैन। त्यसैले केही दिन विध्यार्थीहरुसंग नै छलफल गरेर उत्प्रेरणाका श्रोत पत्ता लगाउने विचारले “सहभागितामूलक छलफल” को नाम दिएर संवाद सुरु गरे। करीव दुइ सय विध्यार्थीसंगको छलफलले पक्कै पनि केही उपाय निस्किने छ भन्ने आशा थियो। चार दिनको छलफलबाट निस्केका सन्तुष्टि र असन्तुष्टिका गाथाहरु यसप्रकार छन् :

सन्तुष्टिको पाटो

  • कोभिड-१९ को सङ्क्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न भौतिक पठनपाठन संभव नभएसम्म अनलाइन कक्षा नै एकमात्र वैकल्पिक माध्यम रहेको र त्यो प्रभावकारी रुपमा संचालन गर्न सकेको। 
  • सहरी क्षेत्रमा वसोवास गर्ने भएकोले इन्टरनेट, डिजिटल प्रविधिको केही हदसम्म पहुँच भएकोले पढाइमा असर नपरेको।

असन्तुष्टिको पाटो

  • विशेष गरि ग्रामीण क्षेत्रहरूमा  इन्टरनेट त परको कुरा  बिजुलीको  समेत सुविधा नभएकोले त्यस्ता कक्षा आंशिक रुपमा मात्रै प्रभावकारी हुन सकेका छन्।  
  • कक्षाहरु बिना पूर्वाधार र योजना नै नबनाइ संचालनमा लग्दा लामो घण्टासम्मको कक्षाहरु पट्यारलाग्दो भएको।
  • घण्टौंसम्म ल्यापटप, मोबाइल हेरेर बस्दा अनेक प्रकारको शारीरिक र मानसिक समस्याहरु देखिन थालेको।
  • भौतिक कक्षाबाट अनलाइनमा स्थान्तरण त भयौं तर सिकाइमा सहजीकरण परंपरागत नै रह्यो।
  • आम्दानीको श्रोत ठप्प भएको अवस्थामा अनलाइन कक्षाले वृद्दि गरेको खर्च – इन्टरनेट, ल्यापटप, स्मार्टफोन जुन कुनै समयमा विलासिताका वस्तु मानिन्थे भने कोभिडले अत्यावश्यक बनाइदिएको छ।
  • प्रयोगात्मक कक्षाहरु कसरी चलाउने त्यसको व्यवस्थापन अर्को चुनौति देखिएको छ। 

कोभिडले सिकाएको एउटा पाठः भैपरि आउने आकस्मिक विपत्तिले चुनौतिको संगसंगै अवसरलाई पनि जोडेर ल्याएको हुन्छ। त्यस अवसरलाई भिन्न सोच, भिन्न तरीकाले बुझ्नपर्छ। हिजो जे सही थियो त्यो आज नहुन पनि सक्छ। हिजो जुन विधि प्रकृया सर्वश्रेष्ट मानिन्थ्यो त्यो आज काम नलाग्ने हुन सक्छ। त्यसैगरी हिजोको पाठ्यक्रम, हिजोको विषयवस्तु, हिजोको ज्ञान, हिजोको विधिप्रकृया, हिजोको सिकाइ आज एक इतिहासभन्दा बढी केही नहुन सक्छ।

ज्ञान र सीप सिकेर आफ्नो भविष्यको सपना पूरा गर्ने उदेश्य राखेका केटाकेटी र युवाहरु अहिले कोभिडले गर्दा अलपत्र परेका छन्। एकातिर शिक्षा प्रभावकारी ढंगले सुचारु हुन पाएको छैन। अर्कोतिर हिजो सिकेको ज्ञान र सीपहरु आजको परिस्थिति र रोजगारीको लागि आवश्यक पर्ने सीपहरूको बीच बढ्दो बेमेलको सामना गरेको बताउँछन् युवाहरु।

कोरोना कहरले आवश्यकता र अवसरलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने परिस्थिति सिर्जना गरिदिएको छ। हिजो मोवाइल फोन कक्षाकोठामा लैजान अनुवन्दित थियो भने अहिले सिकाइको अत्यावश्यक साधन बनेको छ। हिजो इन्टरनेट सर्वसामान्यका लागि व्यक्तिगत प्रयोग र मनोरन्जनको लागि चलाइन्थ्यो भने अहिले विध्यार्थीको भविष्य, विविध व्यापार व्यवसायको अभिन्न अंग बनेको छ। नयाँ-नयाँ व्यवसाय र रोजगारीका प्लेटफर्म बन्दै गएको छ।

यो क्षण मानवजीवनमा युग परिवर्तनको लागि सोच्नुपर्ने क्षण बन्दै गैरहेकोछ। भोलिका मानव संसाधनको तयारी आजको योजना, योजनाको कार्यान्वयनमा भर पर्नेछ।  यो समय एकातिर शिक्षाको निरन्तरता एउटा अहम् प्रश्न त छँदैछ। साथै शिक्षालाई समयनुरुप सीपयुक्त रुपान्तरण के, कसरी गर्ने बारे पुनःकल्पना गर्ने महत्त्वपूर्ण अवसर पनि हो। 

यो समस्या केवल सरकार व्यवसायी वा शिक्षण संस्थानहरुले मात्र समाधान गर्न सक्दैनन्। यसका लागि युवाहरुको मत, विचार, तर्क के छ जान्नु पनि उत्तिकै जरुरी छ। त्यसै उत्सुकताले उत्प्रेरित भएर मैले अहिले पढाइरहेको आफ्ना करीव २०० युवा विध्यार्थीहरु, बाहिर बसेर पढ्दै र काम पनि गर्दै गरेका केही पुराना विध्यार्थीहरुसंग कुरा गरेको थिएं। यसरी नेपालभित्र र बाहिर रहेका युवाहरूलाई एकै ठाउँमा ल्याएर भर्चुअल कनेक्सनद्वारा कसरी उनीहरूका आवश्यकताहरू पूरा गर्न हामी शिक्षा र सीप प्रणालीहरूको पुनस् डिजाइन र पुनस् कल्पना गर्न सक्दछौं भन्ने बारेमा उनीहरूका विचारहरू सुन्ने मनसायले। 

प्रश्न “कस्तो शिक्षारु” मात्र राखेको थिए, सबैतिरबाट “आधुनिक सीपयुक्त, तर पुरानो शैलीको पाठ्यक्रममा आधारित भएर हैन” भन्ने जवाफ आयो।
त्यहाँ वितृष्णा थियो।  स्कूल र कलेजहरूमा अहिले दिइने शिक्षाले समयसापेक्ष सही सीपले सुसज्जित गर्न सकेको छैनन्। साथै सिकाइ पनि यथास्थित परंपरागत छ। डिजिटल प्रविधिले संसार हाँकेको समयमा कति प्रविधिको पहुँचबाट बंचित छन् भने कति प्रविधिमा पहुँच भएर पनि भरपुर सदुपयोग गर्न सक्षम बन्न सकिरहेका छैनन्।

हुनत पाठ्यक्रम समय, काल र परिस्थिति अनुरुप परिमार्जन हुँदै जानुपर्ने हो। पाठ्यक्रम शिक्षाको मेरुदण्ड र सिकाइ मुटु। यी दुवै कमजोर, काम नलाग्ने, जीर्ण भएपछि शिक्षा कसरी तन्दरुस्त होलारु कसरी चुनौतिसंग लड्न सक्लारु युवाहरुको यस असन्तुष्टिले मलाइ पनि झक्झकाएको छ। के हामी शिक्षकको कर्तब्य होइन परिमार्जित पाठ्यक्रमको पैरवी गर्नुपर्नेरु शिक्षासंग संबन्धित सबैले जान्न जरुरी छ कि नयाँ टेक्नोलोजीबाट संचालित सिकाइ पुरानो पाठ्यक्रमले न्याय दिन सक्दैन। कोभिडले दैनिकी नै उथलपुथल बनाएको समयमा ढुक्क भएर आधुनिक साधन तर पुरानो विधि प्रकृयाबाट सिकाउन खोज्दा विध्यार्थी रुष्ट हुनु अस्वभाविक होइन। अनि हामी शिक्षकहरुको गुनासो पनि कम हुनुभन्दा बढ्दै जानेछ।

फेरिपनि पाठ्यक्रम र भोलि निस्किने मानव संसाधनको प्रत्यक्ष संबन्ध रहेको छ। पाठ्यक्रम कस्तोरु विषयमा स्थानीय परिवेश अनुरुप भनिएको पाइन्छ। विध्यार्थी शिक्षक, शिक्षासंग सरोकार राख्ने पनि भनिएको छ। अर्को छुट्याउनै नहुने पक्ष भनेको व्यापार व्यवसायीहरु पनि हुन्। अचम्म लाग्नसक्छ, शिक्षामा व्यापारी व्यवसायीहरुरु तर उत्तर सरल छ, चित्तबुझ्दो पनि। जसले रोजगारी सिर्जना गर्छ उसैलाई अबको सीपयुक्त शिक्षा कस्तो थाहा हुन्छ, सुझाव दिनसक्छ। त्यसैले शैक्षिक संस्थानहरु र शिक्षकहरुलाई शिक्षामा हाल विध्यमान् कमी अनूसुचन गर्ने अहम् भूमिका  निर्वाह गर्न पनि पाठ्यक्रम निर्माणमा व्यापारी व्यवसायीहरुको सहकार्य अत्यावश्यक देखिन्छ। युवाहरुको विचारहरु सुन्दै जाँदा केही ठोस पक्षहरुले मेरो ध्यान खिचेको थियो ।

आधुनिक सीप शिक्षा, पुरानो पाठ्यक्रम
२० औं शताब्दीको मानसिकताले २१ औं शताब्दीका युवाहरुलाई सिकाउँदा शिक्षक र विध्यार्थीको सोचबीच १०० वर्षको अन्तर  महसुस गरें। आधुनिक शिक्षाले, समयले र युवाको सोचले मारेको फड्को नाप्ने सक्षमता हामीमा विकास हुन सकेन। कसैकसैले धेरथोर नाप्ने कोशिस गरेता पनि त्यो अन्तर कम गर्ने उपकरणको ज्ञान अझै खड्केको छ।  

जीवनमुखी सीप, अनिवार्य
मानव जीवनलाई सुखी खुसी बनाउन चाहिने सीप वा सक्षमता भनेको नै जीवनमुखी सीप हो। यसले जीवनयापन सिकाउने मात्र नभइ “ म को हुँ र म के चाहान्छुरु” बुझ्न र मनन गर्न सक्षम बनाउँछ। विभिन्न कलेजहरुमा पढाउने काम संगसंगै  जीवनोपयोगी शिक्षा र आजीवन सिकाइको अध्येताको हैसियतले पैरवी गर्दै आएको छु। त्यसैले म मेरा विध्यार्थीहरुसंग पनि यी सीपहरुबारे बेलाबेलामा चर्चा गरिरहेको हुन्छु। यस छलफलका क्रममा सहभागी युवाहरु सहमत भए कि भविष्यमा सफल र सुखी हुनको लागि, उनीहरूको पुस्तालाई यी जीवनमुखी सीपहरू जस्तै संचार, आलोचनात्मक सोच, सिर्जनशीलता, समानुभुति, आवेग व्यवस्थापन, स्व-सचेतना र लचिलोपनको आवश्यकता पर्दछ। साथै यो सिकाइ जीवनपर्यन्त चलिरहन्छ। 

जब नीति निर्धारित हुदैन र नियम समुदायको एक विशेष पक्षमा हुन्छ। त्यस्तो अवस्थामा प्रतिकुलतामा अनुकुलता खोज्न  आफ्नो दक्षता जान्न आवश्यक हुन्छ। अबको समयमा उच्चस्तरीय शैक्षिक ज्ञान, प्राविधिक मानवीय सीपहरुलाई मात्र सीपको रुपमा पहिचान र मुल्यांकन गरिनु सही हुदैन। कोभिडले सफलतालाई नाफा कमाउनुसंग मात्र सीमित नरही नयाँ र अधिक जिम्मेवार अर्थतन्त्रतिर मोडिनेछ।  र यो हासिल गर्न माथि उल्लेखित जीवनमुखी सीपहरुको आवश्यकता पर्दछ। 

डिजिटल कनेक्टिभिटि र डिजिटल सिकाइ

यो संकटले हामीलाई सिकायो कि अनलाइन शिक्षा सम्भव छ। यो पनि हामीलाई सिकाइएको छ कि कसरी सीप आदानप्रदान र्ने। कसरी सिकाउन र सिक्न अनलाइन उपकरणहरूको समुचित  प्रयोग गर्ने।

छलफलको दौरान अर्को विषयवस्तु जुन प्रबलताका साथ आएको थियो, त्यो हो, डिजिटल कनेक्टिविटी र अनलाइन शिक्षाको सम्भाव्यता। जुन संसारभरका युवाहरूका लागि अवसरहरूको पहुँच विस्तार गर्ने थियो। जसरी मैले यस छलफलमा देश-विदेशमा रहेका युवाहरुलाई एकै समयमा एकत्रित गर्न संभव भएं। त्यसरी नै भविष्यमा कस्तो सीप शिक्षाबारे प्रवीधिका विभिदतालाई समेट्नु पर्छ।

अनलाइन सिकाइलाई अझ सुधार गर्दै लैजानुपर्छ। तर त्यसको लागि सबैभन्दा पहिले प्रत्येक युवासंग सेलफोन र इन्टरनेटमा पहुँच सुनिश्चित हुनुपर्छ। यो संभव गर्न सकियो भने सुखी भविष्यका लागि सीप सिकाइको उत्तम तरीका सावित हुनेछ।

सिमान्तकृत र विपन्न समुदायसम्म पहुँच

अबको शिक्षाको योजनामा सहरी क्षेत्रबाट युवाहरुलाई दुर्गम ठाउँमा इंटर्नशिप पठाउनुका साथै त्यहीँका युवाहरुलाई पनि सामेल गराएर उनीहरुलाई पनि लाभान्वित हुने खालको परियोजनाहरु बनाउनुपर्छ। अनलाइन कक्षालाई विकल्प भनेर भाषण गर्ने तर सबैको पहुँचका कुनै ठोस पहल नगर्दा शिक्षाबाट बंचित त छन् नै सिमान्तकृत र विपन्न युवाहरु, संगसंगै सामाजिक, भौतिक प्रताडना व्यहोर्न पनि परिरहेको छ।  त्यसैले पनि भौतिक भेट संभव नहुन्जेल र संभव भएपछि पनि भर्चुअल भेटबाट सिकाइ आदानप्रदान गरेर सीप विकास गर्ने योजना अति नै आवश्यक देखिन्छ।

अन्त्यमा, कोरोना संकटले राजनीतिक, आर्थिक र सामाजिक अवरोधहरू निम्त्याएको छ। विशेषगरी परंपरागत निर्णय प्रकृयामा यसले वृहत् परिवर्तन ल्याएको छ। स्वास्थ, अर्थ व्यवस्थादेखि शिक्षा, सामाजिक संबन्ध जस्ता बहु आयामिक प्रणालीहरुको विसंगति, अपर्याप्तता र विरोधाभासहरू जीवन, आजीविका र वातावरणीय न्यायको लागि चिन्ता विश्व परिप्रेक्षको बीचमा पहिले भन्दा बढी उजागर भएको छ।जसलेगर्दा अहिले समाजका नेतृत्व पक्षहरु यस्तो मझधारमा उभिएका छन् जहाँबाट उनीहरुले भविष्यमा आइपर्ने मध्यम तथा दीर्घकालिन अनिश्चितता र संकटहरुको छोटो अबधिमा नै सही निर्णय लिन सक्नुपर्ने दवाब बढ्दै गैरहेको छ। 

पुन प्राप्तीलाई आकार दिन हामी यस्तो कालखण्डमा प्रवेश गर्दैछौं जहाँ विश्वव्यापी सम्बन्ध, राष्ट्रिय अर्थतन्त्रहरूको दिशा, समाजका प्राथमिकताहरू, व्यवसायका मोडेलहरूको प्रकृति र व्यवस्थापनको निर्धारण गर्न लेन्स नै सुधार्नुपर्ने हुन्छ। भविष्यदृष्टि र विशेषज्ञतामा वृद्दि गर्न कुशल नेतृत्व, दूरदर्शिता ठूलो प्रश्न पनि हो र चुनौतिका साथै अवसर पनि।