२६ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किर्ते सवारी पास र उक्त सवारी पास बनाउने उपकरण सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

बारा । किर्ते सवारी पास र किर्ते सवारी पास बनाउने उपकरण सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका-४ स्थित दाईभाई फोटो स्टुडियो एण्ड जनरल स्टोरका संचालक कलैया उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय गोपाल प्रसाद साह र ना.१ ज ७२८८ नम्बरको सुमो गाडीका धनी सोही उपमहानगरपालिका-१७ बस्ने २१ वर्षीय जयनारायण प्रसाद जैसवाल रहेका छन् । 

जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाडौंतर्फ जाँदै गरेको उक्त गाडीको कागजातहरु जाँच गर्ने क्रममा जयनारायणसँग जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखत समेत किर्ते गरी बनाइएको नक्कली सवारी पास सहित फेला पारी प्रहरीले पक्राउ गरेको थियो । 

 थप अनुसन्धानको क्रममा उक्त किर्ते पास गोपाल प्रसादको फोटो स्टुडियोबाट बनाएको खुल्न आएपछि उक्त स्टुडियो तलासी गर्दा ३ थान नक्कली सवारी पास तथा उक्त पास बनाउन प्रयोग गरिएका २ थान प्रिन्टर, १ थान सिपियू र १ थान मनिटर सहित फेला पारी गोपाल प्रसादलाई पक्राउ गरेको हो । 

 उनीहरू उपर लिखत सम्बन्धी कसूर (किर्ते मुद्दा)मा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।