२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनामा बुढेसकालको सहारा खोसिएपछि…



अ+ अ-

रुपन्देही । बुढेसकालको एकमात्र सहारा पोखरा विमान दुर्घटनामा गुमाउनुपरेपछि तिलोत्तमा–४ डिङ्गरनगरका पदमबहादुर बुचामगर र सूर्यकुमारी बुचा सम्हालिन सक्नुभएको छैन ।

पोखरास्थित ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत छोरा ३६ वर्षीय डा गणेश थापाको आइतबार विमान दुर्घटनामा निधन भएपछि डिङ्गरनगरस्थित बुचा दम्पतीको घर र सिङ्गो तिलोत्तमा शोकमा छ । आफ्नी श्रीमती र छोरीलाई भेटेर हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यति एयरलाइन्सको जहाजबाट उडेका डा थापा पोखरा विमानस्थलमा ओर्लन नपाउँदै दुर्घटनामा परे ।

चिकित्सकसमेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षीय छोरीलाई काठमाडौँमा भटेर फर्किएका थापाको यो नै परिवारसँगको अन्तिम भेट भयो । बिदाको समयमा श्रीमती र छोरीलाई भेटेर आइतबार पोखरा फर्किँदै गरेको अवस्थामा थापा दुर्घटनामा पर्नुभएको थियो । विमान दुर्घटनामा छोरा परेको खबर सुन्नासाथ पदमबहादुर र सूर्यकुमारीका आँसु रोकिएको छैन ।

बुचा दम्पतीका दुई सन्तानमध्ये डा थापा कान्छो सन्तान हुन् । थापाकी दिदी काठमाडौँमै हुनुहुन्छ । तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीका अनुसार सोही वडाकै सिद्धार्थ बोर्डिङ स्कुलबाट एसएलसीसम्म अध्ययन गरेका थापाले बुटवलस्थित ग्लोरियस कलेजबाट प्लस टुसम्मको अध्ययन गर्नुभएको थियो ।

प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबिबिएस र अस्ट्रेलियाबाट एमपीएच अध्ययन पूरा गर्नुभएको थियो । केही वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेपछि उहाँ पछिल्लो केही वर्षयता ब्रिटिस वेलफेयर अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।

बुबा पदमबहादुर र आमा सूर्यकुमारीले छोरालाई डाक्टर बनाउने सपना पूरा भएको खुसी धेरै वर्ष टिक्न पाएन । छोरालाई डाक्टर बनाउन सानो खर्चले नपुग्ने भएपछि थापाका बुबा पदम वैदेशिक रोजगारीका लागि जर्मनीसमेत जानुभएको थियो । छोरा चिकित्सक बनेपछि भने उहाँ वैदेशिक रोजगारीबाट फर्किएर घरमै बस्दै आउनुभएको थियो । छोराको कमाइ खाएर आराम गर्ने समयमा बुचा दम्पतीको परिवारमा बज्रपात परेको छ । एकमात्र छोरा गुमाउनुपर्दाको खबर आमा सूर्यकुमारीले अझै पत्याउन सक्नुभएको छैन ।

डा थापाकी धर्मपत्नी र दुई वर्षीया छोरी काठमाडौँमै रहेकाले बुबा पदम र आमा सूर्यकुमारी आफन्तीसँग काठमाडौँ पुग्नुभएको छ । विमान दुर्घटनामा निधन भएकाहरूको शव आज काठमाडौँ ल्याइने भएकाले उहाँहरू काठमाडौँ जानुभएको वडाध्यक्ष क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार डा थापाको शव अन्तिम संस्कारका लागि तिलोत्तमा ल्याउने तयारी छ ।

माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाइन एन–एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । रासस