१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका छन्त्यालको जहाज दुर्घटनामा निधन, कलाकारिता क्षेत्र शोकमा



अ+ अ-

काठमाडौँ । यती एयरको जहाज दुर्घटनामा परी लोकदोहोरी गायिका निरा छन्त्यालको निधन भएको छ । विशेषगरी प्रत्यक्ष दोहोरीमा चर्चित गायिका छन्त्यालको आइतबार बिहान पोखरामा भएको जहाज दुर्घटनामा निधन भएको हो ।

‘माइतलीको धुरी’, ‘साली कस्को भेनाको’, ‘बुकी’, ‘सारङ्गीनी’, ‘फल केसरी’, ‘सुर्तै मायाको’, ‘मुरली धुन’ लगायत दर्जनौँ गीतमा स्वर दिएकी गायिका छन्त्याल माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रममा भाग लिन काठमाडौँदेखि पोखरा जाँदै थिइन् ।

माघे सङ्क्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रमका लागि प्रस्थान गरेकी उनको दुर्घटनामा निधन भएको उनकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । उनी सवार जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनासँगै नेपाली लोकसङ्गीत क्षेत्रले प्रतिभावान् कलाकार गुमाएको छ ।

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा जन्मिएकी छन्त्याल पछिल्लो समय चर्चामा थिइन् । कलाकार टिका सानुले नेपाली लोक साङ्गीतिक क्षेत्रले अत्यन्त इमान्दार र मेहनती कलाकार गुमाउनुपरेको बताइन् ।

बडिगाड–८ का टिका पाइजाले छन्त्यालले सानैदेखि रुचि लिएर गायन क्षेत्रमा लागेको बताइन् । “पछिल्लो पटक गत मङ्सिरमा बडिगाडको न्वागी मेलामा आउनुभएको थियो, जिल्लामा हुने मेला, महोत्सवमा आइरहनुहुन्थ्यो”, पाइजाले भनिन्, “दुई÷तीन वर्षयता उहाँ लोकदोहारीमा बढी चिनिन थाल्नुभएको थियो, युट्युबमा पनि उहाँका गीत चलेका थिए ।”

छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत प्रत्यक्ष दोहोरीसमेत गाउने गर्थिन् । सङ्गीत क्षेत्रमा भविष्य खोज्दै छन्त्याल केही वर्षअघि काठमाडौँ छिरेकी थिइन् । गायनमा सफल हुँदै गएपछि उनको व्यस्तता पनि बढ्दै गएको थियो । शनिबार मात्र काठमाडौँमा आयोजित कार्यक्रममा उनले प्रस्तुति दिएकी थिइन् । गायक राजु परियारले गायिका छन्त्यालको निधनले नेपाली लोक दोहोरी गीत क्षेत्रले ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गरे ।

शनिबार नै टुँडिखेलामा सिसाखानीको ऐतिहासिक घाटु नाच प्रदर्शनका लागि पनि उनी सक्रिय भएर लागेकी थिइन् । पोखरामा आउनुअघि उनले सामाजिक सञ्जालमार्फत माघे सङ्क्रान्ति पर्वको शुभकामना दिएकी थिइन् । फेसबुकमा अरुले फर्काएका शुभकामनाका सन्देशसमेत हेर्न नपाउँदै छन्त्याल सेती खोँचमा अस्ताइन् । बुबाआमालगायत उनका परिवारजन बाग्लुङ गाउँमै बस्छन् ।