१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बाँठपाला विद्यालय: जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्

बाँठपाला विद्यालय: जहाँ शिक्षक र विद्यार्थी दलित मात्रै छन्
अ अ+ अ-

बझाङ । बझाङ सदरमुकाम चैनपुरबाट तल्कोट गाउँपालिकाको खौलाबजार करिब २२ किलोमिटर टाढा छ । खौलाबजारबाट भक्तपुर डेढ किलोमिटर पर छ । त्यसै गाउँमा अवस्थित छ बाँठपाला आधारभूत विद्यालय ।

बाँठपाला विद्यालय ३५ वर्षअघि स्थापना भएको हो । स्थापना कालमा कखरा सिक्ने १० जनामध्ये दुई जनाले मात्रै एसएलसी पास गरे । बाँकी तीन, चार, पाँच कक्षा हुँदै छात्रा बिहेवारीतिर लागे भने छात्र मजदुरीका लागि भारततर्फ गए । परिवारको आर्थिक स्थिति कमजोरकै कारण उनीहरूले विदेशिनुपरेको थियो । घरमै बसेर जसोतसो गर्दै पढेका दुई जना हुनुहुन्छ वीरबहादुर सार्की र उहाँकै सहपाठी मोती सार्की ।

बाँठपालाका पहिलो विद्यार्थी सार्कीद्वय अहिले सरकारी सेवामा आबद्ध छन् । वीरबहादुर तलकोट गाउँपालिकाका कृषि प्राविधिकको रूपमा कार्यरत हुनुहुन्छ भने मोती प्रावि तहमा स्थायी शिक्षक भएर ताप्लेजुङमा पढाइरहनुभएको छ । विद्यालयमा सुरूआती शिक्षकलाई तलबस्वरूप घरायसी अन्न दिइन्थ्यो । संस्थापक शिक्षक भिकुले सार्की हुनुहुन्थ्यो । पाँच कक्षासम्म अध्ययन गरेका भिकुलेकै कारण विद्यालय स्थापना भएको थियो ।

पहिलो वर्ष १० जनालाई अध्ययन गराउनुभएका भिकुलेले तीन वर्ष लगातार पढाउनुभयो । पछि गाउँमा केही विवाद आएपछि विद्यालय नै दुई वर्ष सञ्चालन भएन । त्यस बखत दुर्गा भवानी मावि खौला पढ्न पढाएका बालबालिका निकै हेपिन÷कुटिन थालेपछि भिकुलेकै नेतृत्वमा बाँठपाला फेरि सञ्चालनमा आयो ।

बीस वर्षसम्म तीन कक्षासम्मै चलेको विद्यालय २०६४ सालपछि दुई कक्षा थपिएर पाँच कक्षासम्म भयो । साठी वर्ष पुग्नै लागेका भिकुले दुर्गा भवानीमै अध्ययन गर्नुभएको हो । दलित समुदायको शून्य उपस्थिति हुने उक्त विद्यालयमा भिकुले गएसँगै गाउँबाट अन्य विद्यार्थी पढ्न गएका थिए । बाल्यकालमा पढ्न अब्बल उनी शिक्षकको प्रिय बन्दै जानुभयो । बाहिरबाट आएका शिक्षकबाट पढाइको महत्व बुझ्नुभएका उहाँले २०४४ सालमा गाउँमै विद्यालय स्थापना गर्नुभयो र एसएलसी पास गरेर उनी सोही विद्यालयको एकल शिक्षक बन्नुभयो । बाँठपाला विद्यालयमा २०६४ सालदेखि कक्षा पाँचसम्मको पढाइ हुन थालेको हो । स्थापना कालदेखि २६ वर्षसम्म दलित समुदायका कोही पनि विद्यालय भर्ना भएनन् । विसं २०७० यता मात्र दलित समुदायका बालबालिका विद्यालय जान थालेका हुन् ।

पाँच कक्षाको पठनपाठन हुन थालेपछि विद्यालयले कार्यालय सहयोगी राख्यो । अहिलेका प्रधानाध्यापक बोटी कामी पनि २०६२ सालदेखि सो विद्यालयमा शिक्षक हुनुभएको हो । उहाँ २०७० सालदेखि प्रधानाध्यापक हुनुहुन्छ । भिकुलेपछि भुवन सार्की, अम्बे सार्की र अहिले बोटी प्रधानाध्यापकको रूपमा काम गरिरहनुभएको छ । विकको सक्रियतापछि विद्यालयले मुहार फेरेको हो ।

विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन

दलित समुदायको थरलाई जोडेर अहिले पनि फलानो टोल भन्ने चलन मेटिएको छैन । हरेक ठाउँका गैरदलित समुदायले दलित समुदायलाई चिनाउनका लागि अपहेलित नाम राखेको पुस्तौँ बितिसकेको छ । त्यसैमध्येका दुई गाउँ हुन् भक्तपुर र ललितपुर ।

गैरदलित समुदायले सहनै नसक्ने गरी विभेद गर्न थालेपछि गाउँको नामै फेर्नुपरेको स्थानीय गोरख कामी बताउनुहुन्छ । उहाँका अनुसार भक्तपुरका स्थानीय अगुवाले भुलवाडा ९टोल०लाई ‘भक्तपुर’ र लुहारवाडाको नाम ‘ललितपुर’ राखे । नजिकै सार्की समुदायको टोल सार्कीवाडा पनि भक्तपुरमै गाभियो । “बाटोमा हिँड्दादेखि सबैले अनेक तरिकाले हेला गर्न थालेपछि सात÷आठ वर्षअगाडि नै बस्तीको नाम फेरेका हौँ”, उहाँले भन्नुभयो ।

सामाजिकरूपमा बाध्य भएर विभेद कम गरे पनि मानसिकरूपमा भने गैरदलित समुदायको अहंकार नटुटेको कामीले बताउनुभयो । “यहाँका कतिपय गैरदलितलाई अहिले पनि अपहेलित शब्द सामान्य नै लाग्छ”, उहाँ भन्नुहुन्छ, “दलित समुदायका कसैको नाम पनि बङ्ग्याएर बोलाउने धेरै छन् । त्यस्तो सुन्दा आफूलाई लाज लाग्छ तर, भन्नेलाई केही लाग्दैन ।”

यता विद्यालयले भने विभेद मुक्तिका लागि निकै फड्को मारेको छ । प्रअ कामीले भन्नुभयो, “हाम्रो विद्यालयमा आइसकेपछि विभेद भन्ने न शिक्षकलाई थाहा छ, न विद्यार्थीलाई । यहाँ पढ्ने सबै बालबालिका, कार्यालय सहयोगी, शिक्षक सबै सँगै बसेर खान्छौँ । तर, समुदायमा भने यो शिक्षा सबैको कानकानमा फुक्नुपर्ने अझै देखिन्छ ।”

दुर्गा भवानी माविमा २०४३ सालमा प्रधानाध्यापकको जिम्मेवारीमा आउनुभएको थियो, सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापा । उहाँ त्यस विद्यालयमा आउँदा दलित समुदायको उपस्थिति शून्यजस्तै थियो । “नजिकैको गाउँ धेरै ठूलो तर, विद्यार्थी छँदै थिएनन्”, थापाले भन्नुभयो, “त्यस गाउँमा धेरै पटक धायौँ । सामुदायिक विद्यालयमा सबैले पढ्नुपर्छ । घर नजिकको स्कुल, मौकाको फाइदा उठाउनुस् भन्ने अभियान नै चलायौँ । त्यसपछि विद्यार्थी आउन थाले ।”

थापा शिक्षा सबैका लागि हुनुपर्छ भन्ने सोच राख्नुहुन्थ्यो । “मैले सके जति बालबालिका घरमा नरोकिउन भन्दै विद्यालय पढाउन अभिभावकलाई आग्रह गरेँ, उहाँहरूले पनि स्वीकार्नु भयो र विद्यार्थीको सङ्ख्या बढ्दै गयो ।” उहाँका अनुसार आफ्नै सल्लाहमा भक्तपुरमा विद्यालय स्थापना भयो । “त्यस बेलामा पढाइलाई महत्व कसैले दिँदैनथे, हामीले हाम्रै विद्यार्थी भिकुलेलाई शिक्षक बनाउन र गाउँमा विद्यालय खोल्न सल्लाह दियौँ । शिक्षाको महत्व बुझाउँदै गयौँ । पछि विद्यालय फस्टाउँदै गएको हो ।” उहाँले भन्नुभयो ।

पालिकाकै नमूना विद्यालय

अहिले बाँठपाला पाँच कक्षासम्म सञ्चालन भइरहेको छ । सानो ठाउँमा स्थापना भएको विद्यालयमा खुला चौरको भने अभाव छ । पालिका, सङ्घसंस्था, स्थानीयको प्रत्यक्ष सहयोग भइरहेको हुँदा शैक्षिक गुणस्तर बढ्दै गएको छ । शिक्षक भरतबहादुर सार्कीले भन्नुभयो, “पालिकाभरि हाजिरीजवाफलगायतका कार्यक्रममा सहभागी भएर हरेक पटक राम्रो नतिजा ल्याउँदै आएको छ ।”

विद्यालयमा सबै निकायले मिहेनत गरे पनि शिक्षकको भने अभाव छ । “बाल कक्षादेखि पाँचसम्म छ पिरियड हुन्छन् । पाँच शिक्षकले सबै पिरियड मुस्किलले पढाउनुपरेको छ ।” उहाँले भन्नुभयो । विद्यालयको भौतिक संरचनाका लागि पनि प्रदेश र स्थानीय तहको सहयोगमा भवन निर्माण गरिएको हो । “विद्यालयको घेरबार प्रदेश सरकारबाट परेको थियो”, प्रधानाध्यापक बोटीले भन्नुभयो, “घेरबारको कार्यक्रम रु १५ लाख आउने भनेकामा रु पाँच लाख मात्रै आएको हुँदा विद्यालय घाटामा गएको हो ।” भौतिक संरचनाभन्दा पनि विद्यालयको शैक्षिक गुणस्तर कसरी अझै माथि उठाउन सक्छौँ भन्ने सल्लाह गरिरहेको उहाँले बताउनुभयो ।

“बाँठपालालाई दलित मात्रै पढ्ने भनेर बुझ्ने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “तलकोट गापाबाट, विश्व खाद्य, सङ्घसंस्थाबाट सहयोग भएपछि अहिले खौलाबाट पनि विद्यार्थी आइरहनुभएको छ । बाँठपालामा एक कार्यालय सहयोगीबाहेक सबै दलित समुदायकै शिक्षक शिक्षिकाले अध्यापन गराइरहनुभएको छ । रासस