२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण सुरु भएको साढे छ वर्षमा पनि सकिएन नख्खु–बुङमती सडक



अ+ अ-

काठमाडौँ । निर्माण सुरु भएको साढे छ वर्ष बित्दासमेत पाँच किमी लम्बाइको नख्खु–बुङमति सडक सम्पन्न हुन सकेको छैन ।

लामो समयसम्म सडक निर्माणस्थल (साइट) का कारण निर्माण रोकिएकामा पछिल्लो समय सडकमा रहेका संरचना हटाउन नसक्दा निर्माण सम्पन्न हुन नसकेको हो । पछिल्लो पटक चैतसम्मका लागि अवधि थप भएकाले त्यो अवधिमा सकाउनुपर्ने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

लामो समय सडक विस्तारका कारण अघि बढ्न नसकेको र पछिल्लो समयमा विभिन्न समस्या एकपछि अर्को आइरहेकाले निर्माणमा अवरोध पुगेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार सो सडकमा बिजुलीका खम्बा अझै हटाउन सकिएको छैन भने खानेपानीका पाइप पनि फुटेर पटक पटक समस्या आइरहेको छ । उहाँले भन्नुभयो, “कालोपत्र गर्न ग्रेड मिलाउन लाग्दा खानेपानीको पाइप फुटिरहेको छ ।”

पहिले डिजाइनमा भएको भन्दा सडकमा विभिन्न कुरामा परिवर्तन गर्नुपरेकाले सडक विभागसँग स्विकृतिका लागि पठाइएको प्रवक्ता जोशीले बताउनुभयो । सडक निर्माणका क्रममा चौडाइ बढ्दा र घट्दा वा अरू कुरामा परिवर्तन हुँदा विभागले स्वीकृति दिएपछि काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विभागबाट स्वीकृति दिएपछि मात्रै आयोजनाले भुक्तानी गर्न सक्नेछ ।”

बुङमतीसम्मको अन्तिम विन्दुतर्फ कालोपत्र भएको र बीचमा कतै मन्दिर कतै जग्गा उपलब्ध नहुँदा बनाउन नसकिएको उहाँले बताउनुभयो । नख्खु खोलाबाट अघि बढ्दा उकालोमा झन्डै आठ सय मिटरमा बढी समस्या रहेको छ । सो सडकको निर्माण दुई ठेक्कामार्फत अघि बढाइएको थियो । नख्खु खोलाबाट भैँसेपाटी तीन दशमलव ५२ किमी र भैँसेपाटी–बुङमती एक दशमलव ५५ किमी रहेको छ ।

उपत्यकामा विस्तारका क्रममा रहेका सडकमध्ये बढी चौडाइ कायम भएको सडकमा नख्खु–बुङमती सडक रहेको छ । अधिकांश स्थानमा चौडाइ २० मिटर कायम गर्न सकिएको र थोरै ठाउँमा मात्रै नसकिएको सूचना अधिकारी जोशीले बताउनुभयो । बीस मिटर चौडा गर्ने गरी सडक निर्माणको ठेक्का भएको थियो । सोअनुसार नै भएका ठाउँमा पैदलयात्रु मार्ग, पानी जाने ड्रेन बनाइएको र कम चौडाइ भएका ठाउँमा बनाउन नसकिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खासगरी भित्री बस्ती रहेका ठाउँमा चाहेर पनि चौडाइ बढाउन सकिएको थिएन ।”

सडक निर्माणको काम विसं २०७३ असारदेखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो । आशिष बिरुवा सिएम जेभीले एउटा र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले अर्को खण्ड निर्माण गर्ने गरी सम्झौता भएको थियो । रासस