५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीले आज नयाँ मुख्यमन्त्री पाउँदै



file
अ+ अ-

गण्डकी । गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता खगराज अधिकारी प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुहुने बताइएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ । एमालेका प्रदेशसभा सदस्य गोविन्दबहादुर नेपालीले तोकिएको समयसीमाभित्रै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेश गरिने बताउनुभयो ।

“बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न हामी तम्तयार अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “अहिले गठबन्धन दलका ३२ सदस्यको समर्थन छ, विश्वासको मत लिने बेलासम्म सङ्ख्या अझ बढ्न सक्छ ।” प्रदेशसभामा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा (माओवादी केन्द्र) को आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । जुन सरकार गठनका लागि बहुमत सङ्ख्या हो । प्रदेशसभाका कूल ६० सिटमध्ये नेपाली कांग्रेससँग २७ र नेकपा ९एकीकृत समाजवादी०सँग एक सिट छ ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्रीमा नियुक्त हुने संवैधानिक व्यवस्था छ । सत्तारुढ दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँटको टुङ्गो लागेसँगै गण्डकीमा एमालेबाट अधिकारी मुख्यमन्त्री बन्ने पक्कापक्की भएको हो ।

नेता अधिकारी कास्की १ (१) बाट निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा कास्की १ बट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बन्नुभएको थियो ।

दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उहाँले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्मनुभएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिनुभएको थियो ।

विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुग्नुभएको थियो । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताउनुभएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बन्नुभएको थियो । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो ।

उहाँ पार्टीको सचेतक, पोलिटब्यूरो सदस्य, गण्डकी प्रदेश संयोजक हुँदै अहिले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अधिकारी एमालेको सङ्गठन विभाग प्रमुखसमेत हुनुहुन्छ । एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको नेकपाकालमा उहाँले केन्द्रीय कमिटी सदस्य एवं गण्डकी प्रदेश सह–इञ्जार्चको जिम्मेवारी पाउनुभएको थियो । रासस