१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

आसामभित्रको नेपाल: हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुख्र्यौली संस्कृति

आसामभित्रको नेपाल: हटेन गोठाले दुःख, तैपनि जोगाएकै छन् पुख्र्यौली संस्कृति
अ अ+ अ-

झापा । साठी वर्षअघि बर्माबाट बुबासँगै आसाम झरेका ७९ वर्षीय भीम दाहाल राडीको खास्टो ओढेर पुसको न्यानो घाममा तामुलपानको मिठास लिँदै गरेको भेटिनुभयो । “बाहिरी चिसोलाई खास्टोले छेक्छ, तर भित्री जाडो हटाउन चाहिँ यो तामुल नचपाई हुँदैन,” भारतको आसाम प्रान्तको नेपाली भाषी बहुल उदालगुढीको नेपालपाडास्थित दाहाल निवासमा पुग्दा उहाँले सुनाउनुभयो, “बर्मादेखि आसामसम्म सयौँ गाईगोठ पालेर गाखिर (दूध) बेच्दै जीवन बिताइयो, अब बुढेसकालमा यही आँगन परदेश भो ।”

जीजुबाजेहरु नेपालको तेह्रथुमबाट मुग्लान भासिने क्रममा बर्मा र आसामतिर पुगेको सुनाउँदै उहाँले अहिले नेपालतिर आफन्तहरु भए तापनि आफ्नो चाहिँ देश भनेकै आसाम भएको बताउनुभयो । भूटान र अरुणाचलको नजिक दूरीमा रहेको आसामको उदालगुढी भीम दाहाल जस्तै लाखौँ नेपालीको सघन बसोबास भएको जिल्ला हो । त्यहाँको नेपालपाडा, रौता लगायतका क्षेत्रहरुमा ठूला ठूला नेपाली बस्ती छन् । नेपाली भाषीको हजारौँ घरहरु भएको नेपालपाडाको बाक्लो बस्ती पुग्दा जोकोहीलाई ‘आसामभित्रको नेपाल’ अनुभूति हुन्छ ।

नेपालपाडा पनि पूर्व, पश्चिम, दक्षिण र उत्तर गरेर विभिन्न बस्तीमा बाँडिएको छ । यहाँका ९५ प्रतिशत बासिन्दा नेपाली मूलका छन् । पुराना बासिन्दामध्येका दाहाल भन्नुहुन्छ, “सबै जातिका नेपाली मिलीजुली बसेका छौँ ।” त्यहाँका नेपालीले आफूलाई गोर्खा वा रैथाने आसामी जातिका रुपमा चिनाउँछन् । उनीहरु नेपाललाई पुख्र्यौली थलोका रुपमा माया गर्न रुचाउँछन् ।

नेपालीबाहेक त्यहाँ आदिवासी बोडो (मेचे), कछाडे (आसामी), बङ्गाली (मुस्लिम(, आदिवासी सन्थाललगायतका जातिको बसोबास छ । नेपाली बस्तीको बीचबीचमा अरू जातिको थोरै घरबास भएको हुँदा उनीहरु पनि नेपाली भाषा र रहनसहनमा घुलमिल भइसकेका छन् ।

पश्चिम नेपालपाडामा ५७ वर्षअघि जन्मिएको बताउने गणेश न्यौपानेले १२ वर्षसम्म अरुणाचल प्रान्तको एउटा जिल्ला अदालतमा जागिरे जीवन बिताउनुभयो । जागिरबाट अवकाश भएपछि उहाँ पूर्व नेपालपाडामा आरामको जीवन बिताइरहनुभएको छ । थलामा लहिनो गाई र बाछी स्याहार्दै गरेको अवस्थामा भेटिनुभएका न्यौपानेले सुनाउनुभयो, “जिन्दगी अच्छासँग चलिरहेको छ । छुट्टीमा छोराहरु आएको बेला नेपाल गएर पशुपतिनाथको दर्शन गर्ने इच्छा छ ।” उहाँका छोराहरु बैङ्गलोरमा जागिर गर्छन् ।

पाँच बिघा जग्गा भएका उहाँले बारीभरि तामुल ९सुपारी० लगाउनु भएको छ र त्यसबाट मनग्ये आम्दानी भएको उहाँ बताउनुहुन्छ । गोठमा गाई, गोरु र बाच्छाबाच्छी धेरै पालिएका थिए । जागिरबाट अवकाश हुँदा पाएको एकमुष्ट पैसा र छोराहरुले बैङ्गलोरबाट महिनैँपिच्छे पठाउने पैसाले घर व्यवहार सुखैसँग चलिरहेको उहाँको भनाइ छ ।

खेतीकिसानी गर्दै आउनुभएको पूर्व नेपालपाडाका हिरा क्षेत्रीले खाली ठाउँ मासिँदै गएका कारण गाईवस्तु पाल्न कठिनाइ हुँदै गएको गुनासो सुनाउनुभयो । नेपालपाडाका हरेक नेपालीका गोठमा बँधुवा गाईवस्तु देखिन्छ । “खोला किनार र जङ्गल छेउछाउ पहिला पहिला खाली जग्गा धेरै हुन्थ्यो, तर अहिले सबैतिर मानिसको बसोबासले भरिभराउ भइसक्यो,” क्षेत्रीले भन्नुभयो, “अब आफ्नै ग्वाली र आँगनमा गाईवस्तु बाँधेर प्वाली ९धानको पराल० र घाँस दिनुको विकल्प छैन ।”

आसाममा बस्ने अधिकांश नेपालीको घर सानो र भुइँतलाको हुन्छ । नेपालमा जस्तै उनीहरु संयुक्त परिवारमा बाजेबज्यैदेखि नातिनातिनासम्म मिलेर बस्छन् । इतिहासको कुनै कालखण्डमा नेपालदेखि डुल्दै फिर्दै आसाम पुगेका नेपालीहरु अहिले पनि पुर्खाले जस्तै गाईवस्तु पाल्छन् र खेती किसानी गर्छन् । परम्परागत पेसा नछाडेका उनीहरुमध्ये थोरै नेपालीले मात्र व्यापार र जागिरे जीवन रोजेका छन् ।

नेपालीहरु यसरी भए रैथाने

इतिहासकारहरुका अनुसार ब्रह्मापुत्र र धनसिरी नदीको उर्वर र फराकिलो किनारमा १८औँ शताब्दीको सुरुआततिर नै गाईपालन गर्न नेपालीहरु आसाम पुगेका थिए । त्यसबेलाको खोरिया (जङ्गल) फँडानी गरेर नेपालीहरुले आसामलाई गुल्जार र उर्वर खेतीयोग्य बनाएको मानिन्छ । अङ्ग्रेजको शासनबाट स्वतन्त्र हुनुभन्दा धेरै अघिदेखि नै बसोबास गरेका कारण आसामे नेपालीहरु आफूलाई प्रवासी नभएर रैथाने भूमिपुत्र ठान्दछन् ।

सन् १८२४ देखि १८२६ सम्म बर्मासँग भएको भीषण युद्धमा परिचालन गर्न अङ्ग्रेजहरु ९इस्ट इन्डिया कम्पनी० ले गोर्खा सैनिकको ठूलो सङ्ख्यालाई आसाम पु¥याएका थिए । उतिबेला बर्मेली मूलका शासक रहेको अलग राज्य आसाम अङ्ग्रेजसँगको युद्धमा बर्मा पराजित भएपछि अङ्ग्रेज अधिनस्थ भयो । युद्धपश्चात् गोर्खा सैनिकको रुपमा रहेका नेपालीहरु आसाममै बसोबास गरेको इतिहासमा उल्लेख छ ।

सन् १८५३ मा आसाममा चियाखेती प्रारम्भ हुँदा र सन् १८८९ तिर डिगबोईमा तेलखानी फेला परेपछि कामदारको रुपमा हजाराँै नेपालीलाई अङ्ग्रेजहरुले लगेका थिए । ती नेपाली पनि आसाममै पसिना बगाउँदै रैथाने भएको मानिन्छ । कोइलाखानी र अरू काम गर्न बर्मा ९म्यान्मा०, भोटाङ ९भूटान०, अरुणाचल, मेघालयलगायत स्थानमा पुगेका नेपाली समेत ब्रह्मपुत्र र धनसिरी नदीको मनमोहक किनारमा बस्ती बसाउँदै रमाउन पुगे ।

आसामे धरतीलाई उर्वर बनाउने नेपालीहरु अङ्ग्रेज शासनमा फौजी, चियाखेती, खानी, कृषि र पशुपालनमा मात्र सीमित रहेनन् । अङ्ग्रेजविरुद्ध सञ्चालन भएको आजाद आन्दोलन ९स्वतन्त्रता सङ्ग्राम०मा नेपालीहरु प्रत्यक्ष रुपमा सामेल भए । छविलाल उपाध्याय आसामका पहिलो भारतीय स्वतन्त्रता सेनानी मानिनुहुन्छ ।

अधिकांश युवा काम खोज्दै सहरतिर

आसामको राजनीतिक, सामाजिक र आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याएका आसामेली नेपालीहरु शताब्दियौँदेखि कृषि र पशुपालन पेसाकै वरिपरि रुमल्लिरहेका छन् । केहीले सहरमा सुरक्षा गार्ड र विभिन्न किसिमका जागिर गरे तापनि कृषिमै अल्झिरहनुमा नेपाली समुदायमा शिक्षा र चेतनाको कमी नै मुख्य कारण हो । “पढेर जागिर पाउन गाह्रो छ, त्यही भएर अहिलेका युवाहरु हाई स्कुलको पढाइ सिध्याएपछि सहरतिर चाकरी खोज्नतिर जान थालेका छन्,” उदालगुढीको धनसिरीघाटमा छोटाहात्ती (सानो गाडी)को चालक इन्द्र बस्नेत भन्नुहुन्छ, “नेपालको जस्तो अरब र युरोपतिर काम गर्न जाने चलन आसामतिर छैन । उही गाईवस्तु पाल्नुप¥यो, कि त खेतीपाती छँदैछ ।”

बस्नेतले खेतीपाती छाडेर गाडी किनेको र त्यसकै चालक आफँै बनेर जीविका चलाइरहेको जानकारी दिनुभयो । उहाँ नेपालीहरुलाई कुनै समस्या पर्दा सहयोग गर्ने सामाजिक काममा पनि समय दिनुहुँदोरहेछ । आसामका नेपाली युवाका लागि दक्षिण भारतको बैङ्गलोर पहिलो रोजगारीको गन्तव्य भएको र त्यसपछि गुवाहाटी र अरू सहर जाने गरेको बस्नेतले बताउनुभयो । सहरमा गएर उनीहरु सुरक्षा गार्ड, होटलको कुक, वेटर, पसल र गोठको कामदार काममा लाग्ने गरेका छन् ।

नेपालपाडाका चन्द्र दाहाल आसामको राजधानी गुवाहाटीस्थित स्प्रिङ भ्याली नामक स्टार होटलको सुरक्षा गार्डमा कार्यरत हुनुहुन्छ । उहाँका अनुसार गुवाहाटीका धेरै गाईगोठ, डेरी र होटलमा नेपालीमूलका कामदारको बाहुल्य छ । “धेरै पढ्न लेख्न नजान्नेहरु डेरी, होटल र पसलमा काम गर्नुहुन्छ, अलिक जान्ने र पढेकाहरुले अझ राम्रो काम पनि पाउनुभएको छ”, दाहालले भन्नुभयो ।

परम्परागत निर्वाहमुखी खेतीले परिवार पाल्न धौ धौ पर्ने भएकाले अधिकांश युवा वैकल्पिक रोजगारीको खोजीमा गाउँबाट पलायन हुन थालेको आसामकै दराङ जिल्लाको मङ्गलदोयका ५५ वर्षीय प्रेमबहादुर गेलाल बताउनुहुन्छ । मङ्गलदोय बजारमा गाखिर (दूध)को व्यवसाय सञ्चालन गर्दै आउनुभएका उहाँले गाउँका सबै साथीहरु बैङ्गलोर, दिल्ली, मुम्बुई र गुवाहाटीमा रोजगारी खोज्न गए तापनि आफूले गाउँमै बसेर दुग्धजन्य व्यापार चलाउँदै जीविका धान्दै आएको बताउनुभयो ।

पशुपालन र कृषि पेसा नाफामूलक नहुनु र जीविका चलाउन गाह्रो पर्दै जानुले गाउँबाट युवा पलायन हुन बाध्य भएको मङ्गलदोय लावण्यचोककी लीला बुढाथोकीको धारणा छ । “धेरै पढाइ गर्न सक्यो भने जागिर पाइन्छ, तर हाम्रा नेपालीहरु हाई स्कुल पढेपछि काम खोज्न सहरतिर जाने बानी लागेकाले पढाइ छाड्छन्,” शिक्षाको महत्व नबुझ्दा नेपालीले दुःख पाएको बताउँदै बुढाथोकी भन्नुहुन्छ । गाउँमा आसामी र अङ्ग्रेजीमा पठनपाठन हुने विद्यालयहरु छन् । नेपालीमूलका विद्यार्थीहरु नेपाली भाषा घरमा मात्र बोल्छन् । विद्यालयमा आसामी भाषा नै प्रयोग गर्छन् ।

आसाममा नेपालीहरु धान, मकै, तोरी, आलु, गहँुलगायतका अन्न तथा तरकारी खेती गर्छन् । उनीहरुको आम्दानीको अर्को महत्वपूर्ण स्रोत सुपारी खेती हो । सुपारीको टुक्रा र पानको पातले पाहुनालाई स्वागत गर्ने चलन आसामको सबै जातिमा रहेको छ ।

जोगाएकै छन् मौलिक संस्कार र संस्कृति

आर्थिक क्षेत्रमा कमजोर रहे तापनि आसामका नेपाली आफ्नो सांस्कृतिक पहिचान संरक्षणका विषयमा भने सचेत छन् । आँगनमा तुलसीको मोठ नभएको नेपालीको घर नै हुँदैन । बिहान बेलुका घरहरुमा पूजापाठको घण्टी बजेको सुनिन्छ भने साप्ताहिक रुपमा घरैपिच्छे सामूहिक भजनकीर्तन गाउने चलन छ ।

“दसैँ तिहार आउँदा आँगनभरि सयपत्री फुलाउँछाँै, टीका लगाउँछौँ, देउसीभैली खेल्छौँ,” मङ्गलदोय हाई स्कुलमा कक्षा ९ मा अध्ययन गरिरहेकी प्रिया क्षेत्री भन्नुहुन्छ । विवाह, व्रतबन्ध, माघे सङ्क्रान्ति, चैतेदसैँजस्ता चाडपर्वमा सबै नेपाली छरछिमेकी र आफन्त भेला हुँदा रमाइलो लाग्ने क्षेत्रीको अनुभव छ । चाडपर्व र पूजाहरुमा नेपाली मौलिक पोसाक लगाएर नेपाली गीतमा नाचगान हुने गरेको समेत उहाँले जानकारी दिनुभयो । गाउँका पाकाहरु ढाका टोपी लगाउन रुचाउँछन् भने विवाहित महिलाहरु सिउँदोमा सिन्दूर र गलामा पोते लगाउन बिर्संदैनन् ।

गरिबी, असुरक्षा र विरानोपनमा न्यास्रिएर शताब्दीयौँदेखि आसामको माटोमा पसिना सिञ्चित गरिरहेका नेपाली मूलका बहुसङ्ख्यक बासिन्दाको आर्थिक पाटो सुखद छैन । उनीहरुको शैक्षिक, राजनीतिक र सामाजिक हैसियत पनि सन्तोषजनक छैन । आसामका १२ लाखभन्दा बढी नेपाली भाषीहरु नुनिलो आँसुको ढिक्का पिएरै भए तापनि पुख्र्यौली नेपाली भाषा, संस्कृति, संस्कार र परम्परालाई भने जोगाउन सफल छन् । रासस