• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo

उदयपुरको पहाडी क्षेत्रमा कोदो उत्पादन घट्दै



उदयपुर । परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ ।जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ–४ बलाम्ता लाकुका कृषक गोविन्द राई भन्नुहुन्छ, “विगतमा गाउँको खाली जग्गा बारीमा सबैले अनिवार्य कोदोखेती गर्दथे, हिजोआज अधिकांश पाखाबारी जग्गा बाँझै रहन्छ, अनि कोदो खेतीतिर पनि कृषकले मन दिन छाडेपछि फाटफुट्ट मात्र कोदो खेती हुने गरेका कारण उत्पादन घट्दै गएको हो ।”

रौतामाई –४ आँपटारका कृषक लोकबहादुर राईका अनुसार कोदो नै खान र कोदोमा नै निर्भर हुने चलन हराएको र सबैले चामल नै किनेर खान थालेपछि गाउँघरमा कोदो खेतीमा कमी आएसँगै उत्पादनमा पनि कमी आएको हो ।

रौतामाई गाउँपालिका बोलुङखाका कृषक प्रेमप्रसाद काफ्लेले गाउँघरमा कोदोको ढिँडो खाने चलन पनि घट्दै गएको र कोदो खेती हुने बारीमा कोदो धेरै कृषकले खेती नै गर्न छाडेका कारण उत्पादन पनि घट्दै गएको बताउनुभयो ।

त्रियुगा –१५ खाँबुका कृषक जोगबहादुर पुलामी मगरले १० वर्षअघिसम्म पनि आफूहरुको गाउँको अधिकांश घरजग्गा पाखाबारीमा धेरै कोदोखेती हुनेगरेको भए पनि अहिले गाउँका अधिकांश युवा विदेश भएका कारण पाखाबारी जोतेर कोदोखेती नै हुन छाडेको बताउनुभयो ।

गाउँमा बस्ने बूढाबूढीले जबरर्जस्ती बारी खनेर केही जग्गामा मात्र कोदोखेती गर्ने गरिएका कारण कोदो उत्पादन पहिलेको जस्तो नभएको उहाँको भनाइ छ । ताप्ली गाउँपालिका पीपल भञ्ज्याङ तथा ओख्लेका कृषक दिलबहादुर राईका अनुसार आजभन्दा २०÷२५ वर्ष अगाडिसम्म गाउँका अधिकांश पाखाबारीमा कोदोखेती मात्र हुने गरेको भए पनि कोदो उत्पादनले जीवन यापन हुन समस्या हुन थालेपछि १५ वर्षयता आएर अधिकांश गाउँलेले कोदो फल्ने बारीमा व्यावसायिक सुन्तलाखेती सुरु गरेपछि गाउँमा प्रायः केही कृषकले थोरै जग्गामा कोदोखेती गर्ने गरेको जनाइएको छ ।

गढी गाउँपालिका डुम्रेका कृषक टोपबहादुर घलेमगर भन्नुहुन्छ, “पहिला–पहिला पर्याप्त चामल प्राप्त नहुँदा बाध्य भएर गाउँघरमा भात खानका लागि पनि धेरै कोदो उत्पादन गर्न पर्दथ्यो, हिजो आज गाउँघरमा सबैले चामल नै अन्नका रुपमा प्रयोग गर्छन्, कोदो सामान्य उत्पादन गरे पनि जाँड पकाउने र खाने, केही कोदो सहर, बजारको होटलमा जाँड तोङ्बा, बनाएर बिक्रीका लागि मात्र कोदो प्रयोग हुने गरेको छ ।”

अहिले गाउँमा विगतको जस्तो कोदो भातका रुपमा नै खानुपर्ने बाध्यता नभएका कारण कृषकले घरबारी पाखा जग्गामा कममात्रमा कोदो खति गर्ने गरेका कारण उत्पादनमा कमी आएको उहाँ बताउनुहुन्छ ।

जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार आजभन्दा १० वर्ष अगाडिसम्म जिल्लाको झण्डै सात हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएको थियो ।

विसं २०७८/७९ मा जिल्लामा दुई हजार ७६८ हेक्टर क्षेत्रफलमा मात्र कोदोखेती भएको थियो भने पाँच हजार चार सय ५२ मेट्रिकटन कोदो उत्पादन भएको जिल्ला कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी महेश चौधरीले जानकारी दिनुभयो ।

यस वर्ष पनि सरदर दुई हजार ६५० हेक्टरमा कोदो खेती भएको र झण्डै चार हजार सात सय ७० मेट्रिकटन मात्र कोदो उत्पादन भएको जनाइएको छ । जिल्लामा कोदोखेती घट्ने र उत्पादन कम हुँदै जानुमा अधिकांश पहाडी क्षेत्रका युवा विदेश पलायन हुनु र कोदोखेती गर्ने जनशक्तिको अभाव हुनु, पहाडी क्षेत्रका पाखाबारीमा हिजोआज कृषकले कोदोखेतीभन्दा अन्य फलफूल, सुन्तलालगायतका वैकल्पिक नगदेबालीको खेती गर्ने कारण पनि कोदो खेती र उत्पादनमा कमी आएको जनाइएको छ ।

विसं २०५० सम्म जिल्लामा सरदर १० हजार हेक्टर क्षेत्रफलमा कोदोखेती हुँदै आएको थियो भने हाल दुई हजार ७६८ हेक्टरमा मात्र खेती गरिएकोे प्राविधिक मोहन फुयाँल बताउनुभयो ।