१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती

६५ लाख खर्चेर बाख्रापालन गर्दै पन्थ दम्पती
अ अ+ अ-

रेसुङ्गा । गुल्मीमा एक दम्पतीले रु ६५ लाख लगानीमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहनुभएको छ । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गर्नुभएको छ ।

पन्थ दम्पतीले ४० माउ बाख्रा पाल्नुभएको छ । उहाँहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती गर्नुभएको छ । विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेको नारायणप्रसादले बताउनुभयो ।

विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपक्षी फर्म दर्ता गरेर व्यवसाय सुरु गर्नुभएको हो । घाँस र सुन्तला खेतीबाट वार्षिक रु छ लाख आम्दानी हुँदै आएको नारायणप्रसाद बताउनुहुन्छ ।

पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गर्नुभएको छ । “घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय वितेको पत्तै नलाग्दो रहेछ”, उहाँले भन्नुभयो । यसअघि कतारमा मासिक रु एक लाख २० हजारसम्म कमाउने गरेको नारायणप्रसादको भनाइ छ । त्यो सबै त्यागेर उहाँले गाउँघरमै व्यवसाय सुरु गर्नुभएको हो ।

श्रीमान्ले विदेशमा भन्दा गाउँमै जीविकोपार्जनको नयाँ बाटो रोजेकामा पार्वती सन्तुष्ट हुनुहुन्छ । श्रीमान्को १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्न सहज भएको उहाँको भनाइ छ । आधुनिक खोर, घाँस काट्नका लागि च्याँपकटर, दानाका लागि कुटानीपिसानी मिल, मूत्र व्यवस्थापन र सानाठूला बाख्राका लागि छुट्टाछुट्टै खोर बनाएर पन्थ दम्पती व्यवसायमा होमिनुभएको छ । उहाँहरुसँग जमुना पारी र खरी जातका स्थानीय बाख्रा छन् ।

फार्मलाई छत्रकोट गाउँपालिकाले रु दुई लाख, कृषि ज्ञान केन्द्रले रु एक लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले रु एक लाख अनुदान सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा समर्पित किसानको साथमा रहेको बताउनुभयो । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नका लागि योजना बनाइरहेको बताउनुभयो ।