काठमाडौं । सहरी क्षेत्रमा हुने मानव ओसारपसार र बेचविखनजस्ता क्रियाकलाप निषेधप्रति महानगरपालिका संवेदनशील रहेको काठमाडौँ महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको छ ।
शान्ति फाउन्डेसनसँगको सहकार्यमा महानगरले सञ्चालन गरेको हाम्रो सम्मान परियोजनाका आगामी कार्यक्रमका बारेमा धारणा राख्दै उहाँले भन्नुभयो, ‘अब बैठकमा भन्दा फिल्डमा काम गर्नुपर्ने बेला भएको छ । अहिले सहरमा मानव ओसारपसार र बेचविखनको शैली फेरिएको छ । हामीले परिवर्तित शैलीमाथि निगरानी गर्नुपर्छ । यसका लागि हाम्रा विगत अनुभव, ज्ञान र सीपलाई उपयोग गर्दै सहकार्य गरौँ ।’
सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ । काठमाडौँ महानगरपालिकाले २०७८ साउन १९ गते बसेको कार्यपालिकाको बैठकले लैङ्गिक हिँसा निवारण कोष सञ्चालन कार्यविधि र मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि २०७८ स्वीकृत गरेको छ ।
यस्तै २०७९ भदौ १२ गतेको कार्यपालिकाको निर्णयबाट वडा महिला सञ्जाल सञ्चालन कार्यविधि २०७९ स्वीकृत गरेको छ । यी ३ वटै कार्यविधि जारी जारी भएर कार्यान्वयनमा आइसकेका छन् । संघ र स्थानीय तहसम्मको संयन्त्र हेर्दा, सचिवस्तरीय नेतृत्वमा संघमा, प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामा समिति छ । नगरस्तरीय समस्या समाधानका लागि नगर प्रमुखको नेतृत्वमा नगरमा समितिको व्यवस्था गरिएको छ । यसबाट बेचविखन नियमन तथा नियन्त्रणका काम हुने गरेका छन् ।
महानगरले २६ वटा वडामा ओसारपसार तथा बेचविखन विरुद्ध काम गर्ने समिति गठन गरिसकेको छ । छलफलमा प्रशासन विभागका प्रमुख दिपक अधिकारीले भन्नुभयो, ‘वडामा सक्रिय संघसंस्थाको सहभागितामा समिति गठन गरिएको हो ।’ टोलका समस्या समाधान गर्न सहभागिता र सचेतना चाहिएको छ । छलफल यस विषयमा केन्द्रीत थियो ।
मानिसको जीवन यापन पद्धति परिवर्तन भएको छ । सोच फेरिएको छ । सँगै बेचविखनको स्वरुप पनि फरक शैलीमा हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गराउने गरिएको छ । यो प्रतिनिधि अवस्था हो । यस्ता धेरै शैली छन् ।
बैठकमा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले, सबै मिलेर टोल टोलमा कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो देखाउनुभयो । खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा मानव ओसारपसार र बेचविखनका दृष्टिले सहरका जोखिमपूर्ण क्षेत्र हुन् । यी ठाउँमा पुग्नुपर्छ, मैनालीको भनाइ थियो ।
पहिले यौन सम्पर्कका लागि ओसारपसार र बेचविखन हुने गरेकोमा अहिले श्रमका नाममा आन्तरिक रुपमा ओसार पसार र श्रम शोषण हुने गरेको छ । यौन शोषणजस्तै श्रम शोषणलाई पनि अहिले यसैं ऐनअन्तर्गत नियमन गर्न सक्ने प्रावधान राखिएका छन् ।
बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ ।
सहरी भएका यी समस्या समाधान गर्नका महानगरले जारी गरेका कार्यविधि तथा निर्देशिका र वार्षिक नीतिका रुपमा समेटिएका कार्यक्रमभित्र रहेर सहकार्यको प्रयास भएको छ । सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेले भन्नुभयो, ‘आवश्यकताका आधारमा कार्यक्रम कार्यान्वयन हुनेछन् । यसरी कार्यक्रम सञ्चालन गर्दा लक्षित वर्गले लाभ पायौँ भनेपछि त्यसैलाई नतिजा मानिनेछ ।’