• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव ★   बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन ★   के कोहलीले फाइनलका लागि रन बचाएर राखेका हुन् ? ★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दै राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै

संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल



बलेवा । गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघुँरिदै जान थालेको छ ।

तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ ।

समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जी जोड दिनुहुन्छ । “चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले माटो भरिएको छ”, उहाँ भन्नुहुन्छ, “ताल नजोगाए पानीका मुहान सुकेर जान्छन् ।” जैविक महत्व बोकेको यो तालमा विभिन्न प्रजातिका जलचरको बसोबास छ ।

तालभन्दा केही तल रहेको पानीको मुहानबाट ओख्रेनी खोला बग्ने गरेको छ । उक्त खोलाको पानी नै हटिया बजार र आसपासका गाउँलेले प्रयोग गर्दै आएका छन् । “केही वर्षअघि ताल सफा गर्दा तलको मुहान सुक्यो पनि पछि पानी भरिएपछि फेरि खोला बगेको थियो”, दर्जी भन्नुहुन्छ, “यो ताल मास्न हुँदैन, जोगाएर राखे सबैलाई बचाउँछ ।”

समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो यही ताल भएको त्यहाँका अध्यक्ष फमबहादुर खत्री बताउनुहुन्छ । “आजसम्म संरक्षणमा कसैले पनि चासो दिएको पाइएन, अब हामी संरक्षण र प्रचार–प्रसार गर्छौँ। तालको प्राकृतिक अवस्था नबिग्रिने गरी क्षेत्रफल विस्तार र संरक्षणका लागि संरचना तयार गर्ने योजना छ”, उहाँ भन्नुहुन्छ ।

“हिजोआज कृत्रिम ताल हेर्न पर्यटक खचाखच हुन्छन्, हामीसँग प्रकृतिको उपहार छ”, वडाध्यक्ष खत्री जोड दिनुहुन्छ, “घुम्न र हेर्न मिल्ने बनाउँछौँ, प्रकृतिले दिएको पानी मासिन दिँदैनौँ । हटिया बजारबाट एक घण्टा पैदल र आधा घण्टा सवारीयात्रामा ताल पुग्न सकिन्छ । यो प्राकृतिक ताल हो ।”

“यहाँको पानी न कहिल्यै घटेको देखिन्छ न भरिएर बाहिर जान्छ”, स्थानीय सन्तबहादुर खत्री भन्नुहुन्छ, “तालभित्रैबाट पानी आउँछ, त्यहीँ हराउँछ, बाहिर पानीको स्रोत छैन । यहाँ देशमा जनयुद्ध हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो । द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न सकिएको छैन ।”

तालको उत्तरपट्टि भट्ट बबाको मन्दिर छ । आसपासका गाउँका युवायुवतीका लागि वनभोजस्थल मात्र बन्ने गरेको यस ताललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके पर्यटक भित्र्याउन सकिने वडाध्यक्ष खत्री बताउनुहुन्छ ।