१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

बागलुङको सिगानामा फल्यो तीन करोडको सुन्तला

बागलुङको सिगानामा फल्यो तीन करोडको सुन्तला
फाईल फोटो
अ अ+ अ-

गलकोट । बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ ।

सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ ।

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गर्नुभएका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष रु पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउनुभयो । उहाँले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गर्नुुभयो ।

“सिगानामा म जस्तै झण्डै ६०भन्दा बढी किसान रहेको अनुमान छ, तथ्याङ्क सङ्कलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम रु २५ हजारदेखि अधिकतम रु पाँच लाखसम्म सुन्तलाको व्यापार गर्र्दछन्”, किसान खड्काले भन्नुभयो, “यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो, हाम्रो अनुमानमा सिगानामा यस वर्ष रु तीन करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।” उहाँका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको जानकारी दिनुभयो । उहाँले औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताउनुभयो ।

गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्याङ्क छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्कीले सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको बताउनुभयो । उहाँले बिक्री लक्ष्यअनुसार रु तीन करोडको सुन्तला उत्पादन भएको बताउनुभयो । पोखराका व्यापारीले बोटमै ठेक्कामा खरिद गरेर सुन्तला लैजाने गरेका छन् भने साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पु¥याउने गरेका छन् ।

नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक रु ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन् । यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको यहाँका किसानले जनाएका छन् ।

सिगानामा पाँच वर्षअघिदेखि सुन्तलाखेती वृद्धिका लागि अन्य रुख फँडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । यहाँ अहिले सुन्तला प्रतिकिलो होलसेलमा रु ५० देखि रु ६० का दरले बिक्री भइरहेको छ । बोटबाटै सुन्तला खरिद गर्ने व्यापारीले सुन्तलाको दाना हेरेर एकमुष्ट बगैँचाको मूल्यमै सम्झौता गरेर सुन्तला टिप्न थालेका छन् ।

स्थानीय निकायमार्फत विगत पाँच वर्षयता २८ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । वितरण गरिएको बिरुवाले अबको दुई÷तीन वर्षपछि उत्पादन दिन थाल्नेछन् । सिगाना सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन÷चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्काले जानकारी दिनुभयो ।

सिगानाको बेँसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुने गरेको छ ।

यहाँकोे सुन्तला पोखराको बजारमा अत्यधिक माग हुने गरेको पोखराबाट बागलुङका सिगानामा सुन्तला खरिद गर्न आउनुभएका व्यापारी सोमबहादुर तामाङले जानकारी दिनुभयो । “सिगानाको सुन्तला बगैँचामै टिपेपछि ग्रेडिङ हुन्छ, एक क्यारेटको बढीमा रु आठ सयदेखि घटीमा रु तीन सयसम्म पर्दछ, सुन्तलाको दानाअनुसार पोखराको बजारमा मूल्य निर्धारण हुने भएकाले सुन्तलालाई ग्रेडिङ गरेर मात्रै बजारमा लैजाने गर्दछौँ”, उहाँले भन्नुभयो, “अहिले सुन्तलाको उत्पादन धेरै भएकाले बजार भाउ केही सस्तो छ, हामीले मङ्सिरदेखि माघसम्म गाउँगाउँ पुगी सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छौँ ।”

सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तलाखेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी जमिनमा सुन्तलाखेती हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ । रासस