• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo

भाषण कम, काम बढी गर्ने संकल्प लिएको छु : प्रधानमन्त्री दाहाल



चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको प्रधानमन्त्रीत्वकालमा आफूले भाषण कम र जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको बताउनु भएको छ ।

चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले यो पटक हरेक दिन देशको पक्षमा, जनताको पक्षमा, सुशासन र विकासको पक्षमा काम गर्दै जाने तथा नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको छु ।”

उहाँले अगाडि भन्नुभयो, “मैले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन । यो कार्यकालमा, म भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने मैले प्रतिज्ञा गरेको छु ।”

आफूले प्रधानमन्त्रीको सपथ लिएपछि केही जनपक्षीय निर्णय गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले प्रधानमन्त्री पदको शपथ लिएदेखि पहिलो क्याबिनेट बैठकबाट देशको अगाडि अर्थतन्त्रमा सुधार गर्नुपर्ने ऐतिहासिक आवश्यकता देखिएको र त्यस संकटबाट पार लगाउनुपर्ने आवश्यकता, सुशासन कायम गर्नुपर्ने ऐतिहासिक आवश्यकता, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता, जनताले विभिन्न क्षेत्रमा पाइरहेका सास्तीहरुलाई नियन्त्रण र सास्तीहरुबाट मुक्त गर्नुपर्ने आवश्यकतालाई इंगित गरेर मैले निर्णय गरेको छु ।”

उहाँले जनतालाई पिरमर्कामा पार्ने कुनै पनि निर्णयमाथि मैले कठोर कदम चलाएर जनता र राष्ट्रको पक्षमा नै जाने मैले संकल्प लिएको छु भन्नुभयो ।

आफू प्रधानमन्त्री पदमा नियुक्त भएपछि राजधानी बाहिर पहिलो पटक शिक्षासँग सम्बन्धित सार्वजनिक समारोहमा सहभागी हुन पाएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस मञ्चबाट सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न हामी एकजुट हौं भनेर अपिल पनि गर्नुभयो ।