शेरबहादुर देउवा नेपाली काँग्रेसका सभापति हुन्, तर उनी सिद्धान्त, नीति, निष्ठा र संस्कारको कसीमा काँग्रेस हुन् कि काँग्रेसलाई भित्रैदेखि कीरा पारेर सडाउने छद्मभेषी वा कसैका एजेण्ट हुन् ?
हिजोसम्म यो प्रश्न अतिशयोक्ति र पूर्वाग्रह प्रेरित जस्तो लाग्थ्यो होला, तर आज स्वाभाविक रुपमा यो प्रश्न पार्टीभित्रै उठेको छ, उठ्नुपर्छ । पाँचपटक मुलुकको प्रधानमन्त्री भएको व्यक्तिले मुलुक र यसका सञ्चालक पार्टीहरूलाई नचिनेर भूलचूकवस यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन ।
दुईपटक नेपाली काँग्रेसको वैधानिक सभापति र एकपटक पार्टी फुटाएर बनेको सभापति भएको व्यक्तिको कहिल्यै मति सुध्रिएन,चेत फिरेन, आनीबानी नै यस्तो हो भनेर अब कुनै सच्चा लोकतन्त्रवादी स्वाभिमानी र निष्ठावान काँग्रेसजनले सहज रुपमा लिने अवस्था र उनलाई पार्टी सभापति मानिरहनु पर्ने कुरै रहेन ।
पाँचदलीय गठबन्धनको जोड उनैको थियो । यो गठबन्धनको विरोध गर्नेहरूलाई उनैका चट्टाबट्टाले ‘गठबन्धन नमान्नेले पार्टी छोडेर गए हुन्छ…’ भन्ने सम्मका काँग्रेसको संस्कारसँग नमिल्ने र अशोभनीय ओठे जवाफ दिएको सुन्नुपरेको थियो ।
गठबन्धनको नाममा उनैको मर्जीले गर्दा प्रतिनिधिसभाको लागि ७४ सिटमा माया मारेर ९१ सिटको उम्मेद्वारीमा खुम्चिनु परेको थियो भने प्रदेशसभाको हकमा पनि देशभर यस्तै नीति लिईयो । चितवन, पर्सा, धनुषा, कास्की जस्ता काँग्रेसका ऐतिहासिक र गौरवभूमि गठबन्धनका नाममा काँग्रेसले त्याग्नुपरेको खेदजनक स्थितिमा पु-याइएको छ ।
एकातिर ३५ लाख नयाँ मतदाता थपिएका छन्, अर्कातिर काँग्रेसले अघिल्लो निर्वाचनको तुलनामा सातलाख मत गुमाएको अवस्था छ । २०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादी मिलेर निर्वाचन लड्दा पनि काँग्रेसको एमालेकै हाराहारीमा लोकप्रिय मत थियो । तर त्यस यता काँग्रेसको छवि र जनाधारमा नै घात हुने काममा सभापति देउवाको प्रत्यक्ष हात रहेको छ ।
पार्टीका क्रान्तिकारी, जनप्रेमी र निष्ठावान कार्यकर्ताहरूलाई यो वा त्यो बहानामा अन्यायपूर्वक निरास र हतोत्साही बनाएर पन्छाउने र भ्रष्टाचारी, तश्कर, कालोधन वा आर्थिक अपराधका धनपतिहरूलाई प्रश्रय, संरक्षण र पुरस्कृत गर्ने परिपाटी उनीबाटै बसाईएको छ ।
पाँचदलीय गठबन्धन तहसनहस हुनुमा सभापति देउवाकै दुर्बुद्धि, खोक्रो अहंकार र काँग्रेसघाती हर्कतको परिणाम हो । सत्तामा आफ्नो औचित्य स्वयंले समाप्त गरेका देउवालाई काँग्रेसको सभापति हुने र उनलाई सभापति मानिराख्नु पर्ने औचित्य समाप्त भएको छ । अतः शेरबहादुर देउवाले या त सभापति पदबाट राजिनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ ।
नत्र भने पार्टीको विशेष महाधिवेशन राखेर उनलाई पदमुक्त गर्नु जरुरी भएको छ । सभापतिको गरिमामय पद कसैको मनपरि गर्ने र पार्टीकै हुर्मत लिने थलो कदापि होइन ।
कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीको फेसबुकबाट